Comments Add Comment

प्रधानमन्त्री ओलीको भारतलाई सन्देशः सबै विषय संवादबाटै हल गरौं

२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत बीचका समस्या वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

मानार्थ महारथीको सम्मान लिन नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले पारस्परिक समानता र सम्मानका दुई देशको सम्बन्ध अझ उचाईमा पुर्‍याउनुपर्ने बताएका हुन ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भने, ‘हाम्रा बीचमा कतिपय समस्या छन् । ती समस्याको वार्ताबाट समाधान गरिनुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’

नियमित वार्ता र सम्वादमार्फत विगतदेखिका समस्या समाधान गर्दै दुई देशको सम्बन्धलाई आजको युग सुहाउँदो र समय सान्दिर्भक बनाएर लानु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएको पनि भट्टराईले जानकारी दिए ।

दुई देशबीचको पछिल्लो विवादको जड भने सर्वे अफ इन्डियाले जारी गरेको भारतको राजनीतिक नक्सा हो । २ नोभेम्बर २०१९ जारी नक्सामा कालापानी, लिपुलेक लगायतका नेपाली भूभाग भारततर्फ देखाइएको छ ।

भारतले विवाद नक्सा जारी गरेपछि नेपालले वार्ताबाट समस्याकोमा समाधान गर्न पटकपटक आग्रह गरेको थियो । नेपालले दुई देशका औपचारिक संयन्त्रहरुमार्फत सम्वाद गर्ने प्रयास गरेपनि भारतले कोभिड-१९ लाई बहाना बनाएर टार्दै आएको थियो ।

त्यसपछि भने नेपालले सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा सहितको नक्सा जारी गर्‍यो । नेपालले लिपुलेक, कालापानी र लिम्पयाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारत रुष्ट बनेको छ ।

हालै मात्र भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री ओलीलाई भेटेका थिए । त्यसलगतै भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमण भएको हो ।

रक्षा मन्त्रालयको जिम्मेवारी समेत लिएका प्रधानमन्त्री ओलीसँग भएको भेटका क्रममा नरवणेले आफ्नो सेना प्रमुखसँग पनि भेटवार्ता भएको र दुई देशको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ भन्ने सन्देश लिएर फर्किन लागेको बताएका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देश समेत सुनाएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । छलफलमा नेपाल र भारतबीचको विस्तृत दुईपक्षीय साझेदारीबारे छलफल भएको दूतावासले जनाएको छ ।

भेटमा भारतीय राजदूत विनय मोहन क्वात्रा तथा अन्य भारतीय अधिकारी उपस्थित थिए ।
भारतीय सेना प्रमुख नरवणेले शुक्रबार नै शिवपुरीस्थित आर्मी स्टाफ कलेजमा गएर प्रशिक्षार्थीसँग अन्तरक्रिया समेत गरेका छन् । त्यसक्रममा उनले आफ्नो सैनिक जीवनको अनुभव सुनाएको सहभागी एक अधिकृतले बताए ।

सुरक्षा चासोबारे छलफल भयो : नेपाली सेना

नेपाली सेनाका प्रधासेनापति पूर्णचन्द्र थापा र उनका समकक्षी नरवणले बिहीबार जंगीअड्डामा शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसक्रममा सुरक्षा चासोको विषयमा खुला छलफल भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्देशनालयका अनुसार दुई देशको सुरक्षाको विषयमा भ्रमण, तालिम लगायत अन्य सहयोग बढाउने विषयमा समेत दुई समकक्षीबीच छलफल भएको छ ।

नेपाल भ्रमणका क्रममा नरवणेले आफ्नो विगि्रएको छविलाई सुधार्ने प्रयास गरेको अधिकृतहरूको विश्लेषण छ ।

नयाँ नक्सा जारी गरेपछि नरवणेले दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाल कसैको उक्साहटमा लागेको भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए ।

यही अभिव्यक्तिलाई लिएर नरवणेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न दिन नहुने एकथरीको मत थियो । त्यो पृष्ठभूमिमा नेपाल आएका उनले वसन्तपुर, पशुपतिनाथ लगायतका धार्मिक सम्पदाहरूको भ्रमण गर्दा ढाका टोली लगाएका थिए ।

जंगीअड्डाका वरिष्ठ अधिकृतहरूसँगको अन्तरक्रिया होस् वा रात्रि भोज लगायतका कार्यक्रममा उनी संयमित रुपमा प्रस्तुत भएको अधिकारीहरू बताउँछन् । ‘त्यतिधेरै नबोली जानु पनि अर्थपूर्ण छ’, एक अधिकारी भन्छन् ।

स्वास्थ्य सहयोग आदान-प्रदान

नरवणेले नेपाल भ्रमणका क्रममा नेपाल-भारत संयुक्त सुरक्षा बैठकको निर्णय अनुसार दुई वटा फिल्ड अस्पताल निर्माणका लागि आवश्यक स्वास्थ्य उपकरणहरु सहयोग गरेका छन् ।

उनले एम्बुलेन्स, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतलाई एक लाख वटा मेडिकल मास्क र गौतम बुद्धको प्रतिमा उपहार दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment