Comments Add Comment
कथा :

आधा परिचय 

म मुस्कुराएँ, उनी पनि मुस्कुराइन् । हाम्रा दुई भिन्न ओठबाट बिहानको खाजा समयमा साटिए दुई मुस्कान । आधा अनुहार मास्कले छोपिएपछि मुस्कान छुटेको या नछुटेको केवल अनुमान गर्न सकिन्छ । हामी बिहान खाजा खाउन्जेलमात्र मास्क खोल्न पाउँछौं ।

दिनभर मास्कले टालेको टाल्यै हुने हाम्रा ओठमा मुस्कानभन्दा बढी थकानका सुस्केराहरू गुम्सिन्छन् । म र लिली दुई भिन्न देशबाट ल्याएर एकै मेलोमा नारेको एसियन गोरूजस्तो कामदार । नर्सिङ नामको मेलोमा नारिएका दुई गोरु, जसको पछाडि सिर्कना बोक्ने हली भने छैन ।

हामी आ–आफ्नो चिया–खाजा बोकेर एउटा टेबलको दुईपट्टि बसेका छौं । अर्को टेबलमा केही स्टाफ गफिइरहेका छन् । यता हामी भने खाजा खाँदाखाँदै आ–आफ्नो फोन निकालेर हेर्ने हतारमा छौं । फोनबाट हुने कामहरू अहिले २० मिनटभित्र भ्याउनु छ ।

कहिलेकाहीँ लिली आफ्नो बज्यैसंग बोल्दाबोल्दै २० मिनेट सिध्याउँछिन् र टेबुलमा चिसिएको चिया चुपचाप हात धुने सिङ्कमा खन्याएर उदास बन्छिन् ।

म हतार–हतार फेसबुकमा कमिलाझैं ताँती लागेका मेसेजहरू हेर्छु । सबैको जवाफ लेख्न त कहिल्यै भ्याउनु छैन । सोच्छु– यो कस्तो व्यस्तता हो ? रेलजस्तो कतै माटो नछोई फलामको लिकमा कुदेरै जिन्दगी बाँच्नुपर्ने ? कमाएको पैसाले कहिल्यै नपुग्ने, होइन दुनियाँ नै महंगिएको हो ? मान्छेको आवश्यकता नै बढेको हो ? बुझिसक्नु छैन गाँठे !

जानु काम्बाङ लिम्बू

मेरो मनको गुनासो अनायसै मुखमा आएछ क्यार, लिलीले सोधिन्, ‘आर यु ओके ?’

म ठिकै छु भन्दै फेसबुकको इन्बक्स खोतल्न लागेँ ।

विदेशमा थाक्न पाइन्छ, आराम गर्न पाइन्न । आफ्नो केही काम नगर्न पाईन्छ, तर ड्युटी नगर्न पाइन्न । एकछिन मेलो खनेर थकित ज्यान बिसाउने चौतारी यहाँ छैन । खाजा लिएर आउने, औलको मेलो सकेर लेकको मकै भाँच्ने बेलासम्म आराम गर भन्ने बाजे–बोजु झन् हुने कुरै भएन । बस्, समयले मुठा बाँधेर लगातार रोपी रहन्छ छुपुछुपु असारे धानको गावाजस्तो हामीलाई ।

****

अघिदेखि फोन भाइब्रेट भइरहेको छ । हेरौं भन्छु फुर्सद छैन । औषधीको ट्रली तानेर आउंदै गरेको स्टाफ नर्सलाई करिडोरमा देख्नासाथ एकछिन ट्वाइलेट जाने अनुमति माग्छु ।

‘ओके माई डियर, हरि अप…।’

मनमा रिसराग, पीर–व्यथा भए पनि बाहिर नदेखाउने विदेशीहरूको लोभलाग्दो बानी हुन्छ । ‘थ्याङ्क्स’ भन्दै छिर्छु ट्वाइलेटमा ।

इनबक्समा मिक्स खालको मेसेजहरूले कुरिरहेका छन् । नयाँमा पहिलो मेसेज दिदीको हेर्छु– म काठमाडौं आएको छु खर्च हालिदे है !

त्यसपछि अपरिचित पुरुषको मेसेज खोल्छु– सेवारो बहिनी, के छ हालखबर ?

तेस्रोमा छोरीको मेसेज हेर्छु– मम्मी, मलाई एपलको आइप्याड चाहियो !

समय सकियो तीनवटा मेसेज हेरिसक्दा । कमोडबाट जुरुक्क उठ्छु, युनिफर्म तानाक्तुनुक पार्छु र लाग्छु वार्डतिर ।

लिली वार्डमा फोनको रिसिभर कानले थिचेर सुन्दै लेखिरहेकी छन् । अन्य स्टाफ वरपर दौडादैड गरिरहेका छन् । भिजिटरहरूको भिड छ, करिडोरमा पनि ।

‘हेल्लो आन ?’

कागजको गिलासमा तात्तातो कफी बोकेर लगभग दौडँदै गरेको रिसेप्सनिस्टलाई देखेर बोलाउँछु र मतिर हेर्दै मास्कभित्र उनी मुस्कुराएको अनुमान म गर्छु ।

आन पनि युकेमा हामीजस्तै विदेशी हुन्, तर युरोपकै । उनी सिंगल मम्म हुन् । एक छोरा, एक छोरी छन्– फरक बाउका । उनी मौका पाउनासाथ आफ्नो जीवन कहानी निर्धक्क सुनाउँछिन् । सुरुमा अनौठो लाग्ने यस्ता कुरा साधारण लाग्छ अचेल हामीलाई पनि ।

निको हुँदै गरेकी मिसेज मलहोत्रा आफैं ह्विलचियर गुडाउँदै आइपुग्छिन् । उनी करिडोर र लवितिर गुडेर डिस्चार्ज हुने दिन नजिक पारिरहेकी हाम्रा बिरामी हुन् ।

जब उनी स्कुल जान थालिन्, त्यहाँ सबै साथीका जोडी बाबा–आमा भएको थाहा पाइन् । साथीहरूको परिचय बाबुसँग पनि जोडिएको हुन्थ्यो । एकदिन स्कुलबाट फर्कनासाथ बाबाबारे सोद्धा बज्यैले त्यो मान्छे त आमालाई मात्र थाह भएको जवाफ दिनुभयो

‘मिसेज मलहोत्रा, क्याविनसम्म ठेली दिउँ ?’ लिली सोध्छिन् ।

‘नो, थ्याङ्क्स !’ बुढी मलहोत्रा मायालु मुस्कान छड्छिन् । त्यत्तिञ्जेलसम्म लिली व्हिलचियर कुदाउन थालिसकेको हुन्छिन् । म एकनजर हेरी पठाउँछु ।

मिसेज मलहोत्रा लण्डनको एकजना नामी ब्यापारीकी श्रीमती । कार एक्सिडेन्टमा खुट्टा भाँचिएर यहाँ हामीसंग छिन् । भारतीय मूलकी उनलाई हिन्दीमा ‘औंठाछाप’ पाउँदा मलाई अचम्म लाग्छ ।

यस्ता नानाथरि बिरामीको सँगालोलाई १२ घण्टा सम्हाल्दा लोत हुन्छौं लिली र म ।

लिली अन्तर्मुखी, अल्पभाषी । मसंग खुल्नलाई नै छमहिनाभन्दा बढी लगाइन् । थकित–गलित भएको बेला एकपटक उनले भनेकी थिइन्– ‘खासमा म मोडलिङको दुनियाँमा रमाउँन चाहन्थेँ, तर आमाको कारणले नर्स बनेर आज यो दिन भोग्दैछु ।’

लिली फिलिपिन्सको ‘मनिला सिटी’की हुन्, जसलाई उनी आफ्नो मान्दिनन् । नेपालको पूर्वी पहाडमा म भाँडाकुट्टी, गट्टा, चुङ्गी खेल्दै गर्दा, कार्की बाको गोगुन डाली चोर्दै गर्दा, बाजे–बोजू निदाएपछि आधारातमा स्कुसको झ्याङमा आगो फुकेर वनभात खाँदा, खोलामा आमाको मजेत्रो बगाई पठाउँदाका दिनहरूमा लिलीको समय आमाले सिंगापुरबाट पठाएको गुडियाहरूसंग खेलेर बित्यो ।

यसरी लिलीको देश जस्तै यसअघिको भोगाई पनि मेरोभन्दा फरक छ । मसंग खुल्दै जाँदा अन्ततः खाजाको समयमा खण्ड–खण्ड गरेर आफ्नो कथा पनि सुनाईन् ।

****

‘सिंगापुरमा कुनै विदेशसँग मेरी आमाले गरेको प्रेमको परिणती हुँ म । बाउको नाम र देशचाहिँ भुलेर पनि नसोध है !’

तेसो भन्दै उनी मुस्कुराएको देख्दा मलाई लाग्यो, पुरानिँदै गएपछि पीडामा पनि मुस्कानका बुट्टाहरू लाग्दैजाँदा रहेछन् ।

सिंगापुरको वर्किङ भिसा सकिएर आमा घर फिर्दा उनी पेटमा थिइन् । घरमा दुःखै थियो । जेठी छोरी भएकीले आमाको काँध त्यहीअनुसार जिम्मेवारी थपियो । अब त लिली पनि थपिइन् ।

आमाले छोरा भएको भए के बनाउन खोज्थिन्, लिलीलाई थाहा छैन, तर छोरी भएकीले नर्स बनाउने सोचिन् । उनी हुर्किंदै जाँदा आमाको आँखामा नर्सको युनिफर्ममा देखिन थालिन् ।

छोड्न मिल्ने भएपछि लिली बज्यैलाई जिम्मा दिएर आमा हङकङ गइन् । बाबालाई छोरी जन्मेको खुशीको खबर सुनाउन सिंगापुर जानपर्नेमा आमा हङकङ उडिन् । हर महिना आमाले पठाउने पैसा राम्रा–राम्रा खेलौनासंग लिली हुर्किदै गईन् । खाजाको एउटा ब्रेकमा उनले भनेकि थिइन्, ‘यति सहजै हुर्कें कि मेरा बाबु पनि यो दुनियाँमा छन् भन्ने भूलें । लाग्थ्यो, आमाले मलाई एक्लै बनाएकी हुन् ।’

जब उनी स्कुल जान थालिन्, त्यहाँ सबै साथीका जोडी बाबा–आमा भएको थाह पाइन् । साथीहरूको परिचय बाबुसँग पनि जोडिएको हुन्थ्यो । एकदिन स्कुलबाट फर्कनासाथ बाबाबारे सोद्दा बज्यैले त्यो मान्छे त आमालाई मात्र थाहा भएको जवाफ दिनुभयो ।

आठ कक्षामा पुगेपछि बाबाबारे बढी नै खुल्दुली हुन थाल्यो । लिलीको मनलाई आफू भएको कुरा बाबालाई थाहा छ, छैन भन्ने प्रश्नले महिनौ नकोरिएको कपालझैँ लट्टा परेर बिझाउँथ्यो ।

‘तेरो बाबा लास्टै ह्याण्डम् हुनुपर्छ’, साथीहरू भन्थें, ‘त्यसैले तँ साँच्चै लिली फूल जस्तै छेस् ।’

लिलीले नर्सिङ पास गरेको एक वर्षपछि आमा मनिला आइन् । त्यो बेला लिली सिटी हस्पिटलको क्वाटरमा बसेर काम गर्न थालेकी थिइन् । एकदिन बज्यैले फोन गरेर बोलाउनुभयो । बिदा मिलाएर घर पुग्दा कोरीडोरमा एउटा बालक बेलून उडाउने कोशीस गरिरहेको थियो । लिलीले सुनाईन्, ‘बाह्र वर्षमा आमा भेटिँदा पनि म खुशी हुन सकिनँ ।’

आफूलाई अँगालोमा बेरेर रोइरहेकी आमालाई उनले सोधिन्, ‘यतिका वर्ष भयो, मेरो बाबा खोई ?’

‘त्यसको कुरै नगर ! तेसै पनि तेरो अनुहार त्यो धोकेबाजको जस्तै भएकोले मेरो निको भइसकेको घाऊ बल्झिन खोज्छ ।…त्यसको लागि मलाई माफ गरिदे छोरी ।’

यति भनेर आमा धरधरी रून थालिन् । लिली आफ्नो कोठामा पसेर ऐनामा आफूलाई नियाल्दै बाबुको अनुहार पहिचान गर्ने कोसिसमा लागिन् ।

राती बज्यैले भन्नुभयो, ‘जे भए पनि तिमीलाई जन्माउने, बढाउने, पढाउने आमा हो, उसलाई माफ गरिदेऊ । नाम–ठेगाना बताए तिमी बाबा खोज्दै जान्छौ भन्ने डरले उसले सबैकुरा लुकाएकी छ ।’

बिहानै लिली अस्पतालतिर लागिन् । अबको दिनमा उनलाई आमा भेट्नु पनि थिएन । केहि दिनमा आमा पनि सानो बच्चालाई बज्यैसंग छाडेर हङकङ फर्किइन् ।

लिली अहिले आफ्नै बलवुतामा युकेमा छिन्, मेरो सहकर्मी । उनलाई लाग्छ, हिँड्दाहिँड्दै कुनै दिन यस्तो सुखद संयोग या घटना हुनेछ, जहाँ हराएका उनका बाबा भेटिने छन् ।

लिलीको कथा सुनेदेखि म सम्झी–सम्झी छक्क पर्न थालेकी छु । म घरिघरि उनको अनुहारमा आफ्ना बाबा–काकाहरू पहिचान गर्न खोज्छु, जो २०–२२ वर्षअघि सिंगापुरमा हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment