Comments Add Comment

अग्रपङ्क्तिमा काम गर्ने ७० प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या

काठमाडौं । कोभिड १९को महामारीभन्दा पहिले पनि स्वास्थ्य सेवाको काम तनावपूर्ण नै थियो । अनेक किसिमका बिरामीको आरोप र किचकिच सहनुपर्ने स्वास्थ्य क्षेत्रका कर्मचाहरूलाई कोभिड १९ले झनै समस्याको गहिराईमा पु¥यायो । पहिलेका धेरै अध्ययनहरूले पनि स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य अरूको तुलनामा कमजोर हुने गरेको देखाएको थियो ।

म्यानमारमा बस्ने एक नेपाली चिकित्सकले कोभिडको समयमा गरेको अध्ययनले भने स्वास्थ्यकर्मी लगायत अग्रपङ्क्तिमा काम गर्ने ७० प्रतिशत कर्मचारीको मानसिक स्वास्थ्य कुनै न कुनै अवस्थामा कमजोर हुने गरेको देखाएको छ ।

शनिबार मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको छलफल कार्यक्रममा म्यानमारमा कार्यरत डा. युवराज अधिकारीले नेपालमा कोभिड प्रतिकार्यमा अग्रपङ्क्तिमा संलग्न ७० प्रतिशत चिकित्सक तथा स्वयंसेवकहरूमा कुनै न कुनै प्रकारका मानसिक र मनोवैज्ञानिक समस्या देखिएको आफ्नो अध्ययनले देखाएको बताए । उनले भने ‘कोभिडपछि मानसिक स्वास्थ्य समस्या बढ्दो छ तर त्यस क्षेत्रमा लगानी आधा घटेकोले नीति निर्माताहरु अत्यन्तै गम्भीर हुनुपर्ने अवस्था छ ।’

सार्स–२ का बिरामीहरूको हेरचाह र घर फर्किँदा घरमा हुने व्यवहारले पनि धेरैमा मनोवैज्ञानिक प्रभाव पार्ने गरेको सो अध्ययनले देखाएको हो ।

केही समयअघि नयाँ वानेश्वरमा स्वास्थ्यकर्मी बस्ने घर घेराउ गर्ने, वीरगञ्जमा संक्रमित स्वास्थ्यकर्मीको घरमा ताला लगाउन आउने जस्ता व्यक्तिका कारण पनि स्वास्थ्यकर्मीहरूमा एक किसिमको हीनताबोध पैदा भएको छ । यसबाहेक पनि धेरै अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिमा हुने पारिश्रमिक वा अन्य कारणले पनि उनीहरूमा मानसिक समस्या पैदा भएको सो अध्ययनले देखाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालमा हरेक दिन औषतमा १५ जनाले आत्महत्या गर्ने गरेका छन् । गएको वर्षमात्र करिब छ हजार तीन सयले आत्महत्या गरेको रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस, साझेदार रेडक्रस सोसाइटीहरु, आइसीआरसी र  रेडक्रसको महासंघका प्रतिनिधिहरु सहित ८५ जनाले भाग लिएको सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

नोबेल कोरोना भाइरसको प्रकोपले स्वास्थ्यकर्मीलाई समेत प्रत्यक्ष प्रभाव पार्ने गरेको विभिन्न अन्तराष्ट्रिय अध्ययनहरूले देखाएको छ । कोभिडले उनीहरूको मनोवैज्ञानिक पीडालाई थप बढाउने सम्भावना बढाएको छ । संकटको समयमा चिकित्सा कर्मचारीहरूमा परेको मानसिक प्रभावहरूको बारेमा गरिएको अनुसन्धानले यो दर्शाएको छ कि यो असरले प्रकोपको अवधिमा मात्रै सीमित गरेको छैन । यसले त संकटपछि समेत लामो समयसम्म असर देखाइरहन्छ ।

विगतका महामारीको अनुभवबाट हामीले बुझ्न सक्छौं कि कोभिड १९ मानसिक स्वास्थ्यको लागि हानिकारक छ ? र कसरी यी नकारात्मक प्रभावहरू कम गर्न सकिन्छ ? भन्नेमा पनि धेरै अध्ययनहरू भएका छन् ।

कोरोना भाइरस महामारीको क्रममा अग्रपङ्क्तिमा खटिनेहरूमा मानसिक समस्या उत्पन्न हुने निम्न कारणहरू विभिन्न अध्ययनबाट देखिएको छ ।

संक्रमणको जोखिम

अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी हुन् या त सुरक्षाकर्मी या अरू कुनै पेशाका व्यक्ति नै किन नहुन् । ती सबै दैनिक सम्भावित संक्रमणको उच्च जोखिममा हुन्छन् । त्यसले मनमा एक किसिमको त्रास पैदा गर्छ । दैनिक मनमा पैदा हुने त्रासले मान्छेमा मानसिक समस्या निम्त्याउँछ ।

लाचारीको भावना

संसाधनको कमी नेपाल जस्तो मुलुकमा सबैभन्दा जटिल समस्याको विषय हो । उच्च जोखिममा रहेका क्षेत्रले कुनै स्वास्थ्य सुरक्षा सावधानी नअपनाई काममा खटाउँदा उनीहरूमा हीनताबोधको भावना विकास हुन्छ । हीनताबोधको भावनाले बिरामीलाई उनीहरूले कुशल तरिकाले हेरचाह गर्न सक्दैनन् । त्यसैले अग्रपङ्क्तिमा काम गर्नेहरूमा हुने मानसिक समस्याको गम्भीर असर अन्य व्यक्तिमा पनि हुन्छ ।

नैतिक चोट

माथि उल्लेख गरिएअनुसार स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्ता अग्रपङ्क्तिमा रहेकालाई समेत समाजले गर्ने व्यवहारले पनि उनीहरूमा समेत मानसिक समस्या सिर्जना गर्ने गर्छ ।

सामाजिक समर्थनको अभाव जस्ता समस्याले पनि अग्रपङ्क्तिमा काम गर्नेहरूमा मानसिक समस्या उत्पन्न हुने गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment