+
+

दशगजाको दह नाघेर जोगबनी, रातिमा खोलैखोला तस्करी

हरि अधिकारी हरि अधिकारी
२०७७ कात्तिक ४ गते ७:४९

४ कात्तिक, बिराटनगर । बिराटनगरसँग जोडिएको सीमावर्ती नाका सिल छ । तर भारतको जोगबनी आउ–जाउ गर्नेको संख्या घटेको छैन । बिराटनगर रानी भन्सार नाका सिल भएपनि चोरबाटो हुँदै तस्करी बढ्दो छ ।

मुख्य नाका सिल भएका कारण तस्करी गर्ने र दैनिक उपभोग्य सामाग्री खरिद गर्नेहरु जोखिम मोलेर जोगबनी पुग्ने गरेको प्रहरी बताउँछ ।

बिराटनगरको सीमावर्ती क्षेत्र दरैया बस्तीको दशजगा क्षेत्रमा पानी जमेको दह छ ।  किनमेलका लागि पुग्नेहरु दह पार गरेर जाने गरेका छन् । इस्लामपुरबस्तीबाट पनि किनमेलका लागि पुग्ने गरेका छन् ।

पछिल्लो समय दिउँसो महिला र रातिको समयमा पुरुष तस्करीमा सक्रिय रहेको प्रहरी बताउँछन् । ‘दिउँसो महिलाले सानो–सानो पोकामा सामाग्री लिएर आउँछन् ।’ सीमा क्षेत्रमा खटिएका प्रहरी भन्छन, ‘खुला सीमा छ । एकातर्फबाट रोके अर्काे तर्फबाट जान्छन् ।’

दरैया दशगजामा पानी जमेको दह पार गर्दै जोगबनी पुग्नेहरु सोही बाटो हुँदै नेपाल फर्कन्छन् । सिटी सफारी रिजर्भ गरेर पुग्नेहरु दह छिचोल्दै ल्याएको सामान सफारीमा लिएर फर्कन्छन् ।

बिराटनगरको तुलनामा जोगबनीमा दैनिक उपभोग्य सामाग्री सस्तो छ । नेपालमा प्रतिकिलो ७५ देखि ८० रुपैयाँसम्म पर्ने चिनी जोगबनीमा ६५ रुपैयाँमा पाइने किनमेलका लागि पुग्नेहरुले बताए । जोगबनीमा चिनी ६५, प्याज ६०, लसुन १ सय २०, तेल १ सय ५० को दरले पाउने उनीहरुको भनाइ छ । ‘सस्तो पाइने भन्दै पारी गएर सामान किन्नेहरु धेरै छन्,’ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा भन्छन्, ‘फर्कदा तरकारीहरु बोकेर आउँछन्, पारी जान खोज्नेलाई रोक्छौं ।’

सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि प्रहरीले स्वीप अप्रेसउन चलाएको उनले बताए । रातिको समयमा नाका क्षेत्रमा शंकास्पद गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिइने उनले बताए ।

खोलैखोला तस्करी

सीमावर्ती क्षेत्रमा प्रहरीले कडाइ गर्न थालेपछि खोला किनारको बाटोबाट तस्करी हुने गरेको पाइएको छ । केशलीया खोला किनार हुँदै तस्करी हुने गरेको प्रहरीले फेला पारेको छ । शनिबार राति करिब ११ बजे सशस्त्र प्रहरीको टोलीले खोला किनारबाट तस्करीको सामान बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) बखरीको टोलीले नौ लाख २१ हजार तीन सय रुपैयाँ बराबरको तस्करीको कपडा  केशलीया खोला किनारबाट बरामद गरेको हो ।

राति करिब १२ बजे केशलीया नजिकैको उखुबारी हुँदै बोरामा प्याक गरेर भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा कपडा नियन्त्रणमा लिइएको बिओपी बखरीका सई बुद्धिमान तामाङले जानकारी दिए । गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देखेपछि तस्करीमा संलग्नहरु कपडाका बोरा फ्यालेर भागेको प्रहरीले बताएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?