Comments Add Comment
अन्तर्वार्ता :

‘कतारमा रहेका नेपालीले घर फर्किन हतार गर्नुपर्दैन’

'कतारको श्रम कानुनले रोजगारी परिवर्तन गर्ने अनुमति दिएको छ : राजदूत

१३ असोज काठमाडौं । अहिले मुलुकभित्र रहेका र विदेशमा कार्यरत नेपालीहरु कोरोना भाइरस (कोभिड-१९) महामारीको चिन्तामा छन् । उनीहरुलाई महामारीका कारण आफ्नो स्वास्थ्य बिग्रने, सामाजिक र आर्थिक समस्या आउन सक्ने डर छ । कतारमा कार्यरत नेपालीहरु पनि यस्तै त्रासमा छन् ।

कतारमा कार्यरत कैयौं नेपालीहरुले महामारीका कारण रोजगारी गुमाउनुपरेको छ । तथापि काठमाडौंस्थित कतारी दूतावासका अधिकारी भने कतारमा रहेका नेपाली श्रमिकले आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् ।

नेपालका लागि कतारी राजदूत युसुफ बिन अल हैल भन्छन्, ‘यदि कुनै कम्पनी महामारीका कारण समस्यामा परेको छ भने यसका कामदारहरु तत्कालै फर्किनु जरुरी छैन । उनीहरुले रोजगारीको अर्को अवसर खोज्न सक्छन् ।’

प्रस्तुत छ, राजदूत हैलसँग कतार-नेपाल सम्बन्धको विषयमा केन्दि्रत रहेर अनलाइनखबरले गरेको कुराकानी-

सुरुमा हामी तपाईंहरुको दूतावासको स्थानका बारेमा जान्न चाहन्छौँ । तपाईंहरुले यसलाई काठमाडौंको महाराजगञ्जबाट ललितपुरको सहरभन्दा केही पर सुनसान स्थान बुङमतीमा सार्नुभएको छ । यसको कारण के हो ?

हो, यो (कतार दूतावास) सहरभन्दा केही टाढा छ । यद्यपि बुङमती काठमाडौं उपत्यकाभित्रै छ र यो गाउँ हरिया खेतहरूले घेरिएको सुन्दर स्थानमा छ । यहाँबाट हिमालको आकर्षक दृश्य पनि देखिन्छ । त्यसैले हामीले राम्रो मौसम, स्वच्छ हावा र हरियाली वन भएको यो स्थानमा दूतावास सार्ने निर्णय गरेका हौँ, जुन काम गर्नका लागि पनि सबैभन्दा राम्रो स्थान हो । अर्को कुरा, यो टाढा रहेको ठाउँ पनि होइन किनकि, हामी सही समयमा सहरको कुनै पनि स्थानमा पुग्न सक्छौँ ।

कतार-नेपाल सहकार्यका प्रमुख क्षेत्रहरुका विषयमा छोटो व्याख्या गरिदिनुहुन्छ कि ? कुनकुन क्षेत्रमा दुई मलुुकहरु आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा जोडिन सक्छन् ?

अहिले सहकार्यको मुख्य क्षेत्र श्रम बजारको हो । कतार नेपालसँगको यो सहकार्यलाई सराहना गर्छ । साथै यो क्षेत्रको दायरा बढाउँदै दक्ष जनशक्तिका लागि पनि नयाँ अवसरको खोजी गर्ने विषयमा काम गर्न चाहन्छ ।

त्यस्तै हामी कृषि, जलविद्युत्, लगानी, खेलकुदजस्ता क्षेत्रमा पनि सहकार्य गरेर अघि बढ्न तयार छौँ । सम्झौता र अनुभव साटासाटको माध्यमबाट यो सहकार्य पनि पूरा हुन सक्छ । यसअघि नै हामीसँग नेपाली उत्पादन कतारको बजारमा निर्यात गरिसकेको अनुभव छ ।

अहिले कतारमा कोभिड-१९ को अवस्था कस्तो छ ? विश्वव्यापी महामारीका कारण धेरै नेपालीले तपाईंको मुलुकमा रोजगारी गुमाएको भन्ने सुनिएको छ । कतारको अवस्था कहिले सामान्य होला भन्ने लाग्छ, जसका कारण नेपाली कामदारका लागि सहज अवस्था बनोस् ?

कतारले दैनिक नयाँ संक्रमितको संख्या उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्रत्येक साता अस्पतालमा भर्ना हुनेको संख्यामा पनि कमी आइरहेको छ । कतार कोरोनाको मृत्युदर विश्वकै सबैभन्दा कममा राख्न सफल मुलुकमध्येको एक हो ।

कोभिड-१९को महामारीका कारण उत्पन्न भएको गम्भीर आर्थिक समस्याको प्रत्यक्ष असर आप्रवासी कामदारहरुमा देखिएको छ । तर, म कतारको श्रम कानुनतर्फ इंगित गर्न चाहन्छु, जसले कामदारलाई रोजगारी परिवर्तन गर्ने अनुमति दिएको छ । यदि कुनै कम्पनी महामारीका कारण समस्यामा परेको छ भने यसका कामदारहरु तत्कालै फर्किनु जरुरी छैन । उनीहरुले रोजगारीको अर्को अवसर खोज्न सक्छन् ।

कतार दशकौंदेखि नेपालको मित्रराष्ट्रका रुपमा रहेको छ । भौगोलिक हिसाबमा धेरै नै सानो भएता पनि कतार सम्पन्न र समृद्ध मुलुकका रुपमा विश्वभर चिनिन्छ । कतार कसरी समृद्ध भयो ? त्यहाँबाट नेपालले लिन सक्ने शिक्षा के हो ?

कतारले उल्लेख्य प्रगति र विकास हासिल गरेको छ । उसले अहिले पनि उचित योजना, उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग र विश्वसनीय साझेदारसँगको सहकार्य र समयअनुसारको सहकार्यको माध्यमबाट आफ्नो अवस्थामा थप सुधार गरिरहेको छ ।
कतारले यी सबै उपलब्धि हासिल गर्नुमा कतारका राजाको दूरदर्शी एवं नेतृत्वदायी भूमिका र कतारी जनताको एकता तथा आफ्नो ज्ञान र सीप मुलुकको लक्ष्यका लागि खर्च गर्ने समर्पणका कारण हासिल गरेको हो ।

तपाईं विगत चार वर्षदेखि नेपालमा कार्यरत हुनुहुन्छ । नेपालले तपाईहरुको जस्तै समृद्धिको यात्रा कसरी पछ्याउन सक्छ ? आखिर, कतारले जस्तो नेपालले पेट्रोलियम पदार्थ विश्वलाई बेचेर धनी बन्न त सक्दैन… ।

मेरो व्यक्तिगत मूल्यांकनलाई भन्ने हो भने पक्कै पनि नेपाल विकासको गतिमा अघि बढिरहेको छ । चार वर्षको अवधिमा नै मैले यो कुरा देखेको छु । नेपालले विकास र समृद्धिका लागि आवश्यक पर्ने सबै कारक र स्रोत साधनहरू उपहारका रुपमा पाएको छ । राजनीतिक स्थायित्व, संविधान कार्यान्वयन र मानिसहरुको संगठित इच्छाले आगामी दिनमा नेपाल विकासको बाटोमा थप अघि बढ्नेमा म आशावादी छु । यसमा दक्ष जनशक्तिको थप सहयोग पनि रहनेछ, जो (नेपालीहरू) समर्पण र उत्कृष्टताका लागि चिनिन्छन् ।

कतारले सन् २०२२ मा आयोजना गर्न गइरहेको विश्वकप फुटबलका बारेमा नेपालका खेलप्रेमीहरूमा चासो छ । तपाईंहरू यति ठूलो कार्यक्रमका लागि कसरी तयारी गरिरहनुभएको छ ?

फुटबल कतारको पनि लोकप्रिय खेल हो । तपाईंलाई थाहा छ कि कतार सन् २०१९ को एसिया कप अफ नेसन्सको च्याम्पियन पनि हो । त्यसैले पहिलोपटक मध्यपूर्व र पश्चिमी एसियामा विश्वकपको आयोजना गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो । यो आयोजना पूरा गर्ने जिम्मा सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसीलाई दिइएको छ । यसको तयारी योजनाअनुसार नै चलिरहेको छ । सन् २०२२ सम्म फिफा विश्वकपका लागि आवश्यक सबै रंगशाला र पूर्वाधारहरू अन्तिम चरणमा पुग्नेछन् ।

नेपाल आउनुभन्दा अगाडि तपाईंले अन्य कतिपय मुलुकको संस्कृतिको अनुभव बटुलिसक्नुभएको छ । नेपालमा पनि तपाईं घुलमिल भइसक्नुभएको छ, जस्तो कि तपाईंले नेपाली बुझ्न थाल्नुभएको छ । तपाईं नेपाल, यहाँको समाज र संस्कृतिका बारेमा चाहिँ के भन्नुहुन्छ ?

सामान्य रूपमा भन्ने हो भने कतारी र अरबी संस्कृति धेरै किसिमबाट नेपाली संस्कृतिसँग मिल्छ । हामी सबै एसिया महादेशमा पर्छौँ । हामीहरू पश्चिमी एसियामा पर्छौँ भने नेपाल दक्षिण एसियामा पर्छ ।

उदाहरणका लागि : सम्मानको संस्कार, केही खानाहरू पनि समान छन् र पारिवारिक सञ्जाल पनि उस्तैउस्तै छन् । मैले नेपाली समाजका अन्य धेरै कुराहरू कतारको जनजीवनसँग निकै मेल खाने गरेको पाएको छु । यहाँ मलाई आफ्नै घरमा बसेको जस्तै अनुभूति हुन्छ ।

नेपालको के कुराबाट तपाईं प्रभावित हुनुहुन्छ ? र के कुराले तपाईंलाई निराश बनाएको छ ?

म नेपालीहरूको मुस्कान र आशावादी भावनासहितको सकारात्मक व्यवहारबाट प्रभावित छु । उनीहरु सबै पर्यटक र विदेशीहरूलाई खुला हृदयले स्वागत गर्छन्, जसका कारण जोकोही पनि पुनः एक पटक नेपाल आउन चाहन्छन् ।

अहिलेसम्म कुनै निराशा छैन । मेरो नेपालसँग हृदयदेखिको एक मात्र चाहना भनेको यसले विकास र समृद्धिको योजनालाई मनन गरोस् भन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment