Comments Add Comment

राउटेलाई कर्णाली प्रदेश सरकारले मासिक २ हजार भत्ता थपिदिने

९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे जातिको संरक्षणका लागि छुट्टै प्रतिष्ठान बनाउने भएको छ ।

दसैँको अवसरमा शनिबार चिंगाड गाउँपालिका–४, राउटे बस्तीमा पुगेका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको गहनाका रुपमा रहेको राउटेको संरक्षणका लागि प्रदेश सरकारले छुट्टै प्रतिष्ठान बनाउने बताए ।

नेपालको एक मात्र फिरन्ते जाति राउटेलाई दसैँको अवसरमा खाद्यान्न वितरण गर्दै मुख्यमन्त्री शाहीले राउटे बस्तीको अवलोकन र समस्याबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्री शाहीले राउटेको जंगली दुःख देखेर खान बस्न सरकारले दिने, स्थायी घर हालेर बसाउने भन्दै जंगलमा दुःख नगर्न आग्रह गरे । तर राउटे मुखिया सूर्यनारायण शाहीले जवाफमा भने, ‘जंगलमा तपाईहरुलाई दुःख हुन्छ होला तर राउटेले दुःख मान्दैन ।’

राउटेहरुलाई प्रदेश सरकारका तर्फबाट थप दुई हजार रुपैयाँ मासिक भत्ता समेत उपलव्ध गराउने मुख्यमन्त्री शाहीले घोषणा गरे । यसअघि संघ सरकारले दैलेखको गुराँस गाउँपालिकामार्फत मासिक प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता दिँदै आएको छ । अबदेखि राउटेले मासिक रुपमा पाँच हजार रुपैयाँका दरले भत्ता पाउनेछन् ।

प्रदेश सरकारले राउटेको स्वास्थ्य, सरसफाइ, शिक्षा तथा खानपिनमा पनि ध्यान दिने जनाएको छ । मुख्यमन्त्री शाहीले राउटेका समस्यालाई प्रदेश सरकाले स्थानीय सरकारसँगको सहकार्यमा समाधान गर्ने बताए ।

शाहीले राउटेको पहिचान नमेटिने गरी आनीबानीमा समेत सुधार गरिनुपर्नेमा जोड दिए । ‘राउटेको जनसंख्या प्रत्येक वर्ष बढ्नुको साटो घट्दै आएको छ । त्यसको प्रमुख कारण उनीहरुले स्वास्थ्यमा ध्यान नदिनुनै हो,’ मुख्यमन्त्री शाहीले भने,‘उनीहरुको स्वास्थ्य सुरक्षाको लागि प्रदेश सरकारले बस्तीमै खटिने गरी केही स्वास्थ्यकर्मीको व्यवस्था गर्छ ।’

उता, सामाजिक विकास मन्त्री दल रावलले राउटेहरुको सीप र कलामार्फत पर्यटन प्रवर्द्धन गर्ने बताए । ‘प्रदेशका सामुदायिक वनसँग सहकार्य गरेर भएपनि उनीहरुको सीप र कलालाई पर्यटनको हिसाबमा अगाडि बढाउछौं’ उनले भने ।

राउटेलाई उनीहरुकै जीवनशैली बाँच्न दिने मन्त्री रावल बताउँछन् । ‘हामी यो समुदायलाई अहिले यस्तै रहन दिन्छौं । बरु उनीहरुका आवश्यकता परिपूर्ति गर्ने पक्षमा छौं,’ मन्त्री रावलले भने, ‘अबको हाम्रो लक्ष्य भनेकै राउटेले माग्न नपरोस् भन्ने हो ।’

साथै मुख्यमन्त्री शाही सहित मन्त्रीहरु दल रावल र बिमला केसीलगायतको टोली राउटेलाई दसैँको अवसरमा आफैंले पकाएर एक छाक खाना पनि खुवाएका छन् । मुख्यमन्त्री र मन्त्रीहरुले राउटेलाई आफ्नै हातबाट खाना पस्केर खुवाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment