+
+
Shares

मन्त्रिपरिषद्‍मा ८८ प्रतिशत पुरुष

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २८ गते २०:३८
मन्त्रिपरिषद बैठकको फाइल तस्वीर ।

२८ असोज, काठमाडौं । मंगलबार भएको १२ औं पुनर्गठनसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्याल, खानेपानी मन्त्री बीना मगर र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेबाहेक सबै मन्त्री पुरुष छन् ।

मन्त्रिपरिषद्‍मा महिलाको कुल प्रतिनिधित्व १२ प्रतिशत छ । जबकी राष्ट्रिय जनगणना २०६८ अनुसार पुरुष भन्दा महिलाको जनसंख्या धेरै छ ।

संविधानको मर्म भने पुरुष र महिलाको अनुपात समान हुनुपर्ने संविधानविद्हरू बताउँछन् । संविधानको धारा ३८ को उपधारा ४ मा भनिएको छ, ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।’

त्यस्तै, धारा ७६ को उपधारा ९ मा मन्त्रिपरिषद् ‘समावेशी सिद्धान्त बमोजिम’ गठन गर्नुपर्ने प्रावधान छ । मौजुदा मन्त्रिपरिषद् यो सिद्धान्तको विपरीत देखिन्छ ।

महिला मन्त्रालयमा पुरुष

प्रधानमन्त्री ओलीले लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिए । यसअघि यो मन्त्रालय पार्वत गुरुङको नेतृत्वमा थियो ।

गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेपछि महिला मन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन् । ‘पुरुष मन्त्री जानु भयो, पुरुषै आउनु भयो’ मन्त्रालयका एक सहसचिव भन्छन् ।

महिलासँग सम्बन्धित मन्त्रालयमासमेत पुरुष मन्त्री बनाउनु गलत भएको अधिकारकर्मीहरू बताउँछन् । अचानोको चोट खुकुरीलाई थाहा हुँदैन भने जस्तै यो मन्त्रालयको पीडा पुरुषलाई भन्दा महिलालाई थाहा हुने उनीहरूको तर्क छ ।

पोखरीमा पस्नै नदिई पौडी खेल्न जानेन भन्ने ?

समानुपातिक समावेशी संविधान बने पनि नेताहरूको दिमागमा समावेशिताले प्रवेश पाएको देखिदैन । समावेशीलाई नेताहरूले सामेलीको अर्थमा मात्रै बुझेको विश्लेषकहरू बताउँछन् ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘संविधानमा समानुपातिक समावेशिता राखे पनि नेताको दिमाग समावेशी भइसकेको रहेनछ भन्ने यो मन्त्रिपरिषद् पुनर्गठनले पनि देखाउँछ ।’

क्षमता, योगदान जस्ता बाहना बनाएर महिलालाई अवसरबाट बञ्चित गर्दै आएको उनको भनाइ छ । कानूनले बाध्यकारी भनेको पदमा मात्रै महिलालाई लगिएको पोखरेल बताउँछन् ।

‘कोहीमा गर्भमा सबै जानेर आउँदैन, सक्षम छैन–योग्य छैन भन्ने कुरा महिलालाई अवसर नदिने बाहनावाजी मात्रै हो’ प्रा.पोखरेल भन्छन्, ‘अवसरै नदिई सबैकुरा जानेको हुनुपर्छ भन्नु पोखरीमा पस्नै नदिई पौडी खेल्न जान्नुपर्छ भन्नु हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?