Comments Add Comment

मेसीले दोस्रो हाफ मात्र खेलेर दुई गोल गर्दा बार्सिलोनाको सहज जित

२३ कात्तिक काठमाडौं । कप्तान लिओनल मेसीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल बेटिसमाथि सहज जित हात पारेको छ ।

घरेलु मैदान कयाम्पनोउमा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा रहेर खेल अन्त्य गरेको बेटिसलाई ५-२ ले पराजित गरेको हो । बार्सिलोनाका लागि ओसमान डेम्बेले, एन्टोनी ग्रीजमन र पेड्रीले एक-एक गोल गरे ।

खेलको २२औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३३औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर पार्ने अवसर गुमायो । बार्सिलोनाले पेनाल्टी प्राप्त गरेपनि ग्रीजमनको पेनाल्टी प्रहार बार्सिलोनाकै पूर्व गोलकिपर क्लाउडियो ब्राभोले बचाए । पहिलो हाफको इन्जुरी टाइममा एन्टोनियो सानाब्रिएले बेटिसका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा युवा स्टार अंशु फाटीको स्थानमा मेसी मैदान प्रवेश गरेपछि बार्सिलोनाले चार गोल थप्यो । ४९औं मिनेटमा ग्रीजमनले गोल गर्दा बार्सिलोनालाई फेरि अग्रता दिलाए । ६२औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गरेपछि बार्सिलोनाले ३-१ को अग्रता बनायो ।

बेटिसका बइसा मान्डीले गोललाइनमा बल ह्याण्ड गर्दा भिएआरमार्फत बार्सिलोनाले पेनाल्टी पाएको हो । मान्डी रातो कार्ड खाँदै मैदान बाहिरिँदा बेटिसलाई अर्को झड्का लाग्यो । यद्यपि ७३औं मिनेटमा बेटिसले गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरेको थियो । तर ८२औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ४-२ को अग्रता बनायो ।

९०औं मिनेटमा युवा खेलाडी पेड्रीले लिगमा पहिलो गोल गरेपछि बार्सिलोनाले ५-२ को जित हात पारेको हो ।

यस सिजन ७ खेल खेलिसक्दा तेस्रो जित हात पारेको बार्सिलोना ११ अंक जोड्दै अंक तालिकामा आठौं स्थानमा उक्लेको छ । पराजित बेटिस ९ खेलबाट १२ अंकसहित बार्सिलोना भन्दा अघि सातौं स्थानमा छ । ८ खेलबाट १७ अंक जोडेको रियल सोसिडाड शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment