Comments Add Comment

चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीमा कुटाकुट

५ कात्तिक, काठमाडौं । चीन र ताइवानको बीचमा अहिले तनाव बढिरहेको अवस्थामा फिजीमा भने यी दुई मुलुकका कूटनीतिज्ञबीच कुटाकुट भएको समाचार सार्वजनिक भएको छ ।

ताइवानका अनुसार अक्टोबर ८ मा फिजीमा ताइवानको व्यापार कार्यालयले ताइवानको राष्ट्रिय दिवसको अवसरमा एक होटलमा करिब एक सय पाहुनाहरुको लागि एक रिसेप्सन पार्टी आयोजना गरेको थियो । यो कार्यालयलाई फिजीमा ताइवानको दूतावासजस्तै मानिन्छ ।

ताइवानले कार्यक्रममा चिनियाँ दूतावासका दुई अधिकारी नबोलाइकन नै उक्त कार्यक्रममा गएको आरोप लगाएको छ । उक्त कार्यक्रममा पुगेका चिनियाँ अधिकारीले मानिसहरुको तस्वीर खिच्न र अतिथिहरुको बारेमा जानकारी संकलन गर्न थालेको ताइवानको दाबी छ ।

त्यसपछि ताइवानका अधिकारीहरुले उनीहरुलाई कार्यक्रमबाट बाहिर जान आग्रह गर्दा उनीहरु आक्रमणमा उत्रिएको र यो घटनामा आफ्ना कूटनीतिज्ञको टाउकोमा चोट लागेको ताइवानले बताएको छ । दुवै पक्षले उक्त झडपको क्रममा आफ्ना अधिकारीहरु घाइते भएको बताएका छन् । दुवैले फिजीको प्रहरीसँग घटनाको अनुसन्धानको माग गरेका छन् ।

चीनले भने ताइवानको दाबी गलत रहेको बताएको छ । ताइवानले यो कार्यक्रम होटलमा नभई एक सार्वजनिक स्थलमा गरेको र आफ्ना अधिकारीहरु ड्युटीमा रहेको बताएको छ । ताइवानका अधिकारीले आफ्ना अधिकारीहरुलाई भड्काउने काम गरेको र उनीहरुलाई आक्रमण गरी घाइते बनाएको आरोप लगाएको छ ।

चीनले ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ । तर, फिजीमा ताइवानले आफ्नै झण्डाको प्रयोग गरेको र आफ्नै झण्डाअंकित केक तयार पारिएको भन्दै यो कार्य गलत रहेको चीनको बुझाइ छ ।

पछिल्लो समय चीन र ताइवानको सम्बन्ध थप चिसिएको छ । चीनको अमेरिकासँगको तनावपूर्ण सम्बन्धले चीन ताइवानप्रति थप आक्रामक बनेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment