
२६ कात्तिक, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभाको किमाथांका पुगेर कोशी करिडोरको त्रिदेशीय महत्वको सडकको अनुगमन गरे ।
भारतीय सीमा क्षेत्र मोरङको रानीदेखि चीनको सीमा क्षेत्र संखुवासभाको किमाथाङ्का जोड्ने यो सडकको संखुवासभाको च्याम्ताङमा नेपाली सेनाले गरिरहरको ट्र्याक खन्ने कामको अनुगमन गर्न उनी पुगेका हुन् ।
उनले सडक निर्माण परियोजनाको अवस्था र भौगोलिक कठिनाइका बारेमा ब्रिफिङ सुनेर फर्किएका छन् ।
उत्तर दक्षिण कोशी राजमार्ग आयोजनाका प्रमुख गौतम श्रेष्ठका अनुसार संखुवासभाको उत्तरी क्षेत्रमा १४ किलोमिटर ट्रयाक खोल्ने काम बाँकी छ । त्यसको जिम्मा नेपाली सेनाले लिएको छ ।
सेनाले ट्र्याक खनिसकेपछि सडक चीनसँग जोडिनेछ ।
आयोजना प्रमुख श्रेष्ठका अनुसार लकडाउनका कारण ट्रयाक खोल्ने काम प्रभावकारी रुपमा भएको छैन । ‘कोरोना महामारीका कारण तीब्रगतिमा काम भएको छैन’ उनले भने ‘तर काम रोकिएको छैन, थोरै जनशक्ति प्रयोग गरेर भएपनि काम भइरहेको छ ।’
आयोजनाले संखुवासभाको खादबारीदेखि उत्तर तर्फको १६५ किलोमिटर क्षेत्रको काम गर्दै आएको छ । उनका अनुसार विराटनगरबाट खादबारीसम्म भने कालोपत्रे सडक छ ।
चर्चा धेरै काम सुस्त
विराटनगरसहित पूर्वक्षेत्रको व्यापार र विकाससँग जोडिएको त्रिदेशीय सडक सञ्जालको चर्चा बढी भए पनि निर्माण भने सुस्त छ ।
कुल ३९० किलोमिटर लामो यस सडकको रानीदेखि धरानसम्मको ४९ किलोमिटर सडकलाई ६ लेन फराकिलो बनाउने काम जारी छ । धरानदेखि खादबारीसम्म भने दुई लेनको सडक छ ।
रानी विराटनगर– धरान परियोजना पाँच वर्षमा सक्ने गरी २०६९–२०७० मा सुरु भएको थियो । तर २०७७–७८ को हालसम्म करिब ६५ प्रतिशत काम भएको रानी विराटनगर धरान ६ लेन परियोजना प्रमुख बद्रीप्रसाद शर्मा बताउँछन् ।
उनका अनुसार यस सडकमा ठेक्का लगाइएको १९ वटा प्याकेजमध्ये केहीको काम सकिने क्रममा छ र केही भर्खरै सुरु हुने क्रममा छ । अब तीन वर्षमा काम सक्ने उनको भनाइ छ । यो सडकको लागत १० अर्ब ५८ करोड तोकिए पनि समयमा पूरा नहुँदा लागत पनि बढ्ने देखिन्छ ।
रानी किमाथांका सडक निर्माण सकिएर सञ्चालनमा आएपछि प्रदेश १ तीन देशको व्यापारिक मार्ग बन्ने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बताउँछन् ।
‘भारत बंगलादेश र भुटानको व्यापारका लागि ट्रान्जिट पोइन्ट बन्न सक्छ’ उनी भन्छन् ‘अहिले हामीले सामग्री पठाउनु पर्दा कलकता पोर्ट हुँदै पठाउनुपर्छ । किमाथाङ्काबाट सिधै पठाउन सकियो भने चिनिया बजारमा प्रतिस्पर्धा गर्न पनि सक्छौं ।’
भारत र चीन जोड्ने सडकले पूर्वी नेपाल मात्र नभई समग्र देशकै अर्थतन्त्रलाई चलयमान बनाउन भूमिका खेल्ने व्यवसायी सोम अधिकारी बताउँछन् ।
‘किमाथाङ्का पारिपट्टी चीनले सडक सञ्जाल विस्तार गरिसकेको छ,’ उनले भने ‘नेपालको उत्तरतर्फको अधिकांश नाकामा हिउँ पर्छ । तर किमाथाङ्कामा हिउँले असर नगर्ने भएका कारण बाह्रै महिना आवतजावतमा समस्या हुँदैन ।’
सडक सञ्चालनमा आएपछि यो नाका तातोपानीको विकल्प बन्न सक्ने बताए । उनले भने ‘समयमा नै निर्माण सक्ने हो भने कृषि, पर्यटन र उद्योग क्षेत्र फस्टाउछ ।’
प्रतिक्रिया 4