Comments Add Comment

क्लिन फिडलाई देखाएर केवल सेवाको शुल्क बढाउन प्रस्ताव

१५ कात्तिक, काठमाडौं । विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि मासिक रुपमा ग्राहकले तिर्ने शुल्क बढ्ने केवल सेवा प्रदायकहरूले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले टेलिभिजन हेरेबापतको शुल्क बढ्नसक्ने तर्क उनीहरुको छ ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा विज्ञापनरहित (क्लिन फिड) लागू भएको एक साता पुगेको छ । तर, कतिपय च्यानलहरुले क्लिन फिडका लागि आवश्यक उपकरण जडान गरिनसक्दा प्रसारण बन्द छ ।

क्लिन फिडका लागि प्रयोग हुने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्न सक्ने केवल सेवा प्रदायकहरूले बताएका छन् ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा क्लिन फिडका लागि प्रसारकहरुले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताउँछन् । क्लिन फिड गरिएका च्यानल लिएबापत नेपालका टेलिभिजन वितरकले प्रसारकलाई तिर्ने पैसा पनि बढ्ने र त्यसको भार उपभोक्तामाथि पर्ने उनको भनाइ छ ।

सरकारले टेलिभिजनको आधारभूत सेवा शुल्क निर्धारण गर्ने र विदेशी च्यानललाई प्याकेजमा हेर्न पाउने व्यवस्था नगरे ग्राहकले तिर्नुपर्ने शुल्क निकट भविश्यमा नै बढ्ने अध्यक्ष शर्माले बताए ।

आधारभुत प्याकेज बाहेकका च्यानलहरुमा मनपर्ने च्यानल मात्रै हेर्न पाउने सुविधा नदिने हो भने अहिलेको शुल्कमा २५ देखि ३० प्रतिशत सम्म बृद्धि हुने उनको भनाइ छ ।

सरकारसँगको छलफलरूमा टेलिभिजन वितरकले नेपाली च्यानललाई आधारभूत शूल्क तोकेर विदेशीलाई ऐच्छिकमा राखेर ग्राहकलाई आफ्नो गच्छेअनुसार च्यानल थप्नसक्ने सुविधा दिन प्रस्ताव गरेका छन् । २५० रुपैयाँ न्यूनतम शूल्क राखेर त्यसमा ग्राहकले रोजेको च्यानलअनुसार शूल्क थप्दै लैजाने प्रस्ताव गरेपनि सरकारले अनुमति दिएको छैन ।

डब विज्ञापन कहिले बन्द ? 

यसबाहेक विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशमा बनेका विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौती समेत बढेको विज्ञहरुले बताएका छन् ।

अहिले क्लिन फिडका कारण कतिपय विदेशी च्यानल बन्द भएकाले तत्कालका लागि शुल्क बढाइहाल्नुपर्ने अवस्था नरहेको पनि वितरकहरुको भनाइ छ ।

नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशी) ले विदेशी टेलिभिजन प्रसारणमा क्लिन फिड लागू भएपनि नेपाली टेलिभिजनबाट डब विज्ञापन प्रसारण भइरहेकाले चुनौती अझैपनि बाँकी रहेको बताए ।

नेपाली टेलिभिजन प्रसारकहरुले कुनैपनि विदेशी डब विज्ञापन र विदेशी भाषाको विज्ञापन बजाउन पाउँदैनन् । सरकारले २०७६ कात्तिक ८ गते देखि विज्ञापन नीति लागू भएपनि नेपाली टेलिभिजनहरुले डब विज्ञापन बजाइदिँदा चुनौती थपिएको उनको भनाइ छ । तर विज्ञापन बोर्डले यसको व्यवस्थापन सहजै गर्ने विश्वास रिजालको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौती धेरै भएको बताउँछन् । विज्ञापन बोर्डसामु विज्ञापनदाता, विज्ञापन एजेन्सी, विज्ञापन कार्ममा लागेका व्यक्तिहरु, उद्योगपति व्यापारीहरु, र उपभोक्ता गरी पाँचवटै पक्षलाई समन्वय गर्नुपर्ने प्रमुख चुनौती रहेको उनको भनाइ छ ।
यस्तै समग्र विज्ञापन बजारको अनुगमन गर्नुपर्ने चुनौती पनि छ । त्यसैले बोर्डमा व्यवसायिक व्यक्तिहरु संलग्न हुनुपर्ने हुमागाईंले बताए ।

सरकारले २०७६ कात्तिक ८ गते देखि विज्ञापन नीति लागू गरेपछि क्लिन फिड कार्यान्वयनमा ल्याउनका लागि एक वर्ष अर्थात २०७७ कात्तिक ७ गते सम्मको समय दिइएको थियो । कात्तिक ७ गते पछि किल्नफिड लागू भएको छ । तर, आवश्यक तयारी नपुगेको भन्दै अधिकांश विदेशी च्यानलहरुले क्लिन फिड गरिएको प्रसारण सामग्री नदिँदा धेरै च्यानल बन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment