Comments Add Comment

कब्जियत : यी कुरामा ध्यान दिनुहोस् !

आधुनिक जीवनशैली र अव्यवस्थित आहार–विहारले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । कब्जियत नै अन्य पाइल्स, फिस्टुला, फिसरजन्य रोगको कारक समेत बन्न जान्छ । रोग वृद्धि हुने, अन्य रोगमा परिणत हुने वा रोग जटिल हुने यी तीनै अवस्थाका लागि हामीले खाने आहारको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले कब्जियतका रोगीले पथ्य–अपथ्य आहारमा ध्यान दिन सके स्वास्थ्यका लागि फाईदाजनक हुन्छ ।

पाइल्स

पाइल्सलाई अर्श पनि भनिन्छ । दिसा गर्दा रगत आउने, गाह्रो हुने र मासुको डल्लो बाहिर आउने जस्ता लक्षण भएमा पाइल्स भएको बुझ्नु पर्छ । यसको प्रमुख कारण कब्जियत नै हो । यसका चार चरणहरु छन् ।

१.पहिलो चरण

यस चरणमा दिसा गर्दा मासुको डल्लो बाहिर आउँदैन तर रगत भने बग्छ ।

२.दोस्रो चरण

यस चरणमा दिसा गर्दा मासुको डल्लो बाहिर आउँछ तर दिसा गरिसकेपछि आफैं भित्र जान्छ । यस चरणमा दुखाई समेत हुन्छ र रगत समेत बग्छ ।

३.तेस्रो चरण

यस चरणमा दिसा गर्दा मासुको डल्लो बाहिर आउँछ र आफैं भित्र नजाने हुनाले हातका औंलाले धकेलेर पठाउनुपर्छ । यस चरणमा चिलाउने, दुख्ने, सुन्निने र रगत बग्ने समेत हुन्छ ।

४.चौंथो चरण

यस चरणमा मासुको डल्लो हातको औंलाले धकेल्दा पनि जादैन।र बाहिरै रहेर संक्रमणको डर पैदा गर्छ । यसमा पनि रगत बग्ने,दुख्ने आदि सबै हुन्छन् ।

पहिलो र दोस्रो चरण औषधिको सेवनबाट निको हुने भए पनि तेस्रो र चौंथो चरणका लागि क्षार सूत्र विधिबाट उपचार गर्नु पर्छ ।

डा.अच्युत शाली घिमिरे

के हो क्षार सूत्र विधी ?

क्षार भनेको अल्काली हो र सूत्र भनेको धागो हो । अपामार्ग क्षार र हरिद्रा चूर्णको प्रयोगद्वारा निर्मित सूत्र नै क्षार सूत्र हो । नरम मासु काट्नका लागि यो सजिलो, सुरक्षित र भरपर्दो उपचार हो ।

फिस्टुला

यसलाई भगन्दर पनि भनिन्छ । दिसा गर्ने ठाउँको भित्रपट्टि रहेका ग्रन्थिहरुमा संक्रमण भएका कारणले र त्यहाँ जम्मा भएको पिप बग्ने बाटो एउटा दिसा गर्ने ठाउँ भित्र खुल्दछ र अर्को चाहिँ बाहिर खुल्दछ । बाहिर देखिदा दिसा गर्ने ठाउँ वरपर स–साना प्वाल देखिने अवस्था नै फिस्टुला इन एनो हो । यस रोगमा समेत दुख्ने, पीपहरु बग्ने हुने गर्दछ । प्रोक्टोस्कोपबाट मात्र हेरेर थाहा नपाउँदा फिस्टुलोग्राम गरेर फिस्टुलाको ट्रयाक्ट पत्ता लगाउनु पर्दछ । कब्जियत नै प्रमुख कारण रहेको यस रोगमा क्षार सूत्र विधि कै उपचार उपयुक्त हुन्छ ।

फिसर

दिसा गर्ने ठाउँ वरपर चिरिने समस्या नै फिसर इन एनो हो । यसलाई परिकर्तिका पनि भनिन्छ र यस समस्यामा दिसा गर्दा अत्याधिक पीडा हुने गर्दछ । रगत,पीप,पानी बग्ने चिलाउने जस्ता लक्षणहरु पनि देखिन्छन् । यस रोगको कारण पनि कब्जियत नै हो । दिसा गर्ने ठाउँ मनतातो पानीमा डुबाएर राख्ने,औषधि र मलहमको प्रयोग गर्नाले घाउ निको हुन सक्छ । घाउको वरिपरि मासु अर्थात सेनाइटल ट्याग’ पलाएमा क्षार सूत्र विधिबाट हटाउन सकिन्छ ।

पाइल्स, फिस्टुला र फिसरको कारक कब्जियत हटाउन

के खाने ?

खानामा रेसादार खाद्य वस्तुहरु धेरै मात्रामा खानु पर्दछ । रेसादार युक्त तरकारी र फलफूलले कब्जियत हटाउन मद्दत पुर्याउँदछ । खानामा  सलाद खाने बानी बसाल्नु पर्दछ । सलादमा काँक्रो, मुला,गाजर, सलगम, बन्दगोभी, प्याज, गोलभेंडा आदि समावेश गर्नु पर्दछ । पानीलाई प्रशस्त मात्रामा पिउनु पर्दछ ।

बिहान उठ्नसाथ सेवन गरिने पानी त झन् कब्जियतका लागि अमृत समान मानिन्छ । अङ्कुरित भएका चना, दाल, गहुँ, भटमास,मेथीको सेवन कब्जियतका लागि लाभदायक मानिन्छ ।

 के नखाने ?

जाँड,रक्सी,चुरोट,खैनी,माछा,मासु,अण्डा,तेलमा तारेका भुटेका खाद्यवस्तुहरु धेरै खानु हुदैन । कोल्ड ड्रिङ्कस, चिया, कफी, आलु चिप्स, लेज, कुर्कुरे, अचार, अमिलो दही, मैदा, चिनी, खुर्सानी, घ्यू, सेतो भात धेरै मात्रामा खानु कब्जियतका बिरामीलाई फाईदा जनक हुदैन । हलुवावेदमा धेरै मात्रामा ट्यानिन एसिद हुन्छ, यसले खानेकुरालाई पेटमा सर्न बाट रोक्छ र पचाउँन लामो समय लाग्छ । त्यसैले हलुवावेद कब्जियतका रोगीलाई फाईदाजनक छैन ।

काँचो केरामा धेरै मात्रामा स्टार्च पाइन्छ, जसलाई पचाउन शरीरलाई कठिन हुन्छ र यसले आन्द्राको पानीलाई समेत सोस्ने हुनाले दिशा सुख्खा बनाएर कब्जियतलाई बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment