Comments Add Comment

कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु

२४ कात्तिक, विराटनगर । मोरङमा कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु भएको छ । केराबारी गाउँपालिका –३ मा ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको हो ।

केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरूषको आइतबार र उनको ५७ वर्षीय भाइको १८ कात्तिकमा मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भाइको मृत्युले शोकमा डुबेको परिवारमा दाजुको मृत्युपछि थप शोक थपिएको छ ।

आइतबार मृत्यु भएका ५९ वर्षीय पुरूषमा ७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । दसैंको टीकाको दिनयता उनी अस्पतालमा थिए । उपचारका क्रममा आइतबार बिहान करिब ९ बजे विराट मेडिकल कलेजमा उनको मृत्यु भएको हो । उनलाई सुरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा बेड खाली नभएपछि विराटमा भर्ना भएका थिए ।

मृतकका ५७ वर्षीय भाइमा भने ५ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा १८ कात्तिकमा मृत्यु भएको हो । कोरोना संक्रमणका कारण मृत्यु भएका उनी शिक्षक हुन् । उनी पालिका स्तरीय कोभिड १९ नियन्त्रण समिति सदस्य पनि थिए ।

केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीका अनुसार मृतक ५९ वर्षीय पुरूष २०५४ सालमा तत्कालिन केराबारी गाबिस– ४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी समाजसेवामा सक्रिय थिए । ‘उहाँहरू एकै परिवारको हुनुहुन्छ,’ उनले भने, ‘कोरोना संक्रमणका कारण ६ दिनको अन्तरमा बित्नुभयो ।’

यस अघि झापामा पनि कोरोना संक्रमणका कारण दाजुभाइको मृत्यु भएको थियो । १४ कात्तिकमा विराटनगरको नोबेल मेडिकल कलेजमा दाजु र कत्तारमा भाइको मृत्यु भएको थियो । झापाको शिवसताक्षी नगरपालिका–२ का ३८ वर्षीय दाजु र उनका ३० वर्षीय भाइको चार महिनाको अन्तरमा मृत्यु भएको थियो ।

१४ भदौमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आमा छोराको मृत्यु भएको थियो । धरान–१७ का ६० वर्षीय पुरुष छोरा र ७४ वर्षीष आमाको करिब ४५ मिनेटको अन्तरमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment