३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले यस सिजनको बिग बास लिग (बीबीएल) टी२० क्रिकेट होबार्ट हुरिकेन्सबाट खेल्ने सम्भावना रहेको छ । युवा स्टार स्नदीपले यसअघि दुई सिजन मेलवर्न स्टार्सबाट लिग खेलेका थिए ।
यस सिजनका लागि स्टार्सले सन्दीपलाई रिटेन गरेको छैन र सन्दीपले नयाँ टिमबाटै लिग खेल्ने पक्का छ । तर कुन टिमबाट खेल्ने अन्तिम निर्णय भने हुन बाँकी छ ।
यसै सन्दर्भमा सन्दीपको पूर्व टोली स्टार्सले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको हुनाले सन्दीपले खेल्ने नयाँ टिम होबार्ट हुने सम्भावना भएको हो ।
अष्ट्रेलियन अनलाइन क्रिकेट डट कम डट एयु ले सन्दीपको नाम होबार्टसंग जोडिएको जनाएको छ । स्टार्सले अफगानिस्तानका जाहिर खानलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि जोनी बेयर्स्टोव र निकोलस पुरनलाई स्टार्सले अनुबन्ध गरिसकेको छ । यस सिजन बीबीएलमा हरेक टिमले तीन विदेशी खेलाडी एकै पटक खेलाउन पाउने नयाँ नियम रहेको छ ।
उता होबार्ट भने अफगानिस्तानका अर्का स्पीनर क्वाइस अहेमदको विकल्प खोज्दैछ । क्वाइस यस सिजन बीबीएलमा उपलब्ध हुने छैनन् ।
‘सन्दीप होबर्टसँग जोडिएका छन् । होबर्ट केइस अहमेदलाई बिस्थापित गर्त स्पिनर खोजिरहेको छ । जो यस बीबीएलमा उपलब्ध हुने छैनन्,’ क्रिकेट अष्ट्रेलियाले आफ्नो वेबसाइटमा लेखेको छ ।
यस अघि डेलीमेलले समेत सन्दीपले होबार्टबाट खेल्ने बताएको थियो । सन्दीपका व्यवस्थापकमा रुपमा रहेका रमन शिवाकोटीले यसअघि नै सन्दीपले नयाँ टिमबाट बीबीएल खेल्ने बताएका थिए ।
होबार्टले यस सिजनका लागि विदेशी खेलाडीको रुपमा इंग्ल्याण्डका डेभिड मालान र वेष्ट इन्डिजका किमो पउललाई अनुबन्ध गरिसकेको छ र आफ्नो अन्तिम विदेशी खेलाडी बिहीबार सार्वजनिक गर्दैछ ।
प्रतिक्रिया 4