Comments Add Comment

गौतमबुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सलाई दिन छलफल

१२ असोज, काठमाडौं । सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सुविधा तत्कालका लागि नेपाल एयरलाइन्सलाई दिने तयारी गरेको छ  सो प्रयोजनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरिएको नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।

‘एक/दुई चरण छलफल भइसकेको छ, विमानस्थल तत्काल प्राधिकरणबाटै सञ्चालन हुने अवस्थामा ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सलाई नै दिन प्रस्ताव गरेका छौं,’ उनले भने ।

सरकारले गौतमबुद्ध विमानस्थल व्यवस्थापनको जिम्मा निजी पार्टीलाई दिने बताएको थियो । तर, कोरोना भाइरसको महामारीपछि तत्काल निजी पार्टी आउने सम्भावना छैन । सोहीकारण अहिले प्राधिकरणबाटै विमानस्थलको व्यवस्थापन हुनेछ । त्यो अवस्थामा ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल एयरलाइन्सले पाउनुपर्ने गरी प्रस्ताव नेपाल एयरलाइन्सको छ ।

कम्पनीसँग त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवाको लामो अनुभव, दक्ष कर्मचारी र उपकरण समेत रहेका कारण नयाँ विमानस्थलमा सेवा बिस्तार गर्न समस्या नहुने कार्यकारी अध्यक्ष घिमिरेले बताए । ‘हामीसँग अनुभव छ, त्यसलाई नयाँ विमानस्थलमा बिस्तार गर्ने हो, उनले भने ।

विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनुभन्दा केही अगाडी नै टुंगो लगाउन प्रस्ताव गरिएको उनले बताए ।

‘उपकरण खरीद गर्नुपर्‍यो, केही कर्मचारी भर्ना पनि गर्नुपर्ला, त्यसका लागि अग्रिम रुपमै ग्राउन्ड ह्यान्डलिङ प्राप्तिको प्रक्रिया टुंग्याउन आग्रह गरेका छौं,’ उनले भने । विमानस्थलमा यात्रुलाई जहाजमा चढाउने, ओलार्ने, जहाज सफा गर्ने, ब्यागेज व्यवस्थापन, र्‍याम्प बसको व्यवस्थासमेत ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदायकको जिम्मेवारी भित्रपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment