+
+
Shares

भारतीय सेना प्रमुख आउनुअघि काठमाडौंमा सुरक्षा सतर्कता

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते २१:५०

१८ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले चकजाँच बढाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारी स्वरुप चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो ।

रानीपोखरीका एक प्रहरी अधिकृतका अनुसार नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले तिहारका लागि सुरक्षा योजना पनि कार्यान्वयनमै रहेका वेला हुन लागेको नरभानेको भ्रमणलाई लक्षित गरेर पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएर सम्मान गर्ने पुरानै परम्परा हो । तर नरभानेले नेपाल–भारत सीमा विवादमा दिएको विवादास्पद अभिव्यक्तिका कारण उनलाई सुरक्षा चुनौति रहेको सुरक्षा निकायको विश्लेषण छ ।

नरभानेले दिल्लीको सुरक्षा तथा रणनीतिक मामिलाका थंक ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको कार्यक्रममा नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको बताएका थिए ।

यही अभिव्यक्तिका कारण उनलाई विभिन्न समूहले कालो झण्डा देखाउन सक्ने, कफन बाँधेर बस्ने, कालो कपडा देखाउने र भिड जम्मा भएर विरोध प्रदर्शन हुनसक्ने विश्लेषण नेपालस्थित भारतीय दुतावासको पनि छ । त्यसअनुसार प्रहरीले सम्भावित समूह र व्यक्तिमाथि निगरानी बढाएको छ । यो समाचार तयार पारुञ्जेलसम्म प्रहरीले कसैलाई नियन्त्रणमा लिइसकेको भने छैन ।

‘केही व्यक्ति जो पटकपटक भीआईपी आउने वित्तिकै यस्ता खाले क्रियाकलापमा संलग्न हुन्थे, उनीहरु हाम्रो निगरानीमा छन्’, एक वरिष्ठ अधिकृतले अनलाइनखबरसँग भने, ‘यसपटक नरभानेको भ्रमणको विरोध जनाउँदै अभिव्यक्ति दिएका व्यक्तिको गतिविधिलाई पनि नजिकबाट नियालिरहेका छौं ।’ आवश्यकता अनुसार उनीहरुलाई नियन्त्रणमा समेत लिइने प्रहरी अधिकृतहरुको भनाइ छ ।

नरभानेको सुरक्षा चुनौतिकै कारण भारतले उनको नेपाल आगमनको समय तालिका सार्वजनिक गरेको छैन । साथै, पूर्वनिर्धारित समय तालिकामा पनि केही फेरबदल गर्नुपर्ने हुनसक्ने सुरक्षा सम्बद्ध स्रोतको भनाइ छ ।

तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका नरभानेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गर्नेछन् । साथै, प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।

फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्नेछन् । नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय समाचार एजेन्सी एएनआईसँग बोल्दै भारतीय सेनाध्यक्ष नरभानेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउने भनेका छन् ।

नेपालका सैन्य मामिलाका जानकारहरुले पनि नाकाबन्दीमा जस्तै यो पटकको सीमा विवादमा पनि सैन्य कुटनीतिले संवादहीनता अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषण गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?