Comments Add Comment

कोभिडको पञ्जाबाट हामी यसरी पार भयौं

सदाझैं गंगालाल हृदय रोग केन्द्रको ड्युटी सकेर उनी घर फर्किन् । १२ घण्टासम्म पीपीई लगाएर भोक–प्यास नभनी ड्युटी गर्नुपर्ने उनी घर फर्किंदा सधैंजसो थकित देखिन्थिन् ।

लामो समयसम्म पीपीई लगाउनुपर्ने र त्यसमाथि सीसीयू ड्युटी अनि घर आएपछि पनि १९ महिनाकी छोरी हेर्नुपर्ने । लकडाउनको बेला पनि निरन्तर काममा खटिरहेकी थिइन् । उनको दुःख देखेर मैले धेरै पटक राजीनामा देऊ पनि भनें । तर उनले सबै स्वास्थ्यकर्मीले डराएर काम छोड्ने हो भने के होला भन्ने प्रश्न गर्थिन् ।

काम छाडे पनि यो भाइरस एकदिन हाम्रो घरसम्म आउन सक्छ, त्यो बेला के गर्ने भन्ने उनको प्रश्नले म चुप लाग्थें । तैपनि मनमा डरचाहिँ सधैं नै रहिरह्यो ।

घरमा वृद्ध बुबा–आमा मधुमेह र उच्च रक्तचापको रोग लिएर बस्नुभएको छ । साथमा १९ महिनाकी छोरी पनि छ । डराई डराई दिनहरू बित्दै थिए । साउन २५ गते उनलाई घर आएपछि गाह्रो हुन थाल्यो । जीउ दुख्ने, टाउको दुख्ने, घाँटी खसखस हुने समस्या देखिएपछि छुट्टै कोठामा बसिन् ।

भोलिपल्ट गङ्गालालमा नै कोरोना भाइरस परीक्षण गरियो ।

दुई दिनसम्म रिपोर्ट नै आएन र पछि अनुमानअनुसार नै कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि उनी एकदिन घरमै र त्यसपछि गंगालालको आइसोलेसनमा बसिन् ।

घरका सबैजना हतार-हतार अस्पताल पुगेर स्वाव दियौं । त्यसै दिन साँझ आमाबाहेक अरूको रिपोर्ट नेगेटिभ भनेर आयो । भोलिपल्ट आमाको रिपोर्ट आउँदा पोजेटिभ देखियो ।

आमालाई सम्झाई–बुझाई अलग्गै कोठामा राख्यौं । उहाँमा ज्वरो आउने, जीउ दुख्ने, कमजोरी हुने समस्या देखिएको थियो ।

म र मेरो ठूली छोरी (भतिजी) भएर आमा, मेरी छोरी र बुबाको ख्याल गर्नुपर्ने थियो ।

आमालाई १० दिनसम्म उचित खुराक र भिटामिन दिएका थियौं, पानी, प्रशस्त पिउनुपर्छ भनेका थियौं । ज्वरो नाप्न र रगतमा अक्सिजनको मात्रा हेर्न सिकाएर २–२ घन्टामा मनिटर गरिरहेको थिएँ ।

१० दिनसम्म आमालाई कमजोरी हुने, थकान महसुस हुने, खाना नरुच्नेबाहेक अरु समस्या देखिएन । अबचाहिँ ठीक हुने अवस्थामा हुनुहुन्छ भनेर ढुक्क हुँदै थिएँ । तर, बुबाको मुख हेर्ने दिन बेलुकीपख आमाको रगतमा अक्सिजनको मात्रा कम हुँदै गयो, आमालाई अप्ठेरो महसुस त भएको थिएन । तर, उहाँको रगतमा अक्सिजनको मात्रा राम्रो थिएन ।

आमाको स्वास्थ्य जाँच गर्ने डाक्टरको परामर्शमा अस्पताल लैजानुपर्ने भयो । केही अस्पतालमा बुझ्दा बेड खाली पाइएन । आफूले चिनेजानेका डाक्टरदेखि सबैलाई कुरा गर्दा पनि एउटा बेड पाउन सकिएन । अन्ततः स्टार अस्पतालमा एउटा आइसोलेसन मिलाउन सकियो ।

आइसोलेसनमा अक्सिजन मास्क लगाएपछि आमाको अक्सिजन लेवल ९५ माथि पुग्यो र केही ढुक्क भएँ ।

आमासँग ‘क्लोज कन्ट्याक्ट’ भएका कारण अब म पनि आइसोलेसनमा बस्नुपर्ने भयो । एकातिर श्रीमती गंगालालको आइसोलेसनमा, अर्कोतिर आमा स्टार अस्पतालको आइसोलेसनमा, म घरमै आइसोलेसनमा । छोरीलाई छुन पनि नमिल्ने ।

आँखा झिमिक्कै नगरी बिहान भयो र आमालाई फोन गर्दा ठिकै भएको सुन्दा खुशी लाग्यो । तर, अस्पताल लगेको भोलिपल्ट अक्सिजन धेरै चाहिने भएकोले सघन उपचार कक्षमा राख्नुपर्ने हुन सक्छ भनेर डाक्टरले फोन गर्नुभयो र तुरुन्त गएर सहमतिपत्रमा छाप लगाएर आएँ । त्यसै दिनदेखि सघन उपचार कक्षमा राखी आमाको उपचार अगाडि बढ्यो ।

तेस्रो दिनदेखि आमाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गयो । आमालाई हौसला दिन हरेक दिन फोन गर्थें । पाचौं दिनसम्म सघन उपचार कक्षमा उपचार गराएपछि पनि प्लाज्मा थेरापी आवश्यक पर्न सक्छ भनेर दुईजनालाई कुरा गरिराखें । साथै रेम्डिसिभिर नामक औषधि पनि डाक्टरको परामर्शमा दिन थालियो ।

सातौं दिनमा आमाको स्वास्थ्यमा राम्रो सुधार पनि भएको र पीसीआर टेस्ट पनि नेगेटिभ आइसकेकाले आमालाई क्याबिनमा सार्ने कुरा भयो । आमालाई सात दिन सघन उपचार कक्षमा र पाँच दिन वार्डमा राखेपछि घर लिएर आएँ ।

आमा अस्पतालमै भएका बेला छोरीलाई कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि, श्रीमतीलाई गंगालाल अस्पतालको आइसोलेसनबाट घर ल्याउनुभएन । श्रीमती र छोरीलाई अलग्गै फ्लाटमा बस्ने व्यवस्था गरें । बुबालाई र ठूली छोरी अलग्गै अनि म अलग्गै बस्यौं ।

भोलिपल्ट परीक्षण गर्दा ठूली छोरीमा पनि कोरोना संक्रमण पुष्टि भयो, मेरो भने रिपोर्ट आएन । त्यतिबेला एकै परिवारका हामीमध्ये आमा अस्पतालमा, श्रीमती र छोरी एउटा फ्लाटमा, भतिजी अलग्गै, बुबा र म पनि अलग–अलग बस्यौं ।

भोलिपल्ट मेरो रिपोर्ट नेगेटिभ आयो । बुबा अहिलेसम्म संक्रमित नभएकाले उहाँलाई जोगाउने चुनौती थियो । उहाँलाई हामीले संक्रमणबाट जोगाउन सक्यौं ।

यो भाइरसले सिंगो परिवारलाई नै आक्रान्त पार्छ भन्ने उदाहरण हाम्रो परिवार हो । मेरी त श्रीमती अस्पतालमा कोभिडसँग लड्ने भएकाले जोखिम थियो । तर, यो भाइरस अस्पतालबाट मात्र सर्छ भन्ने भ्रममा नपर्नु होला ।

त्यसैले कामका लागि घरबाहिर जानेहरू सकेसम्म छुट्टै कोठामा बस्नुस्, बुबा–आमासँग धेरै नजिक नहुनुस्, खान खादा पनि एक्लाएक्लै खाने गर्नुस् । आफ्नो आफ्नो प्लेट, कचौरा छुट्याउनुस् । स्वास्थ्य सुरक्षाका सबै नियम पालना गर्नुहोस् । किनकी यो यस्तो जटिल अवस्थामा हामी छौं कि, यदि केही भयो भने, सघन उपचार कक्षमा त परै जाओस्, एउटा बेड पनि पाउन समस्या छ ।

सामाजिक सञ्जालमा यो रोगलाई साधारण रुघा खोकीजस्तै हो भनेर भ्रम फैलाउने काम पनि भएको छ । मेरो अनुभवले त्यो भन्दैन । हामी युवा छौं, हामीलाई यसले धेरै असर नगर्ला, तर घरमा भएका हाम्रा आमा–बाको बारेमा सोचौं । आफ्ना कारणले आफ्नो परिवारमा कसैलाई केही भयो भने के गर्ने !

निको भइसकेका प्रबुद्ध व्यक्तिहरूको भिडियो सन्देश पनि हेरें मैले । धेरैले इच्छाशक्तिको कुरा पनि गर्नुभएको छ । हो इच्छाशक्ति अवश्य चाहिन्छ । तर, उचित संक्रमितको उचित व्यवस्थापन र औषधि तथा स्वास्थ्यसम्बन्धी परामर्श पनि उत्तिकै चाहिन्छ ।

त्यसैले सचेत बनौं हतास होइन, हामी आफैंले कोसिस नगरी सरकारको मात्रै जिम्मेवारी हो भनेर बस्ने समय छैन । अहिले हामीले कोभिडबाट निको भएका र कोभिडलाई नजिकैबाट भोगेकाहरूको एउटा समूह बनाएका छौं । हाम्रो समूहका सदस्यले ५ जनालाई प्लाज्मा थेरापीको लागि प्लाज्मादान पनि गरिसक्नुभएको छ र अरुको जीवन जोगाउने अभियानमा पनि हामी लागेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment