Comments Add Comment

राजनीतिमा कोरोना : रोकिए प्रमुख दलका बैठक

नेकपा सचिवालय समितिको बैठकको फाइल तस्वीर ।

१८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बोलाइएको थियो, तयारी नपुगेको भन्दै आइतबारलाई सारियो । तर, शनिबार साँझ बालुवाटारमा कोभिड–१९ कोरोना भाइरस छिर्‍यो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका सदस्यसहित बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भयो ।

शनिबार तयारी नपुगेर आइतबारका लागि सारिएको बैठक बस्नेमा केही घण्टा अघिसम्म सचिवालयका सदस्यमा अन्योल थियो । अबेलासम्म बैठक स्थगित गरिएको सूचना पठाइएको थिएन । आइतबार दिउँसो चार बजेका लागि बैठकको समय पूर्वनिर्धारित थियो । अन्ततः प्रधानमन्त्री ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवमा संक्रमण पुष्टि भएको र बैठकस्थल बालुवाटार संक्रमणको उच्च जोखिममा देखिएकाले आइतबारको सचिवालय बैठक पनि अन्तिम घडीमा आएर रोकियो ।

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने लगायत केही महत्वपूर्ण निर्णयमा पार्टीभित्र असन्तुष्टि देखिएपछि शनिबार सचिवालय बैठक बोलाइएको थियो । तर, तयारी नपुगेको भन्दै एक दिन पछाडि धकेलिएको बैठक स्थगित हुनुमा बैठकस्थलमा उच्च जोखिम देखिनु र प्रधानमन्त्री संक्रमितको सम्पर्कमा रहनु नै भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन् ।

नेकपामा जस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि पार्टीभित्र देखिएको असन्तुष्टिबारे छलफल गर्न केन्द्रीय कार्य समिति बैठक असोज १९ मा बोलाएको थियो । कांग्रेसको बैठक पनि कोरोना संक्रमणकै कारण प्रभावित बन्न पुगेको छ ।

१६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाव बिहीबार संकलन गरिएकोमा पाँच केन्द्रीय सदस्य र केन्द्रीय मुख्यालय सानेपाका १७ कर्मचारीमा संक्रमण पुष्टि भएकाले कांग्रेसको बैठक पनि स्थगित भएको छ ।

केन्द्रीय मुख्यालय सानेपा पाँच दिन बन्द नै गरिएको छ । केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठ, जंगीलाल यादव र रमेश रिजाललाई संक्रमण पुष्टि भएको छ । पार्टी विधान विपरीत विभाग विस्तार, क्रियाशील सदस्यता वितरण, समायोजनको मापदण्ड लगायतप्रति असन्तुष्टि जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लिखित विरोधपत्र पार्टी कार्यालयमा बुझाएपछि छलफल गर्न बैठक राखिएको थियो ।

अर्थात्, एकै दिन तीन हजार बढीमा संक्रमण पुष्टि भइरहेका बेला अब उच्च राजनीतिक तहमै संक्रमण पुगेको छ । यसअघि नेताहरुको सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपनि शनिबारको रिपोर्टले भने राष्ट्रिय राजनीति नै प्रभावित बन्ने तहमा संक्रमण पुगेको देखिएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य भीम रावल लगायत नेताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा संक्रमण पुष्टि भए पनि नेताहरुको रिपोर्ट भने नेगेटिभ देखिँदै आएको थियो ।

गएको भदौ २३ मा काँग्रेस महामन्त्री डा.शशांक कोइरालालाई संक्रमण देखिए पनि यसपटक भने एकैचोटि धेरै नेताहरु संक्रमित हुन पुगे । काठमाडौं र बीरगञ्ज महानगरका मेयर, प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभाका केही सांसद लगायतमा समेत संक्रमण देखिए पनि त्यसले राजनीतिक गतिविधि रोकिएको थिएन ।

तर, यसपटक भने देशको कार्यकारी प्रमुख र पार्टी अध्यक्ष ओलीसम्मै संक्रमित जोडिन पुगेका छन् । शनिबार संक्रमण पुष्टि भएका तीनै जना सल्लाहकार उच्च तहका नेता समेत हुन् । प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल स्थायी कमिटी सदस्य, परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई केन्द्रीय सदस्य र प्रेस सल्लाहकार सूर्य थापा केन्द्रीय सदस्य एवम् नेकपा प्रचार विभाग उपप्रमुख हुन् ।

प्रतिनिधिसभाको अर्का दल जनता समाजवादी पार्टी (जसपा) को गतिविधि पनि कोरोना संक्रमणबाट प्रभावित बन्दै आएको छ । नेकपा र कांग्रेसमा जस्तो उच्च तहका नेताहरुमै संक्रमण नदेखिएको भए पनि लकडाउन र निषेधाज्ञा जस्ता कारणले एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । ‘यसबेला कम्तिमा केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सभामा नेताहरुको विभागीय जिम्मेवारी जस्ता केही महत्वपूर्ण काम भने भइसक्ने थियो, तर महामारीको त्रासले अगाडि बढ्न सकेको छैन’, जसपाका नेता केशव झा भन्छन् ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकता भएपछि निर्वाचनमा आयोगमा बुझाउनुपर्ने औपचारिक कागजात मिलाउनेबाहेक जसपा अगाडि बढ्न सकेको छैन ।

अवस्था खुला, परिस्थिति जटिल

१२० दिन लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले नरोकिएको राजनीतिक गतिविधि अहिलेको खुला अवस्थामा भने रोकिन पुगेको छ । लकडाउनका बेला त राजनीतिक गतिविधि झनै मौलाएको थियो । जसपा लकडाउनकै अवधिमा जन्मियो, काँग्रेसले आगामी फागुनमा महाधिवेशन गर्नेगरी गतिविधि अगाडि बढायो भने नेकपाभित्रको आन्तरिक शक्ति संघर्ष उच्च तहमै पुग्यो ।

झण्डै विभाजनकै डिलमा पुगेर अडिएको नेकपाको आन्तरिक शक्ति संघर्षकै कारण वैशाख ८ मा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए । यिनै अध्यादेशको कारण मधेश केन्द्रीत दुई दल मिलेर वैशाख ११ मा जसपा बनेको थियो । असार १० देखि अढाइ महिनासम्म नेकपाभित्र स्थायी कमिटी बैठकको रस्साकस्सी चल्यो । तर, कोरोनाकै कारणले भने बैठक स्थगित गर्नुपर्ने अवस्था बनेको थिएन ।

‘अहिले जुन तहमा संक्रमण देखियो, यसले पार्टीहरुको गतिविधि रोकिने रोकिने नै भयो । अझ हाम्रो पार्टीको महाधिवेशन प्रभावित हुने डर बढ्यो’, काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन् । उनी संक्रमणबाट जोगिदै पार्टी गतिविधि अगाडि बढाउनु नै उपयुक्त हुने बताउँछन् ।

अझ सत्तारुढ नेकपामा त एकता प्रक्रिया अगाडि टुंग्याउँदै एकताको महाधिवेशनसम्म पुग्ने मूल बाटोमै कोरोना संक्रमण उभिदिएको छ । गएको भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले असोजभित्रै बाँकी एकता प्रक्रिया पूरा गर्दै चैतमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् पुनर्गठन प्राथमिकतामा राखेको नेकपामा अहिलेसम्म पाँच वर्ष प्रधानमन्त्री र एकताको महाधिवेशनसम्म अध्यक्ष ओली नै रहने अनि पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड रहने बाहेक थप काम हुन सकेको छैन ।

नेकपाका एक स्थायी कमिटी नेता, कोरोनाले पार्टीभित्र संस्थापनलाई बाहाना बनाउन समेत मद्दत गरेको बताउँछन् । उनी भन्छन्, ‘संस्थागत निर्णय प्रक्रियामा भनेपछि भाग्ने प्रवृत्ति पार्टीमा हाबी भइरहेका बेला कोरोना समस्या बनेर आयो ।’ अहिलेकै अवस्था रहेमा आगामी कात्तिक दोस्रो साता निर्धारित केन्द्रीय कमिटी बैठक हुनेमा पनि आशंका देखिएको ती नेता बताउँछन् । काँग्रेस केन्द्रीय सदस्य पौडेल पनि कोरोना संक्रमणले पार्टी संस्थापनको बल मिच्याइँलाई थप मद्दत गरेको बताउँछन् ।

पार्टी गतिविधि बाहेक बालुवाटारको संक्रमणले सरकारको कामकार्वाही समेत प्रभावित बन्ने देखिन्छ । प्रधानमन्त्री ओली र उनको सचिवालय सदस्यहरुसँगको सम्पर्कमा रहेका मन्त्रीहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् भने सोमबारको नियमित मन्त्रिपरिषद् बैठक बस्नेमा अन्योल बढेको छ ।

एक मन्त्रीका अनुसार, बैठकस्थलमा देखिएको संक्रमण दरले सोमबार मन्त्रिपरिषद् बस्ने सम्भावना न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment