Comments Add Comment

ठेक्कामा शैलुङको शैली : मोबिलाइजेसन रकम लिने, काम नगर्ने

शारदाप्रसाद अधिकारी

१८ कात्तिक, काठमाडौं । ललितपुरको सुनाकोठीवासीले आइतबार सडक अवरुद्ध गरेर अनिश्चितकालीन बन्द घोषणा गरेका छन् ।

विस्तारका लागि भनेर भत्काइएको सडक वर्षौं अलपत्र छाडेपछि स्थानीयले पटक–पटक यस्तो आन्दोलन गर्दै आएका छन् । चार महिनाअघि पनि उनीहरु यसैगरी आन्दोलित बनेका थिए । त्यति बेला तुरुन्तै सडक कालोपत्रे गर्ने सहमतिमा आन्दोलन रोकिएको ललितकृष्ण महर्जन बताउँछन् ।

स्थानीयले सडक भत्काएर अलपत्र छाड्ने ठेकदारविरुद्ध विभिन्न ठाउँमा ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार !’ नारा लेखेर टाँसेका छन् ।

ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले सडकको एक खण्डको ठेक्का दिवा–शैलुङ जेभीले लिएको ६ वर्ष बित्यो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारी यो सडक खण्डको ठेकदार हुन् । प्रचण्ड बसेको अधिकारी निवास यही सडक खण्डको ढोलाहिटीमा छ । त्यहाँसम्म सडक बिस्तारको काम सकिएको पनि छ ।

आफू बसेको घरसम्म सडक चिल्लिएपछि दाहाललाई कुनै सास्ती छैन । त्योभन्दा पश्चिमका जनताको दिन भने मौसम अनुसार धुलो र हिलोमा गुम्सिएको छ । उनीहरु अधिकारी र उनको शैलुङ कन्स्ट्रक्सनसँग मात्र नभई नेता दाहालसँग पनि रुष्ट छन् ।

काठमाडौं सडक विस्तार आयोजनाले ठेक्का लगाएको यो सडक खण्ड रुग्ण अवस्थामा पुग्दा पनि शैलुङले काम सक्न पटक्कै चासो दिएको छैन ।

शैलुङको बदमासी यहाँ मात्रै छैन । शैलुङ ग्रुप अफ इन्डस्ट्रिज अन्तरगतको शैलुङ इन्टरप्राइजेजले २५ हजार टन युरिया मलको ठेक्का हत्याएर काम गरेन । मल ल्याउने अर्को ठेक्का पनि शैलुङकै हातमा छ ।

यो पनि पढ्नुहोस शैलुङले अर्को ठेक्काको ३० हजार मेट्रिकटन मल पनि समयमै नल्याउने

शैलुङको बदमासीका कारण नेपालका धेरै विकास आयोजनाहरु प्रभावित छन् । ठेक्का लिएर मोबिलाइजेसन रकम बुझेपछि आयोजनाहरु अलपत्र छाड्ने शैलुङको प्रवृत्तिले सबभन्दा आजित त सडक विभाग नै छ ।

नगरकोट सडकको बेहाल

योजनाअनुसार दुई वर्षभित्र विस्तार भइसक्नुपर्ने हो, भत्केकोपाटी–नगरकोट सडकखण्ड । तर ठेक्का लागेको साढे ६ वर्षमा पनि बनेन ।

फटाफट ठेक्का हत्याएर काम नगर्ने शैलुङ कम्पनी कहिल्यै कालोसूचीको सिफारिसमा पर्दैन । थुप्रै सडक आयोजनाहरु रुग्ण बनाउँदा पनि सडक विभागका हाकिमहरु शारदाप्रसाद अधिकारीप्रति नतमस्तक नै देखिएका छन्

काम हुँदै नभएपछि २०७६ कात्तिकमा ठेकदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध भयो, तर अझै पनि यो खण्डमा कालोपत्रे गर्ने काम सकिएको छैन ।

भत्केकोपाटी–खरिपाटी–तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सक्ने जिम्मा शैलुङ कन्सट्रक्सनले पाएको छ । तर, काम कहिले सकिने भन्ने टुंगो छैन । अलपत्र छाडिएको सडकमा खाल्डैखाल्डा छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने हुँदा स्थानीयबासी हैरान छन् ।

सडकखण्ड अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयहरु सबैभन्दा बढी पीडित छन् । यो सडक समयमै नबन्दा नगरकोट जाने पर्यटक पनि प्रभावित हुँदै आएका छन् ।

पाँच पटक म्याद थप्दा पनि काम नभएपछि स्थानीय आक्रोशित छन् । २०७१ जेठबाट निर्माण सुरु भएको यो सडक ०७३ को जेठसम्म बन्नुपर्ने हो । तर, शैलुङ कन्सट्रक्सनको ताल हेर्दा यो खण्डको काम कहिले सकिन्छ, यसै भन्न नसकिने बताउँछन् सडक विभागका महानिर्देशक केशवकुमार शर्मा ।

यो सडक बिस्तारमा भारतीय एक्जिम बैंकको ३० करोड लगानी छ ।

कलंकी–नागढुंगामा अपुरो काम

नागढुंगा–कलंकी सडक खण्डको ठेकदार पनि शैलुङ नै हो । यो खण्डको मुख्य काम निकै ढिला गरेर गत वर्ष सकिए पनि मेडियन र ढलको व्यवस्थापनको काम बाँकी छ । त्यसैकारण यो सडक अझै शैलुङले सडक विभागलाई हस्तान्तरण गरेको छैन ।

विभागका महानिर्देशक शर्माका अनुसार शैलुङले बाँकी काम सकेर सडक हस्तान्तरण गर्न चासो दिएको छैन । यो सडक विस्तारमा भएको ढिलासुस्ती र लापरवाहीले स्थानीयलाई  चार वर्षसम्म धुलो खुवायो, यात्रुलाई पनि त्यतिकै सास्ती दियो ।

नुवाकोट जाने सडकमा मनलाग्दी

सडक विभागका अनुसार बालाजु–रानीपौवा सडकको जिम्मा पनि शैलुङकै हातमा छ । यो ठेक्का पनि वर्षौंदेखि अल्झाएर राखिएको छ ।

यो खण्डमा पनि लामो समयदेखि भारतीय कम्पनीसँग जेभी (संयुक्त) गरेको शैलुङले काम नगर्दा समस्या भएको महानिर्देशक शर्माले बताए ।

नुवाकोट (ककनी) जाने सडकको हालत खराब भएको वर्षौँ बित्यो, तर शैलुङले अरु सडकलाईजस्तै बेहाल बनाएर छोडेको छ ।

साना सडकमा पनि शैलुङको त्यस्तै शैली छ । बालकुमारीबाट हनुमन्ते दोभानसम्मको सडकलाई पनि शैलुङले असरल्ल पारेर छाडेको छ । सडक डिभिजन कार्यालयका अनुसार त्यहाँ देखिएका केही समस्या समाधान गरेर काम सक्ने जाँगर शैलुङले देखाएको छैन ।

स्थानीयले सडक निर्माण छिटो गर्न पटक–पटक ध्यानाकर्षण गराए पनि काम भएको छैन ।

कपनका सडकको बिजोग

कपन क्षेत्रमा ३ वटा सडकका ठेक्का यही कम्पनीले पाएको छ । समयमै काम नभएर पटक–पटक म्याद थपिसकिएको छ । शैलुङले आकाशेधारा–राममन्दिर सहितका ३ वटा खण्डको ठेक्का लिएर वर्षौंदेखि काम अलपत्र पारेको छ । यो खण्डमा काम नभएपछि सांसद गगन थापा काठमाडौं सडक डिभिजन कार्यालयमा गत वर्ष धर्ना नै बसेका थिए । शैलुङले भने कानमा तेल हालेरै जित्यो ।

मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउँदा भत्काइएका सडक बनाउने ठेक्का पनि शैलुङले नै पाएको छ । कुनै सडक समयमै पिच भने भएका छैनन् ।

निरीह सडक विभाग

सडक विभागका महानिर्देशक शर्मा सरकारले सार्वजनिक खरिद नियमावलीमार्फत म्याद थपको प्रावधान ल्याएकाले ठेक्का तोडेर अघि बढ्न नसकिएको बताउँछन् ।

कतिपय खण्डमा काम अन्तिममा पुगेर अलपत्र परेकाले ठेक्का तोड्न असहज भएको उनले बताए । केही खण्डमा भने काम नै नभएकाले ठेक्का तोड्नैपर्ने अवस्था देखिएको शर्माको भनाइ छ ।

शैलुङले प्रायः आयोजनाहरुको लागत अनुमानभन्दा निकै कम मूल्य राखेर टेन्डरमा सहभागी हुने गरेको छ । यसले गर्दा शैलुङले एकपछि अर्को ठेक्का पाउने गरेको छ ।

त्यसरी फटाफट ठेक्का हत्याएर काम नगर्ने शैलुङ कम्पनी कहिल्यै कालोसूचीको  सिफारिसमा पर्दैन । थुप्रै सडक आयोजनाहरु रुग्ण बनाउँदा पनि सडक विभागका हाकिमहरु शारदाप्रसाद अधिकारीप्रति नतमस्तक नै देखिएका छन् ।

यो पनि पढ्नुहोस कलंकी-नागढुंगा सडक, जहाँ सरकार छ !

मोबिलाइजेसनबाट धन्दा

ठेक्का हत्याएर मोबिलाइजेसन रकम लिएर गुमनाम हुनु शैलुङ शैली भैसकेको छ । उसले ठेक्काहरुबाट लिएको मोबिलाइजेसन रकम अन्यत्र लगानी गर्ने गरेको छ ।

‘शैलुङ ग्रुप अफ कम्पनिज’ अन्तरगत चार कम्पनी– शैलुङ कन्स्ट्रक्सन, शैलुङ इन्टरप्राइजेज, शैलुङ इन्भेष्टमेन्ट ग्रुप र शैलुङ पावर कम्पनी छन् ।

निर्माणबाहेकका मालसामान खरिदको ठेक्कापट्टा र ब्यापारसम्ममा अधिकारीले यिनै कम्पनीमार्फत लगानी गर्छन् । एक व्यवसायको उधारो र तिरोतारो टार्न अर्को कम्पनीको रकम सोझै प्रयोग गर्ने गर्दा शैलुङको व्यवसाय धरापमा परिसकेको अधिकारीका निकटस्थहरु बताउँछन् ।

‘एउटा ठेक्काको मोबिलाइजेसन लिएर अर्कोको भ्वाङ टाल्न लैजान्छन्,’ एक व्यवसायी भन्छन्, ‘कम रकम कबोल गरेर ठेक्का लिँदा त्यसै पनि समस्या भइरहेको हुन्छ । त्यसमाथि कम्पनीको व्यवस्थापकीय क्षमता पनि कमजोर छ । राजनीतिक पहुँच–प्रभावले मात्र कम्पनी चल्दैन ।’

यो पनि पढ्नुहोस प्रधानमन्त्रीले भने : काठमाडौंको सडक धोइन्छ, जताततै सरकार देखिन्छ यो पनि पढ्नुहोस बहस : काठमाडौंको सडक धुने कि धुलोको स्रोत थुन्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment