Comments Add Comment
दसैं–विमर्श :

‘यो दसैंलाई घरमै सीमित गरौं’

‘यो साल टीका थाप्न नजाऔं, अरूलाई पनि नबोलाऔं’

म पाँचथरमा जन्मे–हुर्केको मान्छे । लिम्बू बहुल भए पनि पाँचथर मिश्रित आवादी भएको ठाउँ हो । केटाकेटी छँदा मिठो–मिठो (मासुभात) खान पाइने, नयाँ लुगा लाउन पाइने भनेर मैले दसैं मानें । पछि यो बाध्यात्मक हो भन्ने थाहा पाएँ । तर, हाम्रो मिश्रित बनोटको समाजमा परस्पर सद्भाव कायम राख्नैपर्ने हुन्छ । त्यसका लागि सहिष्णुता आवश्यक पर्छ । त्यसैले नेपालीको पर्वका रुपमा मैले दसैं मान्दै आएको छु ।

दसैं मूलतः हिन्दू चाड भए पनि नेपालमा यो बौद्ध, किराती सबैको भएको छ । अहिले त राज्यले सबैको चाडपर्वमा राष्ट्रिय बिदा दिएर आफ्नो चाड मनाऊ भनेको अवस्था पनि छ ।

पृथ्वीनारायण शाहले नेपाललाई एक बनाएयता दसैं सबै जातजातिले मनाउँदै आएका छन् भन्दा अत्युक्ति हुँदैन । फेरि यहीबेला सरकारी सांस्कृतिक अनुष्ठानहरू गर्ने चलन चल्दै गएपछि राज्य तहबाट हर्षबढाइँ इत्यादि हुन थाल्यो । यसो हुँदा अरू संस्कृतिका मानिसहरूले पनि यसलाई देखासिकीमा मान्न थाले । कति ठाउँमा भने सरकार वा राज्यले मान्न लगायो । मानिसहरूको मनस्थिति चाडपर्व केन्द्रित हुन्छ । एक किसिमको माहोल बनेपछि कतिले रहर मानेर आफैं मनाए होलान् । यसरी यो व्यापक भयो ।

इतिहासमा यो चाड जनजातिमा लादिएकै हो । यो कुरा मैले लिम्बू जातिको प्रसङ्गमा भनेको हुँ । गोरखालीको विजयपछि राज्यले एकात्मक नीति लिँदा सबैले सबैलाई परस्परमा सम्मान गर्दै बाँच्नुपर्ने दिन आयो । यसरी एक–अर्काको चाडवाडप्रति सद्भाव–सहिष्णुता राख्ने नेपाली संस्कृति पनि बन्यो ।

चाडबाडहरू पनि समयसापेक्ष हुन्छन् । नयाँ पुस्ताले दसैंको समाजशास्त्र मात्र होइन, सांस्कृतिक सम्बन्ध पनि बिर्सनु हुँदैन । संस्कृतिकै रुपमा नेपाली समाजमा दसैं स्थापित भएको हो ।

पहिले नेपाल राज्यले जनजातिको संस्कृति दबाएको हुनाले उनीहरूले आफ्नो चाडपर्व खुलेर मनाउने अवस्था थिएन । अहिले आ–आफ्नो पहिचान, संस्कृति, परम्परा बचाउन, देशको विविधता संरक्षण–संवद्र्धन गर्न राज्यले नै प्रोत्साहन गरेको अवस्था छ ।

देशका सबै जातजातिका चाडपर्वहरूको उत्तिकै महत्त्व छ । दसैंको जस्तै ईद, चासोक, साकेवा अथवा माघीको पनि महत्त्व उस्तै छ । यी चाडहरू मान्न त छुट्टीको आवश्यकता हुन्छ, छुट्टी पाइसकेपछि त सबैले धुमधामले मान्ने नै भए । तर अन्य चाडको सन्दर्भमा बिदा एकदिन वा दुई दिनमात्र हुने गर्छ ।

राजनीतिक हिसाबले हामी सबै नेपाल देशका नागरिक हौं । हामी नेपाली राष्ट्रियतामा आवद्ध छौं । विविध संस्कृति अनुसरण गर्ने नागरिक रहेको नेपालको राष्ट्रिय संस्कृति सबै संस्कृतिको एकमुष्ट योगबाट बनिरहेको छ ।

सबै संस्कृतिलाई नेपाली संस्कृति मानियोस् भन्ने चाहने हो भने हामीले एकअर्काको संस्कृतिलाई सम्मान गर्नैपर्छ । नेपालको संस्कृति सबै संस्कृतिको एकमुष्ट योग मिलेर बन्नुपर्छ । कुनै ठूलो समूहको संस्कृतिमात्र राष्ट्रिय संस्कृति नहोस्, सबै संस्कृतिलाई नेपाली संस्कृति मानियोस् भनेर चाहने हो भने हामीले एक अर्काको संस्कृतिलाई सम्मान गर्नु आवश्यक छ । अरूको संस्कृतिलाई सम्मान संस्कृतिले नै हामी नेपालीलाई सुदुर भविष्यसम्म अविभाजित यात्रा गराउन सक्छ ।

भूमि विस्तारका क्रममा गोरखालीहरूले काठमाडौं जिते । नेवारहरूको नाक–कान काटे, राईहरूलाई पेट घोची–घोची मारे, लिम्बूहरूलाई खेदे । तर, यो त इतिहाससँग सम्बन्धित कुरा हो ।

पृथ्वीनारायण शाहको विजयपछिको नयाँ नेपालमा नागरिक स्तरमा हामी सबै मिलेरै बस्यौं । एकअर्कामा गहिरो गरी अन्तरसम्बन्धित भयौं । कतिपय चाडपर्व र संस्कृतिलाई साझा मानेर हर्षबढाइँ ग¥र्यौं । दसैं यसरी नै मनाइँदैछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा दसैंको बेला थुप्रै साहित्यिक–सांगीतिक संगोष्ठीहरू हुन थालेका छन् । कतिले रमाउँदै दसैंको कविता सुनाउँछन् । कोही दसैंले टाट पल्टायो भनेर सामाजिक कथा–उपन्यास लेख्न सुरिन्छन् । दसैंले दिएको सुख र दुःखबारे साहित्यमा थुप्रै लेखिएका छन् । पौराणिक कथालाई पनि जोडेर लेखिएका छन् ।

यसपटक कोरोनाले बिथोलेको छ, नत्र साहित्यिक–सांगीतिक संगोष्ठी भनेपछि भव्य भेटघाट र शुभकामना आदान–प्रदान हुन्थ्यो । यो त दसैंले ल्याउने रहरलाग्दो नयाँपनसहितको भव्य कुरा हो ।

फेरि, नेपालमा ठूलो जनसंख्या हिन्दूहरूको छ । यो कारणले पनि नेपालमा मनाइने चाडपर्वमध्ये दसैं बढी व्यापक हुने नै भयो । यसको सामाजिक प्रभाव पनि फराकिलो देखिने भयो ।

चाडबाडहरू पनि समयसापेक्ष हुन्छन् । नयाँ पुस्ताले दसैंको समाजशास्त्र मात्र होइन, सांस्कृतिक सम्बन्ध पनि बिर्सनु हुँदैन । संस्कृतिकै रुपमा नेपाली समाजमा दसैं स्थापित भएको हो ।

विगत बिर्सियो भने वर्तमान सग्लो रहँदैन । विगतमात्र सम्झेर बस्दा वर्तमान सबल हुँदैन । नेपाल राज्यले पनि मुलुकभित्रको सबै धर्म–संस्कृतिप्रतिको समदृष्टिलाई अझ फराकिलो पार्नुपर्छ । त्यसपछिमात्र हाम्रो जीवनका सबै पक्ष उज्यालो हुन सक्छ ।

यो साल कोरोना भाइरसले दसैं बिगारेको छ । दसैं अघिका साकेला, ईद लगायतका चाडबाड र काठमाडौं उपत्यकाका अनेक जात्रा–पर्व मनाउन दिएन । अब तिहार, छठ हुँदै कहाँसम्म बिगार्ने हो अनिश्चय छ ।

कोरोना कहरकैबीच पनि दसैं मनाउन थालेका छौं । यसक्रममा अधिक स्वास्थ्य सावधानी अपनाऔं । टीका समारोहलाई परिवारमा सीमित गरौं । यो साल टीका थाप्न नजाऔं, अरूलाई पनि नबोलाऔं ।

सबैमा दसैं शुभकामना !

(वरिष्ठ कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलासँग गरिएको कुराकानीको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment