+
+

सरकारले सांसदलाई पनि आफूजस्तै बदनाम गराउन खोज्यो : प्रकाशमान

‘जनतालाई पीसीआर परीक्षण आफ्नै खर्चमा गर भन्नु निन्दनीय’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १०:१७

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकातिर जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् ।

सांसदहरुको खातामा दशैंभत्ता पठाइदिएर सरकारले सांसदहरुलाई जनताको नजरमा बदनाम गर्ने दुराशय राखेको नेता सिंहको आरोप छ । उनले यसविरुद्ध कांग्रेस उभिने पनि बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री सिंहले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ । महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य बनेका नेता सिंहले दशैंभत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने बताएका छन् । साथै नेपाली कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर आफूजस्तै सांसदहरुलाई पनि बदनाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन पनि उनले आग्रह गरेका छन् ।

अहिले विश्व नै कोरोना महामारीको मारमा रहेका बेला नेपाल पनि अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको भन्दै उनले सरकार असंवेदनशील बनेको भन्दै खेद प्रकट गरेका छन् ।

‘नागरिकहरु समस्यामा रहँदा सरकार आफ्नो जिम्मेवारीबाट भाग्ने र अनुत्तरदायी बन्ने बाटोमा अग्रसर छ,’ नेता सिंहले भनेका छन्, कांग्रेसले संसदमा नै सरकारलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गरेको र त्यसका लागि आफूले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको सबैलाई थाहै छ । तर, सरकार समय छँदा गैरजिम्मेवार अभिव्यक्तिमै रुमल्लियो । कोरोना नियन्त्रणका नाममा करोडौं रकम अनियमिततामा समेत सरकार मुछियो ।’

जनता कोरोनासँग संघर्षमा रहँदा सरकारका मन्त्रीहरु मेडिकल सामाग्री खरिदका नाममा विचौलिया पोस्ने र कमिसनको चक्करमा रमाउने गरेको आरोप नेता सिंहले लगाएका छन् । ‘महामारीको यस्तो संकटपूर्ण बेलामा सरकार अत्यन्त अमानवीय र असंवेदनशील देखिएकोमा हामी खेद व्यक्त गर्न चाहन्छौं,’ नेता सिंहले भनेका छन् ।

विकास कि जनताको जीवन ? भन्ने प्रश्न आउँदा जनताको जीवन सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै उनले भनेका छन्, ‘१२ अर्ब सकिएको सरकारले हिसाब देखाउँदा जनताले सही काममा सो रकम खर्च भयो भनेर विश्वास गर्ने कुनै ठाउँ रहेन । न मेडिकल सामाग्री खरिद गरिएको छ । न त उपयुक्त आइसोलेसन वार्ड बन्यो । न त भेन्टिलेटर बनाइयो, न आइसियु वार्ड नै थपिएको छ । जनताले करिब दुई तिहाइ मत दिएर बनेको सरकार इतिहासमै जनताप्रति गैरजिम्मेवार सरकारका रुपमा स्थापित हुन पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?