Comments Add Comment

बच्चालाई फकाइफुल्याई बढी खानेकुरा ख्वाउने गर्नुभएको त छैन ?

त्यसो त अहिलेका कतिपय बच्चा खानेकुरामा रुची गर्दैनन् । उनीहरुलाई फकाइफुल्याइ ख्वाउनुपर्छ । कतिपय आमाबुवाको प्रवृत्ति चाहि के हुन्छ भने, बच्चालाई खानेकुरा पुग्दो भइसकेपछि पनि ख्वाइरहने ।

बेलाबखत बालबच्चाले खान मन गर्दैनन् । वा उनीहरु अरु नै खानेकुरा खाएर अघाएका हुन्छन् । तर, आमाबुवाले भने उनीहरुलाई फकाएर वा गाली गरेर, जसरी पनि थप खान बाध्य बनाइरहेका हुन्छन् ।

बालबच्चाले भरपेट खाएपछि मात्र उनीहरु निरोगी हुन्छन्, बलियो हुन्छन् भन्ने आम सोचाइ हुन्छ । त्यही अनुसार आमाबुवाहरु जतिसक्दो बच्चालाई धेरै खानेकुरा ख्वाउने यत्न गर्छन् । तर, आवश्यक्ताभन्दा बढी खानाले उनीहरुको पाचन यन्त्रलाई खराब मात्र बनाइरहेको हुँदैन, मोटोपन जस्ता समस्या पनि निम्त्याइरहेका हुन्छन् ।

नवजात शिशुलाई दुध चुसाउने क्रममा पनि आमाले यस्तै गल्ती गरिरहेका हुन्छन् । पेट भरिएपछि उनीहरु स्पष्ट रुपमा उक्त कुरा व्यक्त गर्न सक्दैनन् । यद्यपि केही संकेत दिइरहेका हुन्छन् । जिब्रो धकेल्ने, थुक्ने, दूध नचुस्ने इत्यादी । यद्यपि आमाबुवाले भने उनीहरुलाई फकाइफुल्याई बढी ख्वाउने प्रयास गर्छन् ।

कतिपय बच्चालाई बोत्तलमा दुध राखेर दिइने चलन छ । यस क्रममा पनि आमाबुवाले उनीहरुलाई आवश्यक्ताभन्दा बढी ख्वाउने गर्छन् । पर्याप्त खाएपछि उनीहरु आनन्दले सुत्छन् वा रुने कराउने गर्दैनन् भन्ने आमाबुवाको बुझाई हुन्छ ।

यसैगरी शिशुले दुध नछाड्दै आमाबुवाले उनीहरुलाई ठोस आहार ख्वाउन सुरु गर्छन् । बच्चालाई पोषणको अभाव नहोस् भनी उनीहरुले फलफूलको रसदेखि लिटोसम्म ख्वाउन थाल्छन् । तर, आमाको दुध पर्याप्त खान पाइरहेको अवस्थामा शिशुलाई अतिरिक्त खानेकुराको जरुरी हुँदैन । एउटा निश्चित उमेर अवधीपछि मात्र उनीहरुका लागि ठोस आहार वा अतिरिक्त खानेकुरा चाहिन्छ ।

अनावश्यक खानाको असर

शिशु एवं बालबच्चालाई फकाइफुल्याइ ख्वाइरहँदा उनीहरुले आफ्नो पेट भरिएको भेउ पाउँदैनन् । आवश्यक्ताभन्दा बढी खाइदिन्छन् । यसको असर भनेको उनीहरुको पचाउने क्षमता कमजोर हुने भएकाले वान्ता गर्ने, पखला गर्ने समस्या देखिन्छ ।

सामान्यतः उनीहरुले आवश्यक्ताभन्दा बढी खाना भएमा थुक्ने गर्छन् । पछि पखला लाग्ने, पेट फुल्ने जस्ता समस्या थपिन सक्छ ।

के गर्ने त ?

स्तनपान गराउँदा ओभरफिडिङ्गको सम्भावना कम हुने गर्छ । कतिसम्म भने बच्चाले लामो समयसम्म निप्पल चुसिरहे पनि स्तनपान गर्दा दूधको आपूर्ति बोतलमा जस्तो निरन्तर हुँदैन । किनकी, स्तनपानका क्रममा शिशुलाई उत्ति नै दूध प्राप्त हुन्छ, जति उनीहरुले तान्छन् । परिणामस्वस्प, स्तनपानका क्रममा बच्चाहरुलाई ओभरफिडिङको समस्या हुँदैन ।

खानाको उचित समय निर्धारण गरेर पनि बच्चालाई आवश्यकता अनुसारमात्र खाना खुवाउन सकिन्छ । यसको लागि निश्चित समय निर्धारण गर्नुपर्छ । जसले गर्दा बच्चाले प्रत्येक दिन सोही समयमा भोकाएको महसुस गर्छ उनीहरुलाई भोकाएको समयमा मात्र खाना खुवाउनले आवश्यकता भन्दा बढी खुवाउने समस्याबाट बच्न सकिन्छ ।

भोक लोगपछि शिशुहरुले निश्चित संकेत देखाउँछन् । जस्तै, औला चुस्ने, ओठ हल्काउने, रुने, चिच्याउने इत्यादी । र, शिशु भोकाएपछि अक्कर उनीहरुले निप्पलमा झम्टने तथा लुक्ष्ने गर्छन् । त्यसैले, उनीहरुलाई त्यतिबेला मात्र खुवाउनु पर्छ, जब उनीहरु भोकाएका हुन्छन् ।

शिशुको पेट भरिएको छ भने जर्बजस्ती नगर्ने । बच्चाहरुमा ओभर फिडिङ्गको समस्या आम भएकाले उनीहरुलाई सही तरीकाले खाना फिड गरेर पनि यो समस्यालाई कम गर्न सकिन्छ । यसको लागि ओभर फिडिङ्गको संकेत तथा भोक लागेको लक्षणलाई ध्यान दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment