Comments Add Comment

भारतीय सेना प्रमुखको भ्रमणले द्वीपक्षीय सम्बन्ध सुधारमा योगदान गर्ला ?

बायाँबाट क्रमश: डा. उमेश भट्टराई, गेजा शर्मा वाग्ले र सुरेश शर्मा ।

१२ कात्तिक, काठमाडौं । भारतीय सेना प्रमुख एमएम नरवणेले कात्तिक १९ देखि २१ सम्म नेपालको भ्रमण गर्ने निश्चित भएको छ । एक वर्षदेखि दुई देशको सम्बन्धमा चिसोपन आएको समयमा हुन लागेको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

भारतीय सेना प्रमुखको भ्रमणको पूर्वसन्ध्यामा भारतको खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपालको भ्रमण गरेका छन् । प्रधानमन्त्री कार्यालय मामिला हेर्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा नेपाल भ्रमणका आएको दाबी गरेका छन् ।

तर भारतीय पक्षले रअ प्रमुखको भ्रमणबारे औपचारिक जानकारी समेत दिएको दिएको छैन । के रअ प्रमुख भ्रमण र भारतीय सेना प्रमुखले गर्ने नेपाल भ्रमणले दुई देशको सम्बन्धमा सुधार ल्याउन भूमिका खेल्ला ? यसै सन्दर्भमा अनलाइनखबरले सुरक्षाविज्ञ, नेपाली सेनाका अवकाश प्राप्त उच्च अधिकारी र लामो कूटनीतिक मामिलामा कलम चलाइरहेका व्यक्तिहरुसँग जिज्ञासा राखेको छ :

सुरेश शर्मा, अवकाश प्राप्त सहायक रथी, नेपाली सेना 

यो भ्रमणले निश्चय नै आइसब्रेक गर्न सहयोग गर्छ । एक बर्षदेखि दुई देशको विचमा राम्रोसँग संवाद नभइरहेको समयमा यो भ्रमणले संवादको द्वारलाई खुला गरेको छ ।

केही दिन अगाडि रअका प्रमुख सामन्त कुमार गोयल नेपालको भ्रमणमा आएका थिए र अब सेना प्रमुख आउँदैछन् । सीमा विवाद उत्पन्न भएपछि भारतबाट भएको यो दोस्रो विशिष्ट भ्रमण हुनेछ । नेपालको परराष्ट्र नीतिमा सैन्य कूटनीतिको योगदान जंगबहादर राणको पालादेखि नै भएको हो । यो भ्रमणले दुई पक्षीय सैन्य सम्बन्धलाई अझ सुदृढ गर्नका लागि भूमिका खेल्छ ।

तर नेपाल–भारत डेडलक र दुई पक्षीय एजेन्डाबारे उच्च राजनीतिक तहमै छलफल भइरहेकाले सैन्य तहमा हुने कुराकानीले धेरै प्रभाव पार्छ भन्ने मलाई लाग्दैन ।

गेजा शर्मा बाग्ले, सुरक्षा र कूटनीतिक विज्ञ

यो नियमित र पारश्परिक भ्रमण हो । तर नेपालसँग सीमा विवाद उत्पन्न भएपछि भारतीय सेना प्रमुखले विवादास्पद अभिव्यक्ति दिएका कारण नेपाली पक्षले भ्रमणको उच्च मूल्याङकन गरेको र यही भ्रमणका कारण दुई पक्षिय सम्बन्ध सुधार हुने विश्लेषण गरेको पाइन्छ ।

केही दिन अगाडि रअ प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपान आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भनिएको छ । रअ प्रमुखको भ्रमणका क्रममा भारतलाई ओलीको सन्देश के थियो, त्यसको प्रत्युत्तर भारतीय सेनाप्रमुखबाट पाउने भएकाले त्यस अर्थमा भ्रमण महत्वपूर्ण र अर्थपूर्ण हुनसक्छ । सेना प्रमुखसँग त सैन्य मामिलामा मात्र वार्ता हुन्छ, तर अहिले उनलाई पठाएर भारतले राम्रो संकेत गरेको देखिन्छ ।

डा. उमेश भट्टराई, सुरक्षा र रणनीतिक जानकार

दुई देशबीचमा हुने सैन्य सम्वादले समस्या समाधानमा निर्णायक भूमिका खेल्दैन्, निर्णायक राजनीति तह नै हो । तर भ्रमणले दुई देशको विचमा चिसिएको सम्बन्धमा न्यानोपन ल्याउन भूमिका खेल्छ । दुई सेनाको बीचमा लामो समयदेखि एकदमै राम्रो सम्बन्ध छ ।

सेना–सेनाबीचको सम्बन्धमा हामी कहिले पनि चुकेका छैनौं, त्यसैले भारतीय सेनाले नेपाली सेनालाई धेरै विश्वास गर्छ । अहिले हुन लागेको भ्रमण त्यही विश्वासको उपज हो । हामीले उनीहरुको चासोलाई राम्रोसँग सम्बोधन गरेका छौं । खुला सीमालाई हामीले भारतविरुद्ध प्रयोग हुन दिएका छैनौं, हाम्रा ४० हजारभन्दा बढी युवा अहिले पनि भारतको गोर्खा राइफल्समा छन् ।

*अपडेट :- प्राविधिक कारणले पत्रकार अनिल गिरीको भनाइ उनकै आग्रहमा हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment