Comments Add Comment
कोभिड–१९ योद्धा ७ :

सुदूरमा खटिएका डा. अशोक

९ कात्तिक, कैलाली । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल बाहिर डा. अशोक चौधरी निराश मुद्रामा देखिए । कोरोना संक्रमितको उपचारमा रातदिन खटिएका मेडिकल अधिकृतको यो मुद्रामा पक्कै पनि सुखद सन्देश थिएन ।

‘के भयो डाक्टर सा’ब ?

उनले भने, ‘संक्रमित एक महिलाको अवस्था सुधार्न सकिएन । प्लाज्माथेरापी गर्नलाई प्लाज्मा दिने मान्छे कोही भेटिएन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेतीसहित देशभरका १५ अस्पतालमा प्लाज्माथेरापी स्वीकृत गरेको छ, तर प्लाज्माका लागि रक्तदान गर्ने कोही नमानेको स्थिति छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट निको भएका थुप्रै छन्, प्लाज्माका लागि रक्तदान गर्दा स्वस्थ कमजोर हुन्छ भन्ने भ्रमले गर्दा कोही मान्दैनन् । अस्पतालले सुदूरपश्चिम प्रदेशमा जटिल अवस्थाका कोरोना सङ्क्रमितको प्लाज्माथेरापीबाट उपचार गर्ने सूचना १५ भदौमा सार्वजनिक गरेपछि केही व्यक्ति सम्पर्कमा आए । २ दिनमा ६ जनाले रक्तसञ्चार केन्द्र धनगढीमा रक्तदान पनि गरे, जसमध्ये तीनजना स्वास्थ्यकर्मी, दुई स्थानीय र एकजना प्रहरी थिए ।

भेन्टिलेटरमा राखिएकी धनगढी–५ कि ५७ वर्षीया कोरोना संक्रमितलाई रेमडिसिभिरका साथै प्लाज्मा दिइएको थियो । तर उनलाई बचाउन नसकेकोमा डा. चौधरी निराश थिए । ‘मलाई ठूलो आशा थियो, तर निष्फल भयो’, उनले भने, ‘त्यो क्षण हाम्रो टीमका लागि समेत बडा पीडादायी रह्यो ।’

बिरामी बचाउन नसक्दाको पीडा

२०७५ फागुनदेखि सेती प्रादेशिक अस्पतालमा सेवा सुरु गरेका डा. चौधरी आईसीयू र मेडिसिन डिपार्टमा कोभिड–१९ को संक्रमण भएकाहरुको उपचारमा खटिएका छन् । ‘कोरोना संक्रमित देखिन थालेपछि कोही न कोही त त्यहाँ जानुपर्‍यो’ उनले भने, ‘म आफ्नै खुशीले संक्रमितको उपचारमा खटिएको हुँ ।’

११ चैतमा सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेपछि अस्पतालले सम्भावित संक्रमितलाई ध्यानमा राख्दै तयारी थाल्यो । अस्थायी उपचार कक्ष तयार हुनुभन्दा अघि नै चैत १४ गते धनगढीमा कोरोना संक्रमित फेला परे । उपचाररत व्यक्तिमा संक्रमण पुष्टि भएपछि अस्पतालमा पनि त्रास फैलियो ।

कोरोना सङ्क्रमितलाई राख्ने गतिलो स्थान तयार नभएको अवस्थामा उनी डा. चौधरीकै निगरानीमा थिए । कोरोनाको लक्षण नभएपनि उनमा स्वास्थ्य समस्या देखिएको थियो । सम्भावित संक्रमितका रुपमा उपचार सुरु गरेका उनमा कोरोना संक्रमण पुष्टि हुँदा आफू समेत डराएको डा. चौधरी बताउँछन् ।

‘त्यसबेला कोरोना भाइरसबारे धेरै जानकारी थिएन । त्यसमाथि लक्षण नै नभएका व्यक्तिमा संक्रमण पुष्टि भएको थियो’, उनी भन्छन्, ‘हामीलाई डर लाग्नु स्वाभाविक थियो । तर डराएर हुँदैन, निको बनाउनुपर्छ भनेर खट्न थाल्यौँ ।’

त्यसबेला कोरोना सङ्क्रमितलाई राख्ने ठाउँ समेत नपाएर लासघर अगाडि कोठा तयार पारेर राखिएको थियो । अव्यवस्थाका कारण पहिलो संक्रमितले मनग्य हेरचाह पाएनन् ।

उनलाई ३० दिनमा निको पारेर घर पठाउँदा डा. चौधरीको टिमलाई संसार जितेजस्तो लाग्यो । तर त्यसअघि नै कैलालीमा नै नेपालमा पहिलो पटक स्थानीय संक्रमण पुष्टि भएको थियो । ‘स्थानीय संक्रमण देखिनु भनेको जटिल अवस्थाको पूर्वसंकेत हो । लापरबाही बढ्यो भने जुनसुकै बेला त्यो अकल्पनीय अवस्था आउनसक्छ’ भन्ने बुझेर स्वास्थ्यकर्मीहरुले निकै सतर्कता अपनाए ।

उनको परिवारमा आमाबुवा र भाइ छन् । छ महिनायता लगातार कोरोना अस्पतालमा काम गर्दा परिवारबाट सहयोग जारी छ । बुबाले त ‘जिम्मेवारीबाट भाग्नुहुँदैन’ भनेर बेलाबेला ऊर्जा भरिदिने गरेको डा. चौधरी बताउँछन् ।

जोखिममा काम गर्ने मेडिकल स्टाफ र कर्मचारीको लागि अस्पतालले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गरेपनि उनी अहिलेसम्म घरबाटै काममा आउने जाने गरिरहेका छन् ।

तपाईंको कारणले परिवारलाई जोखिम हुँदैन ? भन्ने प्रश्नमा डा. चौधरी भन्छन्, ‘हामीले स्वास्थ्यका सबै मापदण्ड पूरा गरेका छौं । घरमा जमघट नगरिएको ६ महिना भयो ।’

धनगढीमा आफ्नै घर नभएका स्वास्थ्यकर्मीहरुले महामारीकालमा बढी समस्या झेल्नु परेको छ । दुईजना नर्सलाई घरबेटीले कोठाबाटै निकालिदिए । दुव्र्यवहार धेरैले झेलेका छन् । तैपनि स्वास्थ्यकर्मीहरु दिनरात लगातार खटिरहेका छन् ।

सेती अस्पतालमा उपचारका क्रममा हालसम्म चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । धेरै कोशिस गर्दा पनि उनीहरुलाई बचाउन नसकेकोमा डा. चौधरीको टिम दुःखी छ । धनगढीकै अर्काे अस्पतालमा कोरोना पुष्टि भएपछि रिफर भएर सेती अस्पताल ल्याइएका ४७ बर्षीय पुरुषलाई यो टिमले बचाउन सकेन । उनी सेती अस्पतालमा मृत्यु हुने पहिलो संक्रमित थिए ।

‘एक त बचाउन सकिएन, त्यसमाथि परिवारजनलाई उहाँको मुख देखाउन सकिएन’, डा. चौधरी भन्छन्, ‘त्यस्तो बेला बहुत पीडा भयो ।’

निश्चिन्तता बढेर लापरबाही बन्ने डर

डा. चौधरीको टिमलाई सुरुका दिनमा त समाजको ‘वाइकट’ मै परेजस्तो लागेको थियो । संक्रमण दर बढ्न थालेपछि उनीहरु अझ बढी खट्थे, झन् बढी दूरदूर हुन्थे । अहिले अवस्था फेरिएको छ । मानिसहरु सम्मानका नजरले हेर्न थालेका छन् ।

संक्रमणको जोखिम उस्तै छ, तर त्रास घटेको छ । यसले लापरबाही बढाउँछ कि भन्ने चिन्ता डा. चौधरीलाई छ । ‘निश्चिन्ता बढेर लापरबाहीमा बदलियो भने बर्बादै हुन्छ’, भन्छन्, ‘उच्च सावधानी अपनाउँदाअपनाउँदै पनि केहि स्वास्थ्यकर्मी संक्रमित भएकाले सबैले ख्याल राख्न अनुरोध गर्छु ।’

छ महिनाको अवधीमा कोरोना भाइरसलाई राम्रो बुझेका उनले कुनै क्षण पनि यसलाई सामान्य रुपमा लिएनन् । लापरबाही बढ्यो भने जुनसुकै बेला यो डढेलो बन्ने उनी बताउँछन् । उनका अनुसार, सुदूरपश्चिममा ५० बर्ष भन्दामाथिका र दीर्घ रोगीहरू बढी छन् ।

उनीहरूमा संक्रमण भए जोखिम स्वतः बढी हुन्छ । कोरोना संक्रमणबाट मुक्त हुनेमा निरोगी युवा छन् । योभन्दा बढी संक्रमण फैलिए सबै उमेर समुह जोखिममा पर्ने डा. चौधरी बताउँछन् ।

सेती अस्पतालमा अनुसन्धान पनि

सेती प्रादेशिक अस्पतालमा डा. चौधरी र डा. शेरबहादुर कमर रेमडिसिभर र प्लाज्माथेरापीको अनुसन्धान पनि गरिरहेका छन् । ‘यी दुबै रामवाण त होइनन् तर, अपेक्षित काम गर्छन्’, डा. चौधरी भन्छन्, ‘धेरै ठाउँमा यसले राम्रो नतिजा ल्याएको छ ।’

सेती अस्पतालमा एकदमै गम्भीर अवस्थाका कोरोना संक्रमितलाई यो दुई विधिबाट उपचार गर्दा मिश्रित नतिजा आएको उनले बताए । ‘यी विधिबाट हामीले एक–दुई जनालाई बचायौं, एक–दुई जनालाई बचाउन सकेनौं’, डा. चौधरी भन्छन्, ‘सतप्रतिशत नतिजा आएन भन्दैमा यो गलत छ भन्ने हुँदैन ।’

कोभिड-१९ योद्धा १ : यो पनि पढ्नुहोस आपतकालका जब्बर डाक्टर अनुप

कोभिड-१९ योद्धा २ : यो पनि पढ्नुहोस संक्रमितको साथी : भक्तपुरको ‘आरएनए- १६’

कोभिड-१९ योद्धा ३ : यो पनि पढ्नुहोस एम्बुलेन्स चालक समसुल मियाँ, जसले सिंगो पर्सा थामेका छन्

कोभिड-१९ योद्धा ४ : यो पनि पढ्नुहोस बिरामीलाई हातले छोएर उपचार गर्न पाए हुन्थ्यो !

कोभिड-१९ योद्धा ५ : यो पनि पढ्नुहोस ‘कोरोनाले मलाई जितिसकेको थियो…’

कोभिड-१९ योद्धा ६ : यो पनि पढ्नुहोस कोरोना कहरमा चिनिएका डाक्टर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment