+
+

विजय मिश्र भन्छन्– बास्कोटाको भिडियो लिएर जापानबाट आउँदैछु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २९ गते ९:५०

२९ असोज, काठमाडौं । १७ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको थियो ।

तर, अहिलेसम्म मिश्र अख्तियारमा हाजिर हुन नआएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारी बताउँछन् । ‘मुद्दा अनुसन्धानमै छ,’ उनले भने, ‘हाजिर हुन भनिएका व्यक्ति अहिलेसम्म बयानका लागि आइपुग्नु भएको छैन ।’

बास्कोटासँग स्वीस कम्पनी केबीए नोटासिसको एजेन्टका रुपमा बार्गेनिङ गरेका मिश्र अख्तियारमा हाजिर नभएपछि अनेकन अड्कलबाजी भएका छन् ।

विजय प्रकाश मिश्रले भिडिओको अडियो मात्रै सार्वजनिक भएको भन्दै अब अख्तियारलाई त्यसको भिडिओ नै बुझाउने दाबी गरेका छन्

अनलाइनखबरसँग सम्पर्कमा आएका मिश्रले आफू जापानमा रहेको बताए । मिश्रको भनाइ मान्ने हो भने उनी बास्कोटासँग भएको सम्बाद प्रमाणित गर्ने डिभाइस लिन जापान गएका हुन् ।

अख्तियारले ७ दिने सूचना जारी गरेपछि मिश्रले अख्तियारलाई लिखित रुपमा इमेल गरेर आफू जापानमा रहेको र केही समयमै फर्किने जानकारी गराएको बताएका छन् ।

‘मैले इमेलसहित र हुलाकमार्फत पनि अनुसन्धान अधिकृतलाई टेप प्रकरणको डिभाइस लिन जापान आएको जानकारी गराएको छु,’ उनले जापानबाट अनलाइनखबरसँग भने, ‘मेरो नेपाल फर्किन आगामी अक्टोबर १६ तारिखको टिकट छ । म डिभाइस लिएर आउँछु भनेर अख्तियारलाई जानकारी दिइसकेको छु । ’

मिश्रका अनुसार अख्तियारलाई जानकारी गराएर डिभाइस लिन उनी जापान गएका हुन् । कोभिड–१९ का कारण असहज अवस्थाले सहजै स्वदेश फर्किन नसकेको उनको तर्क छ । मिश्रले आफूसँग रहेको डिभाइस अख्तियारले नमागेको भए निकै पहिले नै वयान दिइसक्ने  दावी गरेका छन् । उनले सो डिभाइसमा मन्त्रीसँग भएको सम्वादको भिडिओ नै रहेको दावी गरेका छन् ।

मिश्रले भिडिओको अडियो मात्रै सार्वजनिक भएको भन्दै अब अख्तियारलाई त्यसको भिडिओ नै बुझाउने दाबी गरेका छन् । ‘मान्छेले यो प्रकरणलाई ७०–७० करोड भनिरहेका छन्, तर यो ६ अर्बभन्दा बढीको भ्रष्टाचारको योजना हो,’ उनी भन्छन्, ‘लगानी बोर्डमा केबीए नोटासिसले बुझाएको लगानी प्रस्तावलाई आधार मान्दा सरकारले फ्रान्सेली कम्पनीलाई यो परियोजना दिएर ६ अर्ब सोझै भ्रष्टाचार गर्न लागेको खुल्छ ।’

२१ पुस २०७६ संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए । उनले जीटूजीका नाममा नीतिगत रुपमा भ्रष्टाचार हुन लागेको भन्दै अनुसन्धान गर्न माग गरेका थिए ।

‘मैले प्रधानमन्त्रीलाई नै भेटेर यो परियोजनामा ६ अर्ब भ्रष्टाचार हुन लागेको जानकारी गराएको थिएँ,’ उनले भने, ‘तर, जानकारी पाएको ७ दिन नबित्दै मन्त्रिपरिषद बैठकले फ्रान्स र जर्मनीका मध्ये उपयुक्त कम्पनीलाई दिने गरी सञ्चार मन्त्रालयलाई स्वीकृति दियो, फ्रान्सेली कम्पनीलाई दिने तय थियो, त्यसले देशलाई ठूलो हानी हुने भएपछि अडियो सार्वजनिक भएको हो ।’

मिश्र यो प्रकरणलाई त्यतिकै सेलाउन नदिने बताउँछन् । उनले आफूसँग भएका प्रमाणहरू अख्तियारमा पेश गर्ने बताए । यो प्रकरणपछि बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?