 
																			
तास्मानिया । ६० वर्षीय वसन्त बजगाईं छोरा बुहारीले बोलाएर अष्ट्रेलिया घुम्न आएको ८/९ महिना भयो ।
दसैँ पर्व नजिकिँदै जाँदा परदेशी भूमिमा दसैँ खल्लो हुने होला भन्ने कुराले उनलाई भित्रभित्रै पोलिरहन्थ्यो । अहिलेसम्मको दसैँ नेपालमै आफन्तहरुसँगसँगै बसेर खुशीसाथ मनाएका उनीले यसपालि भने कोरोना महामारीका कारण यो खुशीबाट बञ्चित हुनुपरेको कुराले उनको मन कता कता पोलिरहेको थियो ।
तर दसैँ टीकाको दिनपछि भने उनकै भाषामा ‘नेपालको झझल्को’ मेटियो । कारण, नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले आयोजना गरेको दसैँ शुभकामना तथा टीका-जमरा कार्यक्रम ।
कार्यक्रममा लन्चेस्टनवासी नेपालीहरु यहाँ भएका अभिभावकहरुबाट खुला चौरमा बसेर टीका, जमराका साथै आशीर्वाद लिएका थिए ।
‘पहिला त यो विदेशी ठाउँमा चिनेका कोही हुन्नन्, कसरी रमाइलो हुन्छ होला जस्तो लागेको थियो,’ उनले मुस्कुराउँदै भने, ‘अहिले त बरु यही रमाइलो भयो ।’
‘चिन्दै नचिनेका छोराछोरी, नाति नातिनाहरुलाई चिन्न, टीका लगाइदिन र आशीर्वाद दिन पाइयो,’ उनले थपे ।
‘नेपालमा भएको भए बरु कोरोनाका कारण यसरी टीका लगाउन पाइन्नथ्यो होला,’ छेउमै रहेकी उनकी श्रीमतितर्फ हेर्दै भने, ‘हैन त बुढी ?’
यो अनुभव उनको मात्र होइन, नवलपरासी घर भइ छोरा बुहारीसँग लन्चेस्टन बस्दै आएकी नानीमाया खनालको पनि उस्तै छ ।
‘दसैँको टीकाको दिन सबैले मलाई अभिभावक मानेर मसँग टीका थाप्न आउँदा एकदमै खुशी लागेको छ । नेपालकै झल्को मेटियो,’ उनले अनलाइनखबरसँग भनिन् ।
यही मंगलबार नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले लन्चेस्टनमा रहेका नेपाली अभिभावकहरुको हातबाट उपस्थित नेपालीहरुलाई चौरमा एकमुष्ट टीका लगाइदिने कार्यक्रम आयोजना गरेको थियो ।

कोरोना महामारीका कारण ताज्मानियाबाट अष्ट्रेलियाका अन्य राज्यमा आफन्त भेटघाट गर्न जान नपाइने, नेपालमै गएर दसैँ मनाउँछु भन्दा अन्तर्राष्टिय उडान बन्द भएका कारण जान नपाएकाले यहीका अभिभावकहरुबाट एकमुष्ट टीका थाप्ने कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष नवराज मुडवरीले बताए ।
‘दसैँ भनेको आखिर जहाँ भए पनि आफूभन्दा ठुलाबडासँग टीका र आशीर्वाद थाप्ने त हो,’ उनले भने । ताज्मानिया राज्यमा कोराना संक्रमणको डर नभएकोले पनि सबैलाई भेला पारेर फरक शैलीको दसैँ मनाउने प्रयास गरेको उनको भनाइ थियो ।
उनका अनुसार यहाँ हुर्कँदै गरेका पछिल्लो पुस्ताका नेपालीलाई पनि दसैँलगायतका अन्य चाडवाड र संस्कृतिको बारेमा जानकारी दिने उक्त कार्यक्रमको उद्देश्य रहेको थियो ।
‘यहाँ हुर्कदैं गरेका नयाँ पुस्ताबीच आफ्नो संस्कृति जोगाइराख्न पनि यो कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘उनिहरुले पनि संस्कृति नबिर्सिउन भन्ने हाम्रो उद्देश्य हो ।’
‘विदेशमा बसे पनि आफ्नै बुवाआमासँग टीका लगाएजस्तो महसुस भयो,’ टीका थाप्न आउने नेपाली युवाहरु एक अर्कासँग गफिदै थिए ।



 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4