Comments Add Comment

आएन निजगढ विमानस्थलमा लगानी प्रस्ताव

१४ असोज, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानीकर्ताले अनिच्छा देखाएका छन् । सरकारले जुरिच एयरपोर्ट इन्टरनेशन एजीलाई निर्माण गर्ने गरी लगानी प्रस्ताव पठाउन बुधबारसम्मको समय दिएको थियो ।

सरकारले दिएको अवधिमा जुरिचले प्रस्ताव नपठाएको लगानी बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

जुरिचले सरकारले दिएको समय सकिनुभन्दा एक दिन पहिले मंगलबार लगानी बोर्डलाई पत्र लेखेर एयरलाइन्स उद्योगमा आएको मन्दीको कारण देखाउँदै तत्कालका लागि प्रस्ताव पठाउन असमर्थ रहेको उल्लेख गरेको थियो ।

दुई वर्ष पहिले काठमाडौंमा आयोजित लगानी सम्मेलनमा प्रस्तावमा आधा दर्जन कम्पनीले प्रस्ताव हालेका थिए । त्यसमध्येबाट जुरिच छनोट भएको थियो ।

सुरुमा सरकारले जुरिचलाई २०७६ फागुनसम्मको समय दिएको थियो । विश्वव्यापी नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण सरकारले प्रस्ताव पेश गर्ने अवधी थपेर १५ असोज २०७७ पुर्‍याएको थियो ।

जुरिचलाई थप समय दिने नदिने भन्ने सम्बन्धमा भने बोर्डले अर्को निर्णय गरिसकेको छैन । प्रवक्ता मिश्रका अनुसार अब पुनः एक पटक प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको बोर्ड बैठकमा जुरिच विमानस्थलबाट माग गरिएको प्रस्तावका बारेमा छलफल हुनेछ ।

उक्त बोर्ड बैठकबाट आउने निर्णयका आधारमा उसलाई थप समय दिने वा नदिने निर्णय गर्ने मिश्रले जानकारी दिए ।

सरकारले आँट गर्ला ?

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई यो आयोजना आफ्नो कार्यकालमा जसरी पनि कार्यान्वयनमा लैजाने तयारीमा देखिन्छन् । उनले अघिल्लो वर्ष नै शिलान्यासको योजनासमेत सार्वजनिक गरेका थिए ।

तर, वातावरण प्रभाव मूल्यांकनसम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले योजना अनुसार काम गर्न नसकेको मन्त्रालयले जनाएको छ । निजगढ विमानस्थलमा बाह्य लगानी हुन नसके सरकार स्वयमले लगानी गरी आयोजनालाई गति दिने गरी निर्णय आउने सम्भावना देखिन्छ । यो आयोजनालाई सरकारले सबैभन्दा उच्च प्राथमिकतामा रहेको बताउँदै आएको छ ।

यसअघि गत २३ भदौमा बसेको निजगढ विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण समितिको बैठकले लगानी बोर्डलाई ३० सेप्टेम्बरसम्म जुरिचसँगको प्रस्ताव टुङ्ग्याउन आग्रह गरेको थियो । पछिल्लो तीन दशयता चर्चामा रहेको यो विमानस्थल निर्माण क्षेत्रको रुखको गणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment