Comments Add Comment
कोभिड–१९ योद्धा ९ :

उनको प्रतीक्षा कहिले सकिएला ?

११ कात्तिक, काठमाडौं । यतिबेला कसैले जिन्दगी के हो ? भनेर सोध्यो भने उनको जवाफ हुन्छ–ड्युटी, ड्युटी र ड्युटी ।

पहिला त उनलाई पनि कोरोना भाइरससँग बहुतै डर लाग्थ्यो । डरसँगै भाइरसको सामना गरिन् । कोराना लागेर मरिन्छ कि क्या हो भनेर डराएकी उनी अहिले सुरक्षा सावधानी अपनाएर कोरोना संक्रमणबाट अरुलाई पनि बचाउन सकिन्छ निश्कर्षमा पुगेकी छन् ।

उनी अर्थात वीर अस्पताल कोभिड आईसीयू वार्डकी नर्स ज्योति हमाल, जो कोभिड–१९ संक्रमितहरुको सेवामा खटिँदा आफैं संक्रमित भइन् ।

‘अहिले ड्युटीबाहेक अर्को जिन्दगी छैन’ संक्रमणमुक्त भएकै दिन अरु संक्रमितको सेवामा फर्किएकी उनी भन्छिन्, ‘स्वास्थ्यकर्मीहरु नै धमाधम संक्रमित भएकाले बिजोक छ । निरन्तर ड्युटी गर्नुको विकल्प छैन ।’

वीर अस्पतालमा संक्रमण छिर्नुअघि वीरगञ्जको नारायणी अस्पतालमा कोभिड संक्रमितको सेवा गर्न खटिएकी उनले आईसीयूमा बिरामीहरुको सकस नजिकबाट देखेकी छन् । बाँच्नका लागि बिरामीले गरेका संघर्ष र अन्तिम सास फेर्दै गर्दाको पीडा महशुस गरेकी छिन् ।

आईसीयूमा रहेका संक्रमितको चित्कार सुन्दा लाग्छ, यो भन्दा ठूलो पीडा केही छैन । कोभिड आईसीयूका अनेक पलसँग परिचित उनी भन्छिन्, ‘स्वास्थ्यकर्मीलाई भावुक हुन मनाही छ, यही मान्यतामा चलेको छु ।’

०००

वीर अस्पतालमा नर्सहरुलाई होटलमा बसेर लगातार दुई हप्ता ड्युटी गर्नुपर्छ । यो अवधिमा घर जान पाइँदैन ।

घरबाट आउजाउ गर्दा संक्रमण परिवारसम्म पुग्ने जोखिम भएकाले अस्पतालले होटल क्वारेन्टिनको व्यवस्था गरेको छ । त्यसपछि एक साता क्वारेन्टिन बसेर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो भने बल्ल घर जान पाइन्छ । तर त्यो विदा बस्न होइन, परिवारको मुख हेर्नका लागि मात्र हो !

नर्स हमाललाई सुरुसरुमा आईसीयू वार्डमा पसेर संक्रमितको सेवा गर्न डर लाग्थ्यो । अहिले ड्युटी सकेर होटल जान डर लाग्छ । भन्छिन्, ‘अस्पतालबाट निस्केपछि मान्छेहरुको लापरवाही र भीडभाड देख्दा डर लाग्छ ।’

कोरोना भाइरसलाई सामान्य रुपमा लिएको देख्दा कहिलेकाहीँ उनको कन्पारो तात्छ । ‘बजारमा मास्कबिनाका मान्छेको भिडले हिँड्ने ठाउँ छैन’ उनी भन्छिन्, ‘यता अस्पतालमा गम्भीर संक्रमितलाई राख्ने ठाउँ छैन ।’

०००

साउन अन्तिम साता वीरगञ्जमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा थियो । हरेक दिनजसो संक्रमितको मृत्यु भइरहेको थियो भने स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएर अरुको उपचार नै प्रभावित हुने अवस्था आयो । त्यही बेला सरकारले स्वास्थ्यकर्मीको एउटा टोली वीरगञ्ज पठायो, जसमा वीर अस्पतालमा कार्यरत नर्स ज्योति हमाल पनि थिइन् ।

उनका अनुसार कोरोनाको ‘हटस्पट’ वीरगञ्ज जाने क्रममा गाडीमा सबै मौन थिए । सबैको मनमा त्रास थियो, ‘अब सद्धे फर्केर आइन्न कि ?’

उनीहरु वीरगञ्ज पुग्दा गण्डक अस्पतालको एउटा वार्डमा ६०÷७० जना संक्रमित थिए । वार्डमा छिर्दा निकै डर लागेको थियो । त्यहाँ सुरुदेखि खटिएका स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया हुन थालेपछि विस्तारै डर हट्यो ।

मृत्यु भएकाहरु भन्दा निको भएका बिरामी देख्दा उत्साह बढ्यो । एक महिनासम्म गण्डक अस्पतालमा खटेर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्योसँगै मष्तिष्कमा रहेका नेगेटिभ धारणा पोजेटिभ बनेको उनी बताउँछिन् ।

त्यसपछि उनी वीरको कोभिड वार्डमा आइन् । वीरलाई कोभिडका संक्रमितहरु आउँदा स्वास्थ्यकर्मीमा नै त्रास देखिन्थ्यो । उनलाई भने वीरगञ्जको एक महिने अनुभवले सहज भयो । त्यसैले राम्ररी व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायौं भने डराउनुपर्दैन भनेर अनुभव सेयर गर्थिन् ।

०००

मनको डरलाई जितेर कर्तव्य पुरा गरिरहेका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी धेरै छन् । कोही काखको बच्चा घरमै छाडेर ड्युटीमा आएका छन् त कोही बच्चाबच्चीलाई माइतमा प¥याएर काममा खटिएका छन् ।

डर, पारिवारिक दबाब थेग्न नसकेका कतिपय स्वास्थ्यकर्मीले पेशा नै छाडेका छन् ।

नर्स ज्योति यस्तो कोभिड हिरो हुन्, जो आफू संक्रमित भएर पनि अरुको सेवामा खटिएकी छन् । वीर अस्पतालको कोभिड वार्डमा काम गर्दागर्दा उनी आफैं संक्रमित भइन् । केही साताअघि उनको पीसीआर रिपोर्ट पोजिटिभ आयो । केहीदिन स्वाद र गन्ध थाहा नपाउनु बाहेक अरु लक्षण नभएकी उनी १४ दिनसम्म आइसोलेसनमा बसिन् ।

रिपोर्ट नेगेटिभ आएपछि उनी फेरि अरुको सेवामा फ्रन्टलाइनमा खटिएकी छन् । अब उनको मनमा एउटै प्रतीक्षा छ– यो महामारी कहिले सकिएला ?

महामारी सकिएपछि पहिला काम के गर्ने त ?

प्रश्न भुइँमा खस्न नपाउँदै उनले उत्साही मुडमा भनिन् ‘लामो विदा लिएर केही दिन परिवारसँग ढुक्कले बस्छु । परिवार लिएर कतै घुम्न पनि निस्कन्छु ।’

उनको प्रतीक्षा कहिले सकिएला ?

कोभिड-१९ योद्धा १ : यो पनि पढ्नुहोस आपतकालका जब्बर डाक्टर अनुप

कोभिड-१९ योद्धा २ : यो पनि पढ्नुहोस संक्रमितको साथी : भक्तपुरको ‘आरएनए- १६’

कोभिड-१९ योद्धा ३ : यो पनि पढ्नुहोस एम्बुलेन्स चालक समसुल मियाँ, जसले सिंगो पर्सा थामेका छन्

कोभिड-१९ योद्धा ४ : यो पनि पढ्नुहोस बिरामीलाई हातले छोएर उपचार गर्न पाए हुन्थ्यो !

कोभिड-१९ योद्धा ५ : यो पनि पढ्नुहोस ‘कोरोनाले मलाई जितिसकेको थियो…’

कोभिड-१९ योद्धा ६ : यो पनि पढ्नुहोस कोरोना कहरमा चिनिएका डाक्टर

कोभिड-१९ योद्धा ७ : यो पनि पढ्नुहोस सुदूरमा खटिएका डा. अशोक

कोभिड-१९ योद्धा ८ : यो पनि पढ्नुहोस कान्छो फ्रन्टलाइनर : फोहोरदेखि शवसम्म उठाउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment