Comments Add Comment
कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन :

एकपटक अनुहार हेर्न पाए नि हुन्थ्यो !

९ असोज, काठमाडौं । बुधबार अपरान्ह झमझम पानी परिरहेको थियो, तर पशुपतिको विद्युतीय शव दाहगृहको जम्मा भएका केहीलाई झरीको कुनै परवाह थिएन ।

केहीले रेनकोट लगाएका थिए, कोही छाताको ओतमा थिए । केही निथ्रुक्क भिजेर पनि उभिरहेका थिए ।

बन्द गेटको बाहिर उभिरहेका उनीहरु बेलाबेला आँखा तन्काउँदै भित्र चिहाएर हेर्थे । तर सैनिक अधिकारीहरु उनीहरुलाई भित्र प्रवेश गर्न रोकिरहेका थिए ।

त्यहीबेला शव बाहन आइपुग्यो । पीपीई सेट लगाएर शव व्यवस्थापनमा खटिएको नेपाली सेनाको टोलीले सेतो प्लास्टिकमा प्याक गरिएको शव गाडीबाट निकाल्यो ।

‘फुल त चढाउन पाइन्छ होला नि !’, भीड बीचबाट एक जना महिला बोलिन् ।

सुरुमा गेटको छेवैमा बसेका सैनिकले सुनेनन् । दोस्रो पटक भनेपछि ल्याए आफैं चढाइदिने बताए । त्यसपछि टोलीका केही सदस्य नजिकै गएर फुलमाला किनेर आए, सेनाले प्लास्टिकमा प्याक गरिएको शवमाथि चढाइदियो ।

व्यवस्थापन गर्न लागिएको शव कोरोनाबाट मृत्यु भएका ललितपुरका ८१ वर्षका वृद्धको रहेछ भने गेटबाहिर रहेका परिवारका सदस्य तथा आफन्त रहेछन् ।

भित्र नेपाली सेनाको टोली शव व्यवस्थापनमा जुटिरहँदा परिवारका सदस्यबीच कानेखुसी चलिरहेको थियो, ‘एकपटक टाढैबाट भए पनि अनुहार हेर्न पाए पनि हुन्थ्यो ।’

यसबाट कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको परिवारलाई पर्ने पीडा कति असह्यै हुन्छ भन्ने सहजै महसुस हुन्थ्यो ।

त्यसमाथि हालै कोरोना संक्रमणबाट मृत्यु भएका रामलखन जैसवालको शव व्यवस्थापनमा वीर अस्पतालले गरेको त्रुटी र त्यसबारे भएको झुटो प्रचारले उनीहरुको मथिंगल थप हल्लाएको रहेछ । शव व्यवस्थापनको तस्वीर खिचिरहेको देखेपछि पशुपति शवदाह गृह बाहिर उभिएका आफन्तले जैसवालको केस कोट्याए र, हामीलाई भने, ‘तपाईंहरुलाई त अनुहार हेर्न दिन्छ कि !’

जैसवालको शव हेर्न पुगेकी छोरीले घाँटी र आँखामा रगत बगेको देखेपछि मृत्यु शंकास्पद भएको बताएका थिए भने केहीले अंग झिकिएको हल्ला फैलिए ।

जबकी केन्द्रीय कारागारको प्रशासन र वीर अस्पतालले पत्रकार सम्मेलन गरेर कारागारबाट लैजाने बेलाको सीसीटीभी फुटेज सार्वजनिक गर्नुका साथै शव संरक्षण गरेर राख्ने सुविधा नहुँदा केही दिनमा सडेको बताएको छ ।

तर ललितपुरका ८१ वर्षीय बृद्धको आफन्तमा पनि वीर अस्पताल प्रकरणको छाप हटेको रहेनछ । त्यही कारण उनीहरुले एक पटक हेर्न पाए हुने भनेका थिए ।

तर सैनिक अधिकृतहरुले प्रोटोकल अनुसार परिवारलाई शव हेर्न दिन नमिल्ने बताए ।

८१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट सानेपास्थित मेघा अस्पतालमा मृत्यु भएको थियो । उनी श्वासप्रश्वासमा समस्या देखिएपछि ५ भदौमा अस्पताल भर्ना गरिएका थिए र, उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

उनको शव व्यवस्थापन नेपाली सेनाको राजदल गणका क्याप्टेन सुदिप खत्री नेतृत्वको सैनिक टोलीले गरेको थियो । शवलाई अस्पतालबाट लैजानु पूर्व त्यसमा संलग्न हुने सुरक्षाकर्मीहरुले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), फेस शिल्ड, शु कभर लगायतका सुरक्षा सावधानीका सामग्री लगाएका थिए ।

 शव व्यवस्थापनका लागि परिवारको मञ्जुरीनामा पनि अस्पतालमै लिइएको थियो । अस्पतालले विरामीको मृत्यु घोषणाको प्रमाण–पत्र दिएपछि शव दाहसंस्कार गृहमा लैजाने गरिएको खत्री बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment