+
+
Shares

पिच गरेको भाेलिपल्टै उप्कियो वीरगञ्ज–ठोरी हुलाकी सडकको कालोपत्रे

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते १६:४७

१७ कात्तिक, वीरगञ्ज । निर्माणाधिन वीरगञ्ज ठोरी हुलाकी सडकको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । ठोरी गाउँपालिका–३ ढुंगे बजार क्षेत्रको सडकमा पिच गरेको भोलिपल्टै कालोपत्रे उप्किएपछि ठेकदारप्रति स्थानीय असन्तुष्ट भएका हुन् ।

पिच गरेको भोलिपल्टैदेखि कालोपत्रे उप्किन थालेको उनीहरुको भनाइ छ । दसैंको बेला स्थानीय बासिन्दा आ–आफ्नै घरायसी पाठ पूजा र पर्व मनाउन व्यस्त रहेको समयमा निर्माण कम्पनीले हतारमा गुणस्तरहीन काम गरेको आरोप ढुङ्गे बजारका स्थानीयको छ । कात्तिक ८, ९ र १० गते गरिएको कालेपत्रे उप्किएको उनीहरुको भनाइ छ ।

पिचको बीच भागमा औँलाले कोट्याउँदा पिच उप्कने गरेको स्थानीय शिक्षक किसन बस्नेतले बताए । ‘पिच गरेको भोलिपल्टैदेखि औँलाले उप्काउँदा पनि पिच उप्किरहेको छ । त्यसमा ठूला ठूला सवारी साधन गुड्दा के होला ? यस्तो पिच कतिदिन टिक्ला ?’ उनले भने, ‘पिच गर्दा लापरबाही भएको छ भनेर आवाज उठाउँदा पनि कतैबाट सुनुवाई भएको छैन ।’

हुलाकी सडक निर्माण परियोजनाका प्राविधिकहरूका अनुसार डबल कोड अर्थात दुई लेयरको कालोपत्रे गर्नुपर्ने हुन्छ । पहिलो लेयरभन्दा दोस्रो अर्थात अन्तिम लेयर राम्रोसँग जाम हुनुपर्छ । तर स्थानीयका अनुसार ढुंगे बजार क्षेत्रमा पहिलो लेयरभन्दा दोस्रो लेयर बुरबुराउँदो, छिद्र भएको र एकापसमा जाम नभएको अवस्थामा छ ।

बानियाँ निर्माण सेवाका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले भने कालोपत्रे गर्दा कुनै कमजोरी नभएको दावी गरेका छन् । उनले राम्रोसँग पिच बसिनसकेको अवस्थामा भोलिपल्टै गएर साबेल र रडले कोट्याएकोले पिच भत्किएको बताए । ‘सम्झौतामा उल्लेख भए अनुसारकै काम हामीले गरेका छौं । बेलुका ४०÷४५ डिग्रीको तापक्रममा हालिएको पिच भोलिपल्टै गएर उप्काउँदा त उप्किहाल्छ नी,’ उनले भने, ‘प्राविधिकले पिच राम्रोसँग बस्न बीच सडकमा कम्तीमा ४ दिन र छेउ छाउमा ७ दिनसम्म लाग्छ भनेका छन् ।’

हुलाकी निर्माण आयोजना कार्यालय, भारतीय कन्सल्टेन्सी र निर्माण कम्पनीको प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्दा गुणस्तरमा कुनै कमजोरी नदेखिएको बताएको उनको दाबी छ ।

‘गुणस्तरमा लापरबाही भएको कुरामा सत्यता छैन, अलिदिन हेरौं भन्ने सल्लाह प्राविधिक टोलीले दिएकोले मर्मत नगरेका हौं,’ न्यौपानेले भने, ‘हामीले त्यस क्षेत्रमा सवारी साधन समेत गुडाइरहेका छौं, अझै एक साता हेर्छौँ, त्यसपछि आवश्यकता देखिए मर्मत गर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?