Comments Add Comment

११ दिनपछि खुल्यो बेनी बजार

२६ कात्तिक, बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार ११ दिनपछि खुलेको छ ।

लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको थियो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी नगरपालिकाले जोखिममा रहेको बेनी बजारमा घरदैलो गरेर कोरोनाको जोखिम पहिचानका विषयमा तयार पारेको प्रतिवेदनसहितको सिफारिसका आधारमा बन्द खुलाइएको जानकारी दिए ।

कोरोना फैलिन नदिन नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक, वित्तीय संस्था र सहकारी संस्थाको सेवाका साथै बजारका पसलहरु बन्द गरिएको थियो ।

पाँच सय ८१ घरका तीन हजार ९९० जनासँग भेटघाट गर्दा पहिचान भएका १३ जनाको कोरोना संक्रमणसँग मिल्ने लक्षण भएकाको नमूना संकलन गरी पिसीआर परीक्षणका लागि पठाइएको र होम आइसोलेसनमा राखिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लीला गौतमले बताइन् ।

घरदैलो गरेको टोलीको प्रतिवेदनको आधारमा नगरपालिकाले बजारमा कोरोना नियन्त्रणमै रहेको ठहरसहित जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बन्द खोल्न सिफारिस गरेको थियो ।

प्रशासनले भिड व्यवस्थापन, दूरी कायम, स्यानिटाइजर र मास्कको प्रयोग तथा हात धुने व्यवस्थासहित बजार तथा सेवा खुलाएको हो । तिहारको अवसरमा देउसीभैलो खेल्न, मेला महोत्सव र भेला गर्न भने रोक लगाइएको छ । प्रशासनले परिवारका सदस्य मात्रै भएर पर्व मनाउन नागरिकलाई आग्रह गरेको छ ।

मंगला गाउँपालिकाले मंसिर १ गते र मालिका गाउँपालिकाले २६ गतेसम्मलाई गरेको सेवा तथा बजार बन्दलाई यथावत राखेका छन् ।

बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले कात्तिक १९ देखि गरेको बजार तथा सेवा बन्दलाई कोरोना संक्रमित पहिचान हुने दर बढेकाले कात्तिक २८ गतेसम्म लम्ब्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment