
शरद ऋतुको यो मोहक मौसममा पनि दशैंको रौनक छैन । रेडियोमा एकनासले बज्ने मालाश्री धुन, बारीको कान्लाभरी फक्रिनै लागेका सायपत्री फूलहरु, घोर्ले खसी डोहो¥याउँदै गरेका बटुवाहरु, खुला आकासमा स्वच्छन्द बत्तिइरहने चंगाहरु, ठाउँ–ठाउँमा बनाइएका लिङ्गे पिङहरु, शक्तिपीठहरुमा लाग्ने लस्करहरुसँगै दशैंले हाम्रो घर–आँगनमा प्रवेश गथ्र्यों । यसपाली भने त्यस्तो अनुकुलता जुरेन ।
सर्वत्र कोरोना महामारीको आतंक छ । लाखौं यसबाट संक्रमित भए । कोरोनाकै कारण कतिले आफ्ना सन्तान गुमाए र यसपालीको दशैं मान्न पाएनन् । कति अहिलेपनि अस्पतालमै छन्, आइसोलेसनमा छन् । यी त तपसिलका कुरा भए ।
खासमा कोरोनाकै कारण यसपाली हिँडडुल एवं यात्रा गर्न, भेटघाट गर्न, जमघट गर्न, पाहुना लाग्न, पाहुना बोलाउन त्यती अनुकुल छैन । विगतमा जस्तो यसपाली मुलघर फर्कनेहरुको भिड छैन । तुलनात्मक रुपमा थोरै मात्र आफ्नो थातथलो फर्किएका छन् । सार्वजनिक यातायात कोरोना संक्रमणको अरु जोखिमपूर्ण भएकाले धेरैले यात्रा गरेनन् ।
सरकारको आग्रह छ, ‘जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, त्यही दशैं मनाउनुहोला ।’ आफ्नो स्वास्थ्य सुरक्षाका लागि पनि यतिबेला निकै सहज हुनुपर्ने स्थिति छ । कोरोनाको संक्रमण आफ्नो घरसम्म नपुगोस्, आफ्ना आमाबुवासम्म नपुगोस भनेर पनि धेरैले यथास्थितीमा दशैं मनाउने निधो गरेका छन् ।
दशैंको विशेषता भनेको आफन्त, इष्टमित्रकहाँ आउजाउ गर्ने, जमघट गर्ने, रमाइलो गर्ने हो । तर, कोरोनाले यी सबै गर्न छुट दिदैन । कोरोनाले त जतिसक्दो दूरी बनाएकै राम्रो हो भन्छ । त्यसैले यसपाली जमघट गर्ने स्थिती पनि छैन ।
दशैंमा पाहुना लाग्ने, आफुभन्दा ठूला वा मान्यजनकहाँ आर्शिवाद लिन जाने गरिन्छ । साइनो एवं नाता अनुसार ठूला, बुढापाकाबाट टिका थापेर आर्शिवाद लिने प्रचलन छ । कोरोनाले यसमा पनि निशेष गरिदिएको छ ।
कोरोनाको जोखिम बर्गमा बुढापाकाहरु छन् । दीर्घरोगीहरु छन् । बुढापाकाहरु नै मधुमेह, उच्च रक्तचाप आदिले ग्रस्त हुने गर्छन् । एकातिर बुढो ज्यान, अर्कोतिर दीर्घ रोग । कोरोनाले उनीहरुलाई नै बढी तर्साइरहेको छ । त्यसैले टिका थाप्न बुढापाकाकहाँ जाँदा उनीहरुको स्वास्थ्यलाई नै पो जोखिममा पारिने हो कि ? सचेत हुनुपर्ने अवस्था छ ।
स्वास्थ्य विज्ञहरुले सुझाव दिइरहेका छन्, ‘सकेसम्म बुढापाकाकहाँ टिका थाप्न नजाऔं । उनीहरुलाई कोरोनाको जोखिममा नपारौं ।’
समग्रमा दशैंमा यसपाली भिडभाड गर्न, यात्रा नगर्न, पाहुना नलाग्न, जमघट नगर्न, बुढापाकाकहाँ टिका थाप्न नजान उपयुक्त हुने भएको छ । अर्थात जति धेरै अलग बस्न सक्यो उत्तिनै आफ्नो कल्याण हुनेछ । आफ्नो परिवारको कल्याण हुनेछ । दशैं मान्न जाँदा आफ्नै घर परिवारमा पो कोरोना सर्ने हो कि ? पाहुन लाग्दा इष्टमित्रकहाँ कोरोना फैलने हो कि ? आर्शिवाद थाप्न जाँदा बुढापाका जोखिममा पर्ने हो कि ? चनाखो हुनुपर्ने बेला छ ।
यद्यपि दशैंको महिमालाई भने बेवास्ता नगरौं । विश्वका नेपालीहरुमा एकसाथ उमंग ल्याउने दशैं एक राष्ट्रिय पर्व हो र यो सद्भावको उत्सव पनि । खासगरी आफ्ना बालबच्चालाई दशैंको महत्व बुझाउने र यसको विधी विधानको अर्थ बुझाउने गरौं ।
सद्भाव र भाइचाराको पर्व
असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, ब्रतसाथ मनाइन्छ, यो पर्व । घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तासती (चन्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादको रुपमा टीका र जमरा ग्रहण गरिन्छ ।
दशैंको महत्व
असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो–सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै बिशिष्ट महत्व छ । धार्मिक, समाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा गाउन सकिन्छ । बर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्र्धपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिको प्रतिक । हामीकहाँ तिहारमा लक्ष्मी अर्थात धनको देवी, सरस्वती पूजा अर्थात विद्याकी देवी र दशैंमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा यी तीन कुरा अर्थात शक्ति, विद्या र धन हाम्रो जीवनको लागि महत्वपूर्ण हुन्छ ।
दशैंको विधी
नेपालीहरुको ठूलो चाड हो दशैं । माता दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि सुरु हुने दशैं कोजाग्रत पूर्णिमाका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो ९ दिनसम्म नवरात्री पूजा गरिन्छ ।
दशमी अर्थात विजयदशमीको दिन आफन्त, इष्टमित्र भेला भएर, दुर्गा पूजा गर्ने । मान्यजन तथा आफुभन्दा ठूलाबाट टीका थाप्ने, आर्शिवाद लिने गरिन्छ ।
दशैंको श्लोक
दशैंमा टीका लगाउँदा आर्शिवाद दिइन्छ, संस्कृत श्लोकमार्फत । चार हरफको यो श्लोकले गहिरो अर्थ बोकेको छ । यसले विभिन्न पौराणिक पात्रलाई आदर्शको रुपमा उल्लेख गर्दै जीवनलाई सुन्दर बनाउने सुत्र दिएको छ ।
श्लोक यस्तो छ,
आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।
ऐश्वर्य नहुषे गतिश्च्व पवने मानञ्च दुर्योधने
दान सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञान विदुरे भवन्तु भवतां कीतिश्च्व नारयणे
यसको अर्थ हो, द्रोणपुत्र आश्वत्थामाको जस्तो लामो आयु, दशरथ राजको जस्तो सम्पति, रामको जस्तो शत्रु नाश, नहुष राजको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशील, दुर्यधन जस्तो मान, सूर्यपुत्र कर्ण जस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति प्राप्त होस् ।
दशैंको टीका
दशैंमा मान्यजनबाट आर्शिवाद लिन निधारमा टीका थाप्ने गरिन्छ । रातो तथा सेतो अक्षताको टीका लगाउने चलन छ । टीका लाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै रातो र सेतो शान्ति एवं समृद्धिको प्रतिक हो । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ ।
दशैंको जमरा
दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । जमरा घटस्थापनाको दिन राखिन्छ । यसको आफ्नै विधी छ ।
अध्याँरो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन त्यहाँ शुद्ध माटोमा जौं छरेर जममार उमारिन्छ । यसलाई धर्मशास्त्रमा समृद्धिको प्रतिक मानिएको छ । खासमा भन्ने हो भने, जमरा पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनहरु पाइन्छ । जमरा वा जमराको रस निकै स्वस्थ्यवद्र्धक मानिन्छ ।
दशैंको पिङ
मान्यता के छ भने, दशैंमा एक पटक भएपनि जमिन छाड्नुपर्छ । यहि मान्यतालाई शिरोधर गर्दै पिङ थाप्ने र पिङमा मच्चिने गरिन्छ । यसले दशैंमा रमाउने बाहाना दिएको छ । सबै भेला भएर पिङमा मच्चिदाँ रमाइलो हुन्छ । सबै खुसी हुन्छन् ।
यो स्वास्थ्य विज्ञानसँग पनि जोडिएको छ । दशैंमा मीठो, मसिनो खासगरी मासुजन्य खानेकुरा सेवन गरिन्छ । एकसाथ बसेर खानेकुरा खाएपनि पचाउन गाह्रो हुन्छ । खानेकुरा पचेन भने त्यो बोसोमा रुपान्तरण हुन्छ । अनि, रोग लाग्छ ।
त्यसैले मीठो मसिनो खाएपनि पिङमा मच्चिनु पर्छ । यसले पेटको व्यायाम हुन्छ । खानेकुरा पचाउन सहयोग गर्छ ।
दशैंको चङ्गा
दशैंमा चङ्गा उडाइन्छ । किनभने यतिबेला आकास खुला हुन्छ । न झरी, न जाडो । सन्तुलित मौसममा चङ्गा उडाउनुको छुटै आनन्द छ । धार्मिक कथन चाहि के छ भने, खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश भगवान इन्द्रकहाँ पु¥याउन चङ्गा उडाइन्छ ।
अहिले यो मनोरञ्जनको माध्याम भएको छ । बर्षा ऋतुको समाप्तीसँगै आउने दशैंको मनमोहक मौसममा चङ्गा उडेको देख्दा मन पनि चङ्गा हुन्छ । खुसी हुन्छ ।
प्रतिक्रिया 4