Comments Add Comment

पुरूषलाई प्रश्न : युवती बलात्कारमा पर्दा किन प्याच्च बोल्नुहुन्छ ?

अचेल दिनहुँजसो कलिला बालिका बलात्कृत भएका समाचार आइरहेका छन् । यसप्रति सबैको आक्रोश छ । तर, यही आक्रोश यदि पीडित उमेर पुगेकी युवती या महिला भइन् भने धेरैको आक्रोश मौनतामा बदलिन्छ । अझ कतिको आक्रोश त झन दोषारोपणमा बदलिन्छ ।

उमेर नपुगेका कलिला बालिकाहरु बलात्कृत हुँदा मात्र धेरैलाई ‘यो त गलत भयो’ जस्तो लाग्छ । उमेर पुगेका युवती बलात्कारमा पर्दा धेरैले शंकाको नजरले हेर्दछन् । ‘त्यसले के लगाएकी थिई लुगा ? चम्किराकी थिई होला । राति राति हिँड्ने हो त छोरी मान्छे भएर ? ज्यान देखाएर हिँड्छन अनि बलात्कार भैहाल्छ नि, आफैंले निम्त्याएका त हुन् । आदि आदि ।

यस्ता भन्नेहरु हाम्रै घरभित्र छन्, छिमेकमा छन् । ती सब भन्ने मान्छेसङ्ग मलाई प्रश्न गर्न मन लाग्छ – के कुनै दिन म ‘छोटा’ लुगामा देखिएँ भने तपाईं मलाई बलात्कार गर्नुहुन्छ ?’ के गाउँका पधेँरामा युवती, महिलाहरु पेटीकोट लगाएर नुहाइरहेको देख्दा तपाईं उत्तेजित हुनुहुन्छ ?

जवाफ आउला – टैट ! खराब मान्छे नि हुन्छन् नि । सबै हामीजस्ता सज्जन हुन्छन् त ?

म भन्छु, होलान्, छन् खराब मान्छेहरू । तपाइँलाई खराब मान्छेको डर छ भने किन कहिल्यै पनि को हो अपराधी, त्यसले दन्ड पायो पाएन भन्ने कुरामा तपाईंको आवाज उठ्दैन ? किन जहिल्यै जवान युवती महिला बलात्कृत हुँदा केही नसोची, अध्ययन नगरी ‘अचेलका केटी साँप्रा देखाएर हिँड्छन्, अनि यस्तै हो ‘ भन्न हतार हुन्छ तपाईंलाई ? ‘मोज गरे, पछि कुरा मिलेन होला, अनि बलात्कार रे’ किन तपाईं प्रतक्ष्यदर्शी जसरी प्याच्च यस्तो बोल्नुहुन्छ ? खराब मान्छेबाट बच्नुपर्छ भन्ने आशय हुनेले किन कहिल्यै त्यस्ता खराब बलात्कारी किन जन्मे, कसरी समाजमा उत्पन्न र विकसित भए, भनेर सोधखोज गर्नु हुन्न ?

यस्ता घटना हुँदै नभएका हैनन्, ५ प्रतिशत भन्दा कम घटना झुठा पनि हुन सक्लान् । एकाध त्यस्तो सुनिएको छ । एकदुई जना खराब व्यक्तिले कानुनको दुरुपयोग गरे भन्दैमा बाँकी ९५ प्रतिशत बलात्कृत युवतीहरुलाई पनि दोषी देख्नु केवल पूर्वाग्रह बाहेक केही होइन ।

मलाई भन्न मन लाग्छ कि छोटा लुगा लगाएर महिलाले बलात्कारलाई निम्ता दिरहेका छन् जस्तो लाग्छ भने तपाँई यसो गर्नुस् । छोटा लुगा लाएकाहरुलाई बरु निर्लज्ज भएर सोध्नुस ‘आर यु इन्ट्रेस्टेड ?’ भनेर । ९९ प्रतिशतभन्दा बढीको उत्तर ‘नो’ हुनेछ । यदि कसैको ‘एस’ आयो भने पनि राम्रो भैहाल्यो, सहमति भएपछि बलात्कार शब्दको गुन्जायस नै हुने भएन ।

मलाई भन्न मन लाग्छ, ‘पुरुष नग्नता त हामीले पचाइरहेका छौँ त सदियौँदेखि । खै तपाईंले भित्री बस्त्र मात्र लगाएर भित्र-बाहिर गरेको देख्दा हामीलाई वास्ता हुँदैन त ।’

फेरि भन्नुहोला ‘महिला पुरुष फरक हुन्, पुरुषको ध्यान त्यतै हुन्छ ।’ विल्कुल । फरक छन् । तर, यौन इच्छा महिलालाई नहुने होइन, उत्तिकै हुन्छ । तर, इच्छा लाग्छ भनेर जे पनि गर्ने त जबरजस्ती ? तपाईंलाई थाहा छ, महिलालाई दोष दिइरहँदा तपाईंका शब्दले कति बलात्कारीलाई थप उत्साह मिलेको छ ?

मलाई प्रतिप्रश्न गर्न मन लाग्छ, त्यही महिलाको स्वरुप आमाको स्तन चुसेर हुर्किनुभएका तपाईंका ‘खराब मान्छे’ लाई किन त्यही स्तनको क्लिभेज देखिँदा काउकुती लाग्छ ? तपाईं सभ्य पुरुषले सोच्नुभएको छ कहिल्यै ? किन ती खराब व्यक्तिहरुलाई त्यसो भएको होला ? एक पल नसोची तथ्यहीन र मनगढन्ते भाषामा “बिग्रेका केटी” भनेर कति छिटै भन्ने त्यो थुतुनोले बिग्रेका केटा सपार्नेबारे किन सोच्दैन ? किन छोरीलाई मात्र लगाम लगाउन खोज्छ ?

समस्या ‘केही खराब व्यक्ति’मा हो भने तिनलाई के गर्ने भन्ने सोच्ने हैन र ? भत्किएको बाटोमा दुर्घटना धेरै भैरहँदा त्यो बाटो मर्मत गर्नेबारे सोच्ने हो कि त्योबाटै नहिडौँ, घरमै बसौँ भन्ने ? घरमा चोर पसेर तपाईंले दुःखले आर्जेको सम्पती पैसा चोर्यो भने ‘चोरलाई पैसाले आकर्षित गर्छ भन्ने था’छैन ? पैसा किन कमाउने त ?’ भनेर तपाईंलाई गाली गर्ने कि चोर पक्डिनतिर लाग्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment