Comments Add Comment

आईपीएलमा पञ्जाब हिट

११ कात्तिक, काठमाडौं । इमोशन, एक्सन र ड्रामा भयो भने कहानी हिट हुन्छ । यो फिल्ममा मात्र होइन, क्रिकेटको मैदानमा पनि हुँदोरहेछ ।

इण्डियन प्रिमियर लिग (आईपीएल)–१३ मा किङ्ग्स इलाभेन पञ्जाब टिमको कहानी यस्तै छ, कम्तीमा पछिल्लो ५ खेलमा ।

भावुक मनदीप

कोलकत्ता नाइट राइडर्सविरुद्ध सोमबार यस्तै भयो । सुरुवात तब भयो, जब पञ्जाबका ओपनर मन्दीप सिंहले हाफ सेन्चुरी हानेपछि आकाशतिर हेर्दै केही संकेत गरे, केही बोले । उनीसँग ब्याटिङ गरिरहेका क्रिस गेलले नजिक गएर उनको पीठ थपथपाए ।

टिमका खेलाडी र कोचिङ स्टाफले ताली बजाए । टीभीमा खेलको कमेन्ट्री गरिरहेका पूर्व क्रिकेटर पनि भावुक भए ।

मन्दीपको बुबाको तीन दिन पहिले निधन भएको थियो । पञ्जाबको जितमा नटआउट ६६ रन बनाएका मन्दीप जब मैदान बाहिर आएर त्यही क्षणको कुरा गरे । भन्छन्, ‘यो निकै स्पेशल छ । मेरो बुबा जहिल्यै भन्नुहुन्थ्यो कि तिमी नटआउट फर्किएर आउनू । यो पारी उनकै लागि थियो ।’

पञ्जाबका कप्तान केएल राहुलले पनि उनको तारिफ गरे । ‘मन्दीपले जुन साहस देखाएका छन्, त्यसले हरेकलाई भावुक बनाउँछ । उनले हात उठाए, पिचमा टिके र म्याच जिताए । यसमा हामीलाई गर्व छ’ उनले भनेका छन् ।

पालो आयो, म्यान अफ दि म्याच क्रिस गेलको । उनले भने, ‘गेल मुश्किल क्षणमा छन् । पछिल्लो म्याचमा हामीले भनेको थियौं कि उनका लागि जित्न चाहन्छौं । माथिबाट हेरिरहेको बुबातर्फ उनले इशारा गरेको हेर्दा निकै राम्रो लाग्यो ।’

बुबाको मृत्युको अघिल्लो दिन पनि मन्दीप सिंह टिमका लागि ब्याटिङ गर्न मैदान उत्रिएका थिए । सनराइजर्स हैदराबादविरुद्धको त्यो खेलमा उनले मात्र १७ रन बनाएन सकेन । निकै प्रतिस्पर्धात्मक खेलमा पञ्जाबले १२ रनको जित हात पार्‍यो र यो जितलाई मन्दीपको पिताप्रति समर्पित गरिएको थियो ।

गेलको एक्सन

पछिल्लो पाँच खेलमा पञ्जाब जबरजस्त एक्सनमा छ र, सबैभन्दा एक्सन स्टार हुन् क्रिस गेल ।

बैंग्लोरविरुद्ध हाफ सेन्चुरी बनाएर टिमको भाग्य बदल्न होस् वा मुम्बईविरुद्ध सुपर ओभरमा छक्का हानेर जित दिलाउन होस् वा कोलकत्ताविरुद्ध सुनील नराइनसहितका विपक्षी बलरविरुद्ध छक्का हान्न होस्, गेल जमेका छन् ।

सोमबार जुन पारीका लागि उनी म्यान अफ दि म्याच चुनिए, त्यसमा पाँच जबरजस्त छक्का र दुई चौका थियो ।

४१ वर्षको उमेरका उनी यो भन्न पनि छाड्दैनन् कि जब उनी प्लेइङ इलाभेनमा परे, टिमको भाग्य चम्किएको छ । हुन पनि पछिल्लो ५ खेलमा त्यही भएको छ ।

एक्सनमा बलर मोहम्मद समी पनि छन् । मुम्बईविरुद्ध सुपर ओभरमा उनले लोभलाग्दो बलिङ गरेका थिए । त्यही कारण प्रतियोगिताकै चर्चित बलरसमेत बने । उाले रोहित शर्मा र अर्का ब्याट्सम्यानलाई आफ्नो ओभरमा ६ रन बनाउन दिएनन् ।

१२ खेलमा २० विकेट लिइरहेका उनी हालसम्म प्रतियोगितामा सबैभन्दा दोस्रो सफल बलर हुन् ।

एक्सनमा कप्तान केएल राहुल पनि कम छैनन् । उनले ५९५ रन बनाएका छन् र प्रतियोगितामा धेरै रन बनाउने ब्याट्सम्यानको सूचीको शीर्ष स्थानमा छन् । टिममा निकोलस पुरन पनि छन्, जसले ३२९ रन बनाएका छन् ।

र, नाटकीय क्षण

आईपीएल १३ मा सबैभन्दा नाटकीय क्षण पञ्जाबकै भागमा परेको छ । मुम्बईविरुद्ध दुईदुई सुपर ओभर कम नाटकीय थिएन । हैदराबादविरुद्ध पनि पञ्जाबले १२६ रनको पनि रक्षा गर्न सक्यो । त्यो पनि यस्तो स्थितिमा जतिबेला हैदराबादलाई अन्तिम १४ बलमा मात्र १७ रन चाहिएको थियो र ६ विकेट हातमा थियो ।

नाटकीय क्षण ड्रेसिङ रुममा पनि छ । कप्तान राहुलले भनिसकेका छन् कि ७ मध्ये ६ खेल हारेपछि प्रशिक्षक अनिल कुम्बलेले कसरी खेलाडीहरुको मनोबल बढाए । त्यसपछि मनदीप सिंहको कहानी । सुरुवाती खेलमा असफल भएपछि प्लेइङ ११ बाट बाहिर भए । मयंक अग्रवाल घाइते हुँदा फेरि प्लेइङ ११ मा फर्किने मौका पाए । तर त्यही बेला पिताको मृत्युको खबर आयो ।

यस्तो दुःखद र पिडादायी क्षणमा पनि उनले जिम्मेवारी उठाए र खेल जिताएर देखाएका छन् ।

स्रोत : बीबीसी हिन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment