 
																			७ कात्तिक, चितवन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट निस्कनेवित्तिकै एक बच्चासहितको गैंडामा जो कोहीको पनि झट्ट आँखा पुग्छ । विश्वकै दुर्लभ मानिने एकसिङ्गे गैंडाको प्रतिमूर्तिले विमानस्थल भएर नेपाल आउने पर्यटकलाई नेपालको पहिचान र गरिमा झल्काउँछ । प्रस्थान कक्षमा जानुअघि रुखमा चढेको बच्चासहितको रेडपाण्डाको जोडीको प्रतिमूर्ति छ । त्यसले फेरि पनि नेपाल आउन अभिप्रेरित गरे जस्तो लाग्छ ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर विमानस्थलको प्रस्थान र आगमन कक्षमा राखिएका बच्चासहितको रेडपाण्डाको जोडी र ‘केटो’ सहितको गैंडाको मूर्ति कसले बनाएको होला भन्ने प्रश्न धेरैको मनमा उठ्न सक्छ । हेर्दा दुरूस्तै र वास्तविक लाग्ने प्रतिमूर्ति चितवनका कलासाधक सूर्य मध्यरातको सिर्जना हुन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. ९ बस्ने सूर्य मध्यरात हात्ती, गैंडा, बाघ, चितुवा, रेड पाण्डा, बाह्रसिङ्गे लगायतका प्रतिमूर्ति बनाउन पोख्त छन् । पछिल्लो समयमा उनले आफूले बनाएका मूर्तिमा नाम लेख्न पनि छाडेका छन् । नामप्रति उनलाई त्यति धेरै मोह र चाख छैन । विमानस्थलमा राखिएका मूर्तिहरु देखेर चिनेका साथीहरुले बेलाबखत फोन गरेर उत्साह भर्ने गरेको उनी सुनाउँछन् ।
बुटिक विमानस्थल बनाउने अभियानका क्रममा १० लाख रुपैयाँमा मध्यरातले यी मूर्तिहरू बनाएका हुन् । उनको कला ‘भट्टी’बाट जन्मिएका यस्ता प्रतिमूर्तिहरू चितवनका विभिन्न स्थान, सामुदायिक वन, होटल लगायतका क्षेत्रमा देख्न सकिन्छ । पछिल्ला वर्षहरुमा व्यवसायिक रूपमा प्रतिमा बनाउने काममा तल्लिन छन्, सूर्य ।
उदयपुरको गाईघाटको ज्ञानविज्ञान पार्कमा रहेको १० फिट उचाइको श्रमिक बुद्ध, इटहरीको काव्यवाटिकामा रहेको हजारौं वर्षपछिको मान्छेको परिकल्पना गरी बनाइएको अर्धकदको मूर्ति, पोखराको सेती खोंचमा परेकी बालिकाको सकुशल उद्धार गर्ने व्यक्तिको मूर्ति उनका चर्चित सिर्जनाहरु हुन् । उनले बनाएको बाह्रसिङ्गेको मूर्ति शुक्लाफाँटा वन्यजन्तु आरक्षमा र रेड पाण्डाको जोडी सगरमाथा राष्ट्रिय निकुञ्जमा पनि राखिएका छन् ।
हालै दाङको तुलसीपुरमा पाँच महिना लगाएर २५ लाख लागतमा बुद्धको मूर्ति तयार गरे । ‘अहिलेसम्म तीन सय बढी ठूला मूर्ति बनाएँ, तर सबैभन्दा ठूलो र धेरै रकम लिएर बनाएको तुलसीपुरको बुद्धमूर्ति हो,’ उनले भने । कुनै–कुनै मूर्ति छिटोमा आधा घण्टाभित्र तयार हुने र कुनै एउटै मूर्ति बनाउन पाँच महिनासम्म पनि लाग्ने उनी बताउँछन् ।
चितवनको भरतपुरमा पूर्वपश्चिम राजमार्ग नजिकै उनको सम्पर्क कार्यालय छ । भरतपुरकै रामबेल सामुदायिक वनको कार्यालय नजिक वर्कसप छ । ठूला–ठूला जंगली जनावरहरु उनी यहीँ तयार पार्छन् । ‘एकान्त र जंगलको छेउ भएकाले शान्तसँग काम गर्न रामबेलमा रमाउँछु,’ सूर्य मध्यरात भन्छन् ।
विभिन्न शहिद तथा चर्चित व्यक्तिहरूका शालिक बनाउन पनि उत्तिकै पोख्त छन् उनी । ‘यस्तोमा मूर्ति बनाउनभन्दा अध्ययनमा बढी समय खर्च हुन्छ,’ उनले अनुभव साटे ।
सूर्यलाई उनकै श्रीमती चन्द्रा केसीले सघाउँछिन् । चन्द्राले श्रीमानको कामलाई सघाएकी मात्रै छैनन् श्रीमानको सफलता, चर्चा र परिचर्चाको एक हिस्सेदार पनि हुन् उनी । चन्द्राले पनि श्रीमानकै देखासिकी गर्दै धातु, सिमेन्ट र माटोका मूर्तिहरु सजिलै बनाउँछिन् ।
पछिल्ला समयहरुमा मूर्तिकलाप्रति मानिसहरुको आकर्षण र चासो बढ्दै गएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट पनि मूर्तिका गतिविधिहरु बढ्दै गएका छन् । ‘पछिल्लो समय व्यक्तिगत बगैंचामा समेत जंगली जनावर र भगवानका मूर्ति राख्ने क्रम सुरु भएको छ । सार्वजनिक स्थलहरुमा वन्यजन्तु संरक्षण गर्ने, राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने गरी मूर्तिहरु राखिनुपर्छ,’ सूर्य मध्यरात भन्छन् ।
उनलाई फाइबरको मूर्ति बनाउँदा सहयोग गर्ने पाँच जना, मूर्तिमा सहयोग गर्ने दुई जना र रंगमा दुई जनाले साथ दिन्छन् । पछिल्ला वर्षहरुमा काम गर्न भ्याइनभ्याइ छ । कतिपयलाई गर्न नभ्याउने भन्दै फर्काउनुपरेको छ । कतिपयले त मन्त्रीसमेतको सोर्सफोर्स लगाएर मूर्ति बनाउन दबाब दिन्छन् । ‘हालै रोल्पामा मन्त्रीको समेत सोर्सफोर्स आएपछि शहिदका दुई शालिक बनाएर पठाएँ,’ उनले सुनाए ।
मध्यरातको बाल्यकाल
चितवनको तत्कालीन अवस्थामा विकट मानिने माडीको अयोध्यापुरीमा झण्डै ४० वर्षअघि केसी परिवारमा जन्मिएका थिए, सूर्य । उनले पछि आफ्नो केसी थर हटाएर ‘मध्यरात’ राखे । मध्यरात राख्नुको कारण भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘एक त म मध्यरातमा जन्मिएको थिएँ, अर्को कुरा सूर्य सत्य हो भने रात पनि सत्य हो, सूर्य र मध्यरात हुँदा मात्रै दिन पूर्ण हुन्छ त्यसैले मध्यरात राखेँ ।’
मध्यरात आफूले थाहा पाउने उमेरदेखि नै मूर्तिकलामा आकर्षित भए । ढुंगा र छिनोसँग मितेरी गाँस्दै उनको बाल्यकाल बित्यो । मूर्तिकला के हो भन्ने त उनलाई पत्तो थिएन तर रूचि भने माटो, ढुंगा, गोबरसँग आकृति बनाएर खेल्नेमै हुन्थ्यो ।
समाजमा सिकर्मी–डकर्मीले गर्ने जस्तो काम गरेको भनेर धेरै पटक घरपरिवार र छिमेकीको गाली खाए । उनले गरिरहेको र रूचाएको कर्म न त अध्ययनको विषय थियो, न त खेतीबालीको काम नै । ‘ढुंगालाई आकृतिको आकार दिन छिनो लुकाएर खोलासम्म लैजान्थें । उतै लुकाउँथें,’ उनले विगत सम्झिए, ‘गाईवस्तु चराउने क्रममा खोलामा भुल्दा थुप्रैपटक गाली र कुटाइ खाएँ । किनभने म काममा मग्न हुँदा गाईबस्तुले अरुको खेतीबाली खाइदिन्थे ।’
लेख्न दिइएका कापीमा बाह्रखरीभन्दा विभिन्न जनावर र मान्छेका चित्र धेरै कोर्ने गरेको उनले स्मरण गरे । गाउँमा छँदा चित्र बनाएर एक साथीबाट पारिश्रमिक स्वरुप पहिलो पटक एक मोहर पाए । गणेशको मूर्ति बनाएर २० रुपैयाँ पाएको आज पनि उनलाई झल्झल्ती याद आउँछ ।
पढाइमा त्यति रूचि थिएन । २०५५ सालमा एसएलसी पूरक परीक्षामा पास गरे । पूरक परीक्षा दिएपछि खाली भएको समयमा गाउँमा नै काठमा काम गरे । उनी भन्छन्, ‘प्रकृतिमा केही समय रमाउने मौका मिल्यो, केही सिकेँ । छोराले पढ्ने भएन भन्ने चिन्ता परिवारलाई हुने नै भयो । जति भने पनि छोराले आफ्नो लय नछाडेपछि विस्तारै बाबुआमा र आफन्तले कर गर्न छाडे ।’
एसएलसी पास गरेपछि ललितकला क्याम्पस काठमाडौंमा भर्ना भए सूर्य । काम गर्दै, पढ्दै गरे । मूर्तिकलामा स्नातक गरेर चितवन फर्किने निधो गरे । २०६० सालमा अध्ययन पूरा गरी उदयपुर र इटहरीमा तालिम लिँदा मूर्ति बेचेर जीविकोपार्जन गर्न सकिँदैन कि भन्ने पनि लाग्यो । यो पेशा छाडेर अन्यत्रै लागौं की जस्तो पनि उनलाई नभएको होइन । कलाकीर्ति सोखको विषय मात्रै रहेछ भन्ने लाग्थ्यो । तर पछि उनले यसैलाई पेशा बनाउने निधो गरे ।
जब सेनाले थुन्यो
मध्यरातले बनाएका मूर्तिमध्ये ८० प्रतिशत वन्यजन्तुका छन् । माग पनि सोही अनुसारको आउँछ । उनको रुचि पनि यसमै छ । २०६१ सालमा चितवनमै केही गर्ने भनेर काठमाडौंबाट फर्किए । उनले पढ्दा वन्यजन्तुको मूर्ति बनाउने भनेर पढेका थिएनन् । तर, चितवनमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु पनि भएकाले केही रुचि भने थियो ।

सुरुमा गैंडाको मूर्ति बनाउने भन्दै सौराहाको प्रकृति संरक्षण कोषमा पुगे । तर, माओवादी युद्ध उत्कर्षमा पुगेको बेला कपाल पालेर आएको देखेपछि सेनाले पक्राउ गरेर थुन्यो । केही दिनपछि छोड्यो । त्यसपछि चितवन महोत्सवमा निःशुल्क गैंडाको मूर्ति बनाउने प्रस्ताव गरे । पास भयो र बनाए । महोत्सवले गैंडा लगायतका जंगली जनावरको संरक्षणको नारा तय गरेको थियो । उनले बनाएर राखेको सक्कली जस्तै देखिने गैंडा चितवन महोत्सवको आकर्षणको केन्द्र बन्यो । धेरै मानिसहरु गैंडाको मूर्तिसँग रमाए । सूर्य मध्यरातलाई पहिचान दिलायो ।
त्यसपछि उनले चितवनको घडगाईमा बाघको मूर्ति बनाए । पर्सा वन्यजन्तु आरक्षमा हात्ती जोन भएकाले हात्ती संरक्षणका लागि भन्दै हात्ती बनाए । पोखरा वनविज्ञान अध्ययन संस्थानमा चितुवाको मूर्ति बनाएर पठाए । पर्यटकीय गतिविधि हुने ठाउँमा उनले बनाएको वन्यजन्तुको प्रतिमा एउटा न एउटा राख्ने गरेको पाइन्छ । उनले हरिण, गोही, माछाको समेत मूर्ति बनाउने गरेका छन् । उनले यो बीचमा ५० जना जतिलाई मूर्तिकला सम्बन्धी तालिम पनि दिएका छन् । १५ जना जतिले व्यवसायिकरुपमा नै काम गरिरहेका छन् ।
कसरी बन्छन् विशाल र आकर्षक मूर्ति ?
मध्यरातले २०६३ चितवन महोत्सवका लागि बनाएको गैंडा र बाघले धेरै चर्चा पाएको थियो । त्यसपछि उनलाई धेरैले चिन्ने मौका पाए । यस्तै २०६५ सालमा एक महिना लगाएर एक्लैले बाघ बनाए । टिकौली जंगलमा बीसहजारी तालको प्रवेशद्वारमा बनाइएका मूर्तिहरू, नजिकैको बच्चासहितको गैंडा उनैले बनाएका हुन् ।
मूर्ति फाइबर, धातु, सिमेन्ट र ढुंगाको बनाउने गरिन्छ । ढुंगामा कुदेर बनाइएका मूर्ति टिकाउ हुन्छ । फाइबर र धातु प्रयोग गरी बनाइएका मूर्ति ओसारपसार गर्न सहज हुन्छ ।
मूर्ति कास्टिङ र कार्पिङ विधिबाट बनाइन्छ । कार्पिङभन्दा बढी कास्टिङ चल्छ । बनाउन सजिलो पनि हुन्छ । कास्टिङमा माटोको डाइ बनाएर ग्राहकको माग अनुसार सिमेन्ट, फाइबर वा मेटलमा बनाइन्छ । डाइ तयार गरेपछि हात्ती बनाउन २० दिन लाग्छ भने, बाघ, गैंडा १५ दिनमा तयार हुन्छ ।

कार्पिङ विधि भनेको ढुंगा, काठ जेमा बनाउने हो, त्यसलाई खोपेर बनाउने गरिन्छ । पछिल्लोपटक कास्टिङ विधिबाट डाइ बनाएर तयार गरिएका फाइबरका मूर्तिहरु बढी जाने गरेका छन् । ठूला मूर्तिमा टुक्राटुक्रा जोड्न पनि मिल्छ । कम्प्याक्ट पनि हुन्छ । नारायणी नदी किनारमा राखिएको हात्तीको जोडी कम्प्याक्ट भएकाले यस वर्ष ठूलो बाढीले बगाउँदा पनि केही नभएको मध्यरात बताउँछन् ।
साना–साना मूर्ति र शालिकहरु भने सिमेन्टबाट बनाइन्छ । ढुंगामा बनाइएको मूर्तिको आयु सबैभन्दा लामो हुन्छ । त्यसपछि धातु, सिमेन्ट र फाइबरका मूर्ति टिक्छन् । बाक्लो लेयर भएमा फाइबरका मूर्ति पनि ५०÷६० वर्ष टिक्ने सूर्यको दावी छ । उनका अनुसार ढुंगाको अभाव छ । त्यसैले ढुंगा कुँदेर निकै कम मूर्ति बन्ने उनी बताउँछन् ।
‘मृत्युअघि नै व्यक्तिको शालिक बनाउँदा राम्रो’
मृत्युपछि मात्रै ठूला व्यक्तिहरूको शालिक बनाउने चलन नेपालमा छ । तर, मरेका व्यक्तिहरूको भन्दा जिउँदा व्यक्तिहरूको शालिक बनाउँदा बढी जीवन्त हुने सूर्य बताउँछन् ।
‘जिउँदो व्यक्तिलाई अगाडि राखेर मूर्ति बनाउन पाए, ९५ प्रतिशत हुबहु उतार्न सकिन्छ,’ उनी भन्छन्, ‘आकस्मिक मृत्यु भएका व्यक्तिको हकमा एउटा कुरा होला, तर फोटो हेरेर बनाउँदा आँखाको गहिराइ र डिल, गालाको बाक्लोपना, कानको भाग, खत, मुख, नाकको डेप्थ बनाउन गाह्रो हुन्छ, फोटोमा करिब ५० प्रतिशत मात्रै मिल्छ ।’
राम्रा र समाजमा योगदान दिएका व्यक्तिहरूको मृत्युअघि नै मूर्ति बनाउँदा राम्रो हुने उनको सुझाव छ ।
फोटोमाथि काम गर्न उनलाई त्यति जाँगर चल्दैन । ‘व्यक्तित्व माथि प्रवेश गरेर ब्यक्तित्व चिनेपछि मूर्तिमा जीवन्तता आउँछ,’ उनी भन्छन् ।
मूर्तिकलाबाट उकासिएको जीवन
काठमाडौंबाट माडी फर्किएर केही गर्ने अभिलाषासहित सदरमुकाम भरतपुर आएका सूर्य मध्यरातसँग कोठा भाडा तिर्ने पनि पैसा हुँदैनथ्यो । त्यतिबेला शहरी क्षेत्रमा भाडा महंगो भएकाले सस्तो कोठा खोज्दै गोन्द्राङ पुगे । चरम अभाव र गरिबीबाट परिवार पिल्सिएको थियो । ‘एकातिर चितवन महोत्सवमा निःशुल्क डेढ लाखको गैंडाको मूर्ति बनाएको थिएँ, तर मसँग यता कोठा भाडा तिर्ने पैसा पनि थिएन,’ उनले विगत सम्झिए, ‘मैले पाँच–सात वर्ष निकै दुःख पाएँ, कहिलेकाँही निकै फ्रस्टेट हुन्थेँ, यो काम गरेर खाइला जस्तो लाग्दैनथ्यो, अरु काममा रुचि थिएन, कि गाउँ फर्किनुपर्ने कि विदेश जानुबाहेकको विकल्प देखेको थिएन ।’
तर समय सधंै एकनास रहेन । पछिल्लो ७ वर्षयता मध्यरातले जीवनमा पछाडि फर्किएर हेर्नुपरेको छैन । उनले नामसँगै दाम पनि कमाएका छन् । उनले करोडौंको सम्पति यसैबाट जोडेका छन् । भरतपुर वडा नं. १२ मा ८ धुर जग्गा जोडेका उनले पूर्वपश्चिम राजमार्ग नजिकै तीन वर्षअघि ७० लाखमा किनेको १० धुर जग्गामा ७० लाख बढी खर्च गरेर तीनतले घर ठड्याएका छन् । घरको काम अझै बाँकी छ तर एक सुको ऋण छैन ।

नयाँ घरको भुइँ तलामा मूर्तिकलाको वर्कसप, अफिस तथा ध्यान कक्ष र पहिलो तलामा मूर्तिकलाको म्यूजियम बनाउने योजना छ उनको । मध्यरातले घरको छतमा फाइबरबाट बनेको १८ फिट अग्लो बुद्धकोे मूर्ति बनाएका छन् । पूर्वपश्चिम राजमार्गबाट उनको घरको छतमा बुद्धमूर्ति सजिलै देख्न सकिन्छ । त्यही बुद्धमूर्ति अगाडि बसेर विपश्यना ध्यान र योग गर्ने सोच छ उनको ।
सरदर महिनामा एउटा मूर्ति बनाउने मध्यरातले मूर्ति बनाएर वर्षमा २० देखि २५ लाखसम्म कमाउने गरेको सुनाए । घर वा सार्वजनिक स्थानमा राखिने देवीदेवताका मूर्ति बनाएको २ हजारदेखि ५ हजारसम्म लिन्छन् । आरसीसी गरिएका अर्धकदको शालिक ५० हजारदेखि एक लाखसम्म, ढुंगा कुदेर बनाइएका मूर्तिको करिब दुई लाखसम्म लिन्छन् । बाघ, गैंडा, हात्तीको डेढ लाखदेखि ५ लाखसम्म लिने गरेको मध्यरातले बताए ।
ओशो विचारबाट नवसन्यास दीक्षित भएका मध्यरात योग र ध्यान पनि गर्छन् । अरुलाई सिकाउँछन् । ओशो विचारबाट नै जीवनमा सफलता हात लागेको तर्क उनको छ । उनी भन्छन्, ‘म त झण्डै फ्रस्टेट जस्तै भएर हिँड्न लागेको थिएँ, नवसन्यास दीक्षित भएपछि केही कुराको ज्ञान आयो, अन्य भाषामा सन्यास भनेको अब केही नगर्ने भन्ने रहेछ, तर ओशो विचारमा नयाँ चीजको सुरुवात भन्ने अर्थ लाग्छ ।’ उनी हरेक दिन दिनको डेढ घण्टा ओशोको ध्यान गर्छन् ।
मध्यरातका केही चाहनाहरु छन् । उनलाई युगयुगसम्म बाँचिरहने खालका मूर्तिहरु बनाउने धोको छ । ‘हजारौं शब्दहरूले बोल्नु पर्ने कुरा एकै मूर्तिबाट व्यक्त गर्न सकिन्छ, कयौं महत्व बोक्ने सजीव÷निर्जीव बस्तुहरुका आकृतिलाई चीरकालपर्यन्त जन्माउन सकिन्छ,’ उनी भन्छन्, ‘देशका लागि अझै केही गर्न सकौं ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4