Comments Add Comment

गौतम बुद्ध अन्तर्राराष्ट्रिय रंगशालाको काम दसैँमा पनि नरोकिने

६, कात्तिक, चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको काम दसैँ विदामा पनि निरन्तर चल्ने भएको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनका अनुसार दसैँंको समयमा करिव १ सय ५० जना कामदार निर्माणमा खटिनेछन् ।

अध्यक्ष सीताराम कट्टेल धुर्मसले कामदारको चाहनाअनुसार नै दसैँको अवधिमा पनि काम गर्न लागिएको बताए । ‘हामीसँग भएका कामदारमध्ये कतिपय दसैँंका लागि घर जानुहुन्छ । अहिलेको परिस्थिति र निर्माण कार्यको अवस्थालाई मध्यनजर राख्दै सबैसँग प्रतिक्रिया माग्दा धेरै जसोले रंगशाला उभ्याएर मात्रै घर जाने बताएपछि काम सञ्चालन गर्न लागिएको हो,’ कट्टेलले भने ।

रंगशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरूलाई टीका लगाएर यहीँ दसैँं मनाउने धुर्मसले बताए ।

२०७६ चैत ११ गते लकडाउन सुरु भएपछि करिब डेढ महिना काम रोकिए पनि २०७७ वैशाख २० गतेदेखि ३० जना कामदारबाट निर्माणको काम पुनः सुरु गरेको थियो । अहिले २ सय ३३ जना मजदुर कार्यरत छन् ।

रंगशालाको ३ सय ६० वटा पिल्लरमध्ये २ सय वटा पिल्लर ठड्याइसकिएको छ ।

स्टान्ड ‘ए’ मा सबै पिल्लर (१ सय ३५ वटा) राखिसकिएको छ । यहाँ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड ‘बी’मा ६५ वटा पिल्लर उठेको छ र बाँकीको काम अन्तिम चरणमा पुगेको छ ।

परियोजना व्यवस्थापक जनार्दन शर्माका अनुसार रंगशालाको दुई स्टान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै, टाइवीमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्न भइसकेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमण, आवश्यक मालसामाग्रीहरुको अभाव, कामदारहरुको समस्या, बर्खा र निरन्तरको झरीका बावदुद पनि रंगशालाको काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।

हालसम्म ३० करोड ५५ लाख खर्च

रंगशाला निर्माणमा अहिलेसम्म २४ करोड १४ लाख ६० हजार रकमको आर्थिक स्रोत जुटेको छ ।

निर्माणमा असोज मसान्तसम्म ३० करोड ५५ लाख १२ हजार रकम खर्च भएको फाउण्डेशनका आर्थिक प्रशासन प्रमुख मुक्ति तिमल्सिनाले जानकारी दिए । यसो हुँदा फाउण्डेशन अझै ६ करोड ४० लाख ५२ हजार ऋणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment