Comments Add Comment

पद्मश्री साधना सम्मान र पुरस्कार रद्द

१३ असोज, काठमाडौं । विवाद सिर्जना भएपछि यस वर्ष पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने भएको छ ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो ।

तर, उप्रेतीले प्रश्रितसँग उभिएर आफूले पुरस्कार नलिने घोषणा गरेका थिए । यौन हिंसाको आरोप लागेका प्रश्रितसँग उभिएर एउटै मञ्चबाट पुरस्कार लिन आफूले नसक्ने उप्रेतीको भनाइपछि विवाद सिर्जना भएको थियो । त्यसपछि प्रश्रितले पनि विज्ञप्ति जारी गर्दै पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका थिए ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. तीन–तीन लाख रुपैयाँ छ ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पद्मश्री पुरस्कार यस वर्ष कसैलाई पनि नदिइने निर्णय लिइएको जानकारी दिए । पुरस्कार घोषणा गर्दा कसैको भावनामा ठेस पुर्याउने उद्देश्य नभएको बताउँदै लामिछानेले स्रष्टाहरुको आत्मसम्मानमा ठेस लागेकोप्रति क्षमायाचना गरेका छन् ।

वि.सं. २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment