Comments Add Comment

हुम्ला सीमा विवाद : चीनले गर्‍यो सर्भे, नेपालको छैन सुरसार

२ कात्तिक, काठमाडौं । दुई देशीय सिमानामा आफूले निर्माण गरेका भवनहरुका सम्बन्धमा नेपालमा प्रश्न उठेपछि चीन सरकारले सो क्षेत्रमा नापी विभागका प्राविधिकहरु पठाएर पुनः सर्भे गरेको छ ।

चिनियाँ अधिकारीहरुका अनुसार त्यस स्थानमा भवन निर्माण अगाडि नै विस्तृतरुपमा सर्वे र नक्साङ्कन गरिएको थियो । तर, भवन बनाएको भूभाग नेपाल पर्ने भनी प्रश्न उठेपछि दोस्रोपटक सर्भे गरिएको हो ।

चीनले सर्भे सम्पन्न भएपछि पिल्लर नं ११ र १२ लाई लक्षित गरेर एक नक्सा नै बनाएर अंग्रेजी भाषाको मुखपत्र ग्लोवल टाइम्स मार्फत सार्वजनिक गरिसकेको छ ।

आफूले निर्माण गरेको भवन नेपाल-चीन सीमाको दुई किलोमिटर आफ्नो भुभागमा रहेको दाबी गरेको छ ।

सो क्षेत्रका एक उच्च अधिकारीले आफूले गरेको सर्भेबारे सो पत्रिकालाई विस्तृतमा अन्तवार्ता दिएका छन् । अर्थात, चीन सरकारले अध्ययन गरेर सार्वजनिकरुपमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।

यो पनि पढ्नुहोस नेपाल–चीन सीमा विवाद : के हो समस्या, कसरी समाधान गर्ने ?

नेपालभित्र पनि त्यहाँ विज्ञ टोली पठाएर यथार्थ जानकारी गराउन सर्वत्र माग भइरहेको छ । तर, त्यसतर्फ सरकारको कुनै ध्यान छैन । भूमि व्यवस्था, सहकारी र गरिवी निवारण मन्त्रालय, नापी विभागलगायतका निकायहरुले विज्ञ पठाउने सम्बन्धमा अहिलेसम्म कुनै प्रगति नभएको बताएका छन् ।

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले टोली पठाउने विषयमा आफूलाई केही थाहा नभएको बताइन् । उनले भनिन,’अहिले के भइरहेको छ भन्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई सोध्दा नै उचित होला ।’

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले हुम्लामा एक टोली पठाएर स्थलगत अध्ययन गरेको छ ।

प्रतिवेदन गोप्य

सीमा मिचिएको चर्चा चलेपछि हुम्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लिमी गाउँको अवलोकन गरेको थियो । सो अवलोकनको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको थियो ।

गृह मन्त्रालयले सो प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिइएको बताएको छ । तर, परराष्ट्र मन्त्रालयले सो प्रतिवेदनलाई गुपचुप राखेको छ । सो प्रतिवेदनका आधारमा सरकारले सीमाका सम्बन्धमा के भएको हो, बताएको छैन ।

सो टोलीले प्रतिवेदन बुझाउनुअगाडि नै सरकारले हुम्लामा चीनले सीमा नमिचेको प्रतिक्रिया दिएको थियो । त्यतिबेला परराष्ट्र मन्त्रालयले हुम्लाबाट सो टोली र्फकेपछि विस्तृत जानकारी प्राप्त हुने बताएको थियो ।

यो पनि पढ्नुहोस हुम्लाका सांसद जीवनबहादुर शाहीको दाबी– चीनले सीमा मिचेकै देखियो

सीमा विवादजस्तो संवेदनशील विषयमा यही हो भनेर ठोकुवा गर्ने कार्य निकै कठिन हुन्छ । त्यसमाथि पनि अहिले जति अध्ययनहरु भएका छन्, त्यसमा प्राविधिकहरु संलग्न छैनन् र उनीहरुले पहिलेको नक्साको आधारमा अध्ययन गरेका छैनन् ।

जबसम्म प्राविधिकहरुले अध्ययन गर्दैनन्, तबसम्म केही भन्न सकिने अवस्था हुँदैन । त्यसैले सरकारको दायित्व भनेको चीनसँग समन्वय गरेर एक प्राविधिक टिम पठाउनु हो ।

विज्ञ भन्छन् – शान्तरुपमा संयुक्त अनुगमन गरौं

विज्ञहरुले यो विषय निकै संवेदनशील भएकाले यसलाई सार्वजनिक रुपमा बढी उछालेर भन्दा पनि शान्त कूटनीतिका माध्यमले संयुक्त अनुगमनपछि निक्र्यौल गर्नुपर्ने बताएका छन् ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेल यो विषय सतहमा आएपछि परराष्ट्र, भूमिसुधार र गृहमन्त्रालयको टोली केन्द्रबाटै पठाएर अध्ययन गर्नुपर्नेमा त्यसमा ढिलाइ भएको बताउँछन् ।

ढुंगेलले अनलाइनखबरसँग भने, ‘पहिला त्यहाँ के भएको हो वस्तुस्थिति पत्ता लगाएर त्यसका आधारमा चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने थियो । अहिले चीनले आफूले त्यहाँ सर्भे गरेको कुरा बाहिर आएको छ । यस मामिलामा चिनियाँहरु हामीभन्दा पाको देखिए र हामी अप्ठेरो अवस्थामा परिसकेका छौं र हामी कमजोर देखिएका छौं ।’

उनले अब यो विषयलाई धेरै उछालेर भन्दा पनि सीमाको प्रोटोकल अनुसार दुवै मुलुकले सीमानाको संयुक्तरुपमा अनुगमन गरेर निक्र्याैल निकाल्नुपर्ने बताए ।

‘हामी दुई छिमेकी मुलुकहरु हौं, हाम्रोवीचमा सीमाको प्रोटोकल र अन्य दस्तावेजहरु रहेका छन्, संयुक्तरुपमा अनुगमन गरांै भनेर चीनलाई आग्रह गरेर समाधान गर्नुपर्छ ।’

तर, सरकारले भने हुम्लामा देखिएको सीमा विवादका सम्बन्धमा सन् २०१६ मा नै विस्तृतरुपमा अध्ययन भएको र अर्काे अध्ययनको आवश्यकता नदेखिएको बताउँदै आएको छ ।

यो पनि पढ्नुहोस कांग्रेसले भन्यो : हुम्लामा चीनले सीमा मिचेकै हो, सरकारको मौनता राष्ट्रघात

चीनले सीमा मिचेको हो अथवा होइन, यकिन छैन । तर, प्रश्न उठेपछि विज्ञ समूह बनाएर त्यहाँ पठाउनु सरकारको दायित्व हो । विवाद उत्पन्न यस अगाडि नै यस अगाडि नै काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई केही लागेमा पुनः जाँच गर्न सकिने बताइसकेको छ ।

नापी विभागका एक अधिकारी अब नेपाल र चीनको विचमा संयुक्त रुपमा नै जानुपर्ने अवस्था सिर्जना भएको बताउँछन् । उनले भने ‘चिनियाँ पक्षले आफ्नोतर्फबाट अवलोकन गरेको कुरा आयो, तर कन्भर्म गर्न संयुक्तरुपमा नै जानुपर्छ ।’

नेपाल र चीनको वीचमा सन् २००५ यता सीमाको संयुक्त अनुगमन भएको छैन । त्यसैले हुम्लामा मात्र होइन, नयाँ ठाउँमा पनि नियमित रुपमा अनुगमन गर्ने समय आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment