+
+
Shares

सुनसरीमा सर्पदंशको औषधि उत्पादनको तयारी

सञ्चालक भन्छन् – सरकारले प्रोत्साहन गरिदेओस्

हरि अधिकारी हरि अधिकारी
२०७७ असोज ९ गते १६:४४

९ असोज, विराटनगर । सर्पदंशको औषधि उत्पादन गर्ने भनी सुनसरीको बराह क्षेत्र नगरपालिकामा विशालु सर्प पाल्ने योजना अघि बढेको छ । वार्षिक १५ लाख भाइल एण्टी स्नेक भेनम उत्पादनको तयारी स्वरुप २५ जनाको समूहले एन्टी स्नेक भेनम सिरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालिमार्फत संरचना निर्माण गरिरहेको छ ।

उद्योगको संरचनाको शिलान्यास २०७४ चैत ३० गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । एन्टी स्केन भेनम सिरम उत्पादनका लागि सर्प संरक्षण केन्द्र, घोडा संरक्षण र सेरम उत्पादनका लागि छुट्टा छुट्टै संरचना निर्माण भइरहेको छ ।

हाल सर्पले टोकेकाहरुको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम नेपालमा उत्पादन हुँदैन विदेशबाट ३० हजार सेरम आयात हुँदै आएको छ । ६ महिनाभित्र परीक्षण उत्पादनको तयारीमा रहेको एन्टी स्नेक भेनम सिरम रिसर्च एण्ड म्यानुफेक्चारिङ प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद फुयालले बताए ।

पूर्ण उत्पादन सुरु भएपछि भने एण्टी स्नेक भेनममा परनिर्भरता हटाएर विदेश निर्यात गर्न सकिने उनले बताए । परीक्षण उत्पादनका लागि आधा दर्जन घोडा र केही सर्प संरक्षण गरिएको छ ।

‘झलनाथ खनाल प्रतिष्ठानलाई सर्प पाल्न ७२ करोड अनुदान दिने कुरा थाहा पाएँ’ अध्यक्ष फुयालले भने ‘हामी ६ महिनाभित्र भेनम उत्पादनको परीक्षण थाल्ने तयारी छौं । तर सरकारबाट आर्थिक र भौतिक सहयोग पाएका छैनौं ।’

सुनसरीमा एण्टी स्नेक भेनम उत्पादनको तयारीका बारेमा तीनै तहको सरकारलाई जानकारी छ । तर तीनै तहको सरकारले आश्वासनमात्रै दिएको छ ।

‘औषधि व्यवस्था विभाग, उद्योग मन्त्रालयमा नियमित प्रगति विवरण बुझाइरहेका छौं’ फुयाँल भन्छन् ‘हाम्रो योजना एण्टी स्केन भेनममा देशलाई आत्मनिर्भर बनाएर विदेश निकासी गर्ने हो, सरकारले सहयोग गरिदियोस् भन्ने अपेक्षा छ ।’

उनले सरकारले बजारको ग्यारेण्टी गरी उत्पादनमा सहयोग गरिदिए सहज हुने बताए । ‘हामीले गरेको काम देशकै लागि हो । सरकारले प्रोत्साहन गरिदिए काम गर्न सहज हुनेथियो’ उनले भने ‘बजारको ग्यारेन्टी गरी उद्योग सञ्चालनमा सबै किसिमले प्रोत्साहन गरिदियोस् भन्ने आशा छ ।’

बराहक्षेत्र नगरपालिका– ७ मा ८८ करोड ६३ लाख लगानीमा साढे ४ विघा क्षेत्रमा संरचना निर्माण भइरहेको छ । लकडाउनका कारण काम प्रभावित भएको उल्लेख गर्दै उनले भने ‘वार्षिक १५ लाख एन्टी स्केन भेनम सिरम उत्पादन गर्ने योजना छ ।’

एण्टी स्नेक भेनमको विश्व बजारमा माग उच्च छ । सर्पको टोकाईले मर्ने मानिसको संख्या बढ्दो छ । ‘अहिले एक भाइल एन्टी स्नेक भेनमको दुई हजार हाराहारी पर्छ’ फुयाल भन्छन् ‘हाम्रो उद्देश्य भोलि सर्पले टोकेर कोही नेपाली नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने हो ।’

सर्पदंशको उपचार सीमित स्थानमा मात्र हुन्छ । नेपालमै एण्टी स्नेक भेनम उत्पादन हुन थालेपछि उपचार केन्द्र पनि बढ्ने सञ्चालकको अपेक्षा छ । ‘हाम्रो उत्पादन सबै नेपालमै खपत हुँदैन, विदेश पठाउने योजना छ’ फुयालले भने, ‘अहिले बजारमा एण्टी स्नेक भेनम पाउनै गाह्रो पर्छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?