Comments Add Comment

न्युयोर्क टाइम्सको दाबी- ट्रम्पले पछिल्लो १५ वर्षमा १० वर्ष कर तिरेनन्

१२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो १५ वर्षमा १० वर्ष आयकर नतिरेको दाबी न्युयोर्क टाइम्सले गरेको छ । आइतबार प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार सन् २०१६ र २०१७ मा उनले केवल ७५० डलर आयकर बुझाएका थिए ।

न्युयोर्क टाइम्सले ट्रम्पको करको विवरण पाएको र त्यसको आधारमा उनले पछिल्लो १५ वर्षमा १० वर्ष आयकर नबुझाएको खुलेको दाबी गरेको छ । साथै ट्रम्पले कर बुझाएको वर्षमा पनि करबाट बच्न व्यवसायमा उल्लेख्य नोक्सानी देखाउने गरेको न्युयोर्क टाइम्सले बताएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि आफ्नो करको विवरण सार्वजनिक गर्न अस्वीकार गर्दै आएका थिए । यस विषयमा उनले अदालतमा मुद्दा पनि झेलेका थिए ।

आइतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा ट्रम्पले उक्त समाचार झुटो भएको दाबी गरेका छन् । उनले यो समाचारमा कुनै सत्यता नरहेको र यो बनावटी समाचार रहेको उल्लेख गरेका छन् । ट्रम्पले भनेका छन्, ‘वास्तवमा मैले कर तिरेको छु । तपाईंहरुले जतिसक्दो छिटो मेरो कर फिर्ताको विवरण हेर्न सक्नुहुन्छ । यी विवरणहरु अहिले लेखापरीक्षणको क्रममा छन् ।’

ट्रम्प अर्गनाइजेसनका वकिल एलान गार्टेनले न्युयोर्क टाइम्सले प्रकाशित गरेकोमध्ये अधिकांश वा सबै विवरणहरु गलत रहेको बताएका छन् । ट्रम्पले पछिल्लो दशकमा लाखौं डलर आयकर तिरेको दाबी उनले गरेका छन् ।

आगामी नोभेम्बरमा अमेरिकामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको मुखमा न्युयोर्क टाइम्सले यस्तो समाचार प्रकाशित गरेको हो । न्युयोर्क टाइम्सले ट्रम्प र उनको कम्पनीको पछिल्लो २० वर्षको कर फिर्ताको विवरण आफूसँग रहेको उल्लेख गरेको छ ।

अमेरिकामा मध्यमवर्गीय मानिसले पनि औसतमा वार्षिक १४ हजार डलर कर बुझाउँछन् । त्यसैले ट्रम्पको आयकरको विषयमा सार्वजनिक भएको समाचारले अमेरिकामा ठूलो तरङ्ग पैदा भएको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment