Comments Add Comment

दशैंको यात्रा : गाउँ–गाउँ नपुगोस् कोरोना

दशैं यात्रा यसपाली त्यती सहज छैन । त्यसै पनि दशैंमा लामो दुरीको यात्रा अस्तव्यस्त हुनेगर्छ । त्यसमाथि यसपाली कोरोना सन्त्रास छ । यात्राको क्रममा कोरोना भाइरसको संक्रमण हुने जोखिम उच्च छ ।

१. सार्वजनिक यातायातमा सबैथरीका यात्रुसँग यात्रा गर्नुपर्ने हुन्छ । आमने–सामने बस्नुपर्छ । त्यसमध्ये एकजना मात्र यात्रु संक्रमित भएमा भाइरस सर्ने जोखिम उच्च हुन्छ ।

२. एउटै ठाउँमा कोचिएर यात्रा गर्नुपर्ने भएकाले शारीरिक दुरी पालना गर्न त्यती संभव हुँदैन ।

३. यात्रुहरु एकअर्कासँग भलाकुसारी गर्ने, हासोठट्टा गर्ने गर्छन् । यसबेला उनीहरुले न शारीरिक दुरीको ख्याल राख्छन्, न मास्कको । यसले पनि संक्रमणको फैलने जोखिम बढाउँछ ।

४. विशेषज्ञहरुका अनुसार हावा गुम्सिने, साँघुरो ठाउँमा कोरोना भाइरस एकअर्कामा सजिलै फैलने भय हुन्छ । गाडी भित्र यात्रुको चाप हुने र हावा गुम्सने भएकाले जोखिम हुनसक्छ ।

५. चालक–सहचालक धेरै व्यक्तिसँगको सम्पर्कमा हुने भएकाले उनीहरु पनि कोरोना भाइरसको जोखिममा छन् ।

६. सार्वजनिक यातायातले ठाउँ–ठाउँमा क्षमताभन्दा बढी यात्रु चढाउने–ओराल्ने गर्छन् । यस क्रममा पनि कोरोना भाइरस सर्ने जोखिम बढ्छ ।

बढ्नसक्छ जोखिम

पारिवारिक भेटघाट र आपसी खुसी साट्नका लागि धेरैजसो दशैंमा आफ्नो मुलघर पुग्छन् । शहरमा अस्थायी बसोबास गर्नेहरु आफ्नो थातथलो फर्कन्छन्, गाउँ फर्कन्छन् । तर, परिवारसँग रमाइलो गर्न दशैंमा घर जानेहरुले आफुसँगै कोरोना भाइरस पनि लगेमा त्यसले संकटको स्थिती पैदा गर्न सक्छ ।

अर्कोतिर चिकित्सकहरुले कोरोना भाइरस चिसो मौसम सुरु भएसँगै अरु भयवह हुनसक्ने अनुमान गरेका छन् । दशैं लगत्तै चिसो बढ्ने भएकाले कोरोना भाइरसले अरु अत्याउन सक्छ ।

हामीलाई थाहै छ, अहिले कोरोना भाइरसबाट बाच्ने एकमात्र उपाय भनेको सजगता अपनाउनु नै हो । न यसको उपचार हुन्छ, न उपचार गर्ने पर्याप्त ठाउँ नै उपलब्ध छ । अस्पतालहरु भरिभराउ छ । आपतकालिन अवस्थाका बिरामीहरुले त उपचार पाइरहेका छैनन् । यस्तो अवस्थामा गाउँ–गाउँमा कोरोना संक्रमण फैलिएमा स्थिती के होला ? शहरी क्षेत्रको तुलनामा अहिलेसम्म गाउँ गाउँमा कोरोनाको संक्रमण त्यती डरलाग्दो छैन । तर, दशैं–तिहार जस्तो चाडमा मान्छेहरुको आउजाउ र चहलपहल बढ्ने भएकाले कोरोना फैलने जोखिम उच्च छ ।

त्यसो भए के गर्ने त ?

यात्रा नै नगर्ने भन्ने कुरा त्यती व्यवहारिक नहोला । सरकारले त यथास्थानमा रहेर नै दशैं मनाउन आग्रह गरिसकेको छ । यसको अर्थ आउजाउ गर्दा कोरोना भाइरस सर्ने संभावना भएकाले जहाँ छौं, त्यही नै दशैं मनाउन उपयुक्त हुने हो । तर, कतिपयले यात्राको तयारी गरिसकेका छन् । मुलघर पुग्नैपर्ने बाध्यता पनि होला । यस्तो स्थितीमा हामीसँग भएको एउटै विकल्प भनेको सार्वजनिक यातायातमा एकदमै सर्तकता अपनाउने नै हो ।

यसका लागि केही अनिवार्य सर्त छन् ।

१. सुरक्षित ढंगले गुणस्तरिय मास्क लगाउनैपर्छ ।

२. अरु यात्रुसँग हेलमेल नगर्ने । कुराकानी नगर्ने ।

३. चालक–सहचालकसँग धेरै सम्पर्कमा नरहने ।

४. संभव भएसम्म आफैले खानेकुरा बनाएर लाने । होटल वा बाहिर नखाने ।

५. चालक–सहचालकलाई समेत मास्क लगाउन र भौतिक दुरी कायम गर्न सजग गराउने ।

६. कसैसँग बोल्नै परेमा मास्क चिउडोमा नतान्ने ।

अन्य सर्तकता

यात्राको क्रममा कतिपयलाई वान्ता हुने, शरीर शिथिल हुने, टाउको दुख्ने, चक्कर आउने पनि हुन्छ । यो मोशन सिकनेस हो, जो यात्रापछि आफै ठीक हुन्छ । यद्यपि यसले यात्रालाई कष्टकर बनाउने भएकाले यात्रा थाल्नुअघि आवश्यक तयारी गर्ने । कतिपय घरेलु औषधि हुन्छन्, जसले यात्रामा टाउको दुख्ने, वान्ता आउने समस्यका कम गर्छ ।

खानपान

यात्रा गर्नुअघि धेरै मसेलदार, चिल्लो, चाप्लो खाना नखाने । सादा र सुपाच्य खानेकुरा सेवन गर्ने । साधै आफुले गाडीमा खानका लागि पनि फलफूल लगायत सादा खानेकुरा बोक्नु उपयुक्त हुन्छ । पानीको जोहो पनि आफ्नै घरबाट गर्नु उचित हुन्छ । उमालेर सेलाएको पानी बोक्न सकिन्छ । हुलमुलमा आफ्नो सामान हराउने, साटिने संभावना हुन्छ । त्यसैले आफ्नो सामाग्रीको ख्याल राख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment