Comments Add Comment

केपी ओलीको कदम स्वागतयोग्य : नारायणकाजी श्रेष्ठ

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको काउन्टरमा अर्को प्रस्ताव ल्याउन लागेकोमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसलाई ‘स्वागतयोग्य कदम’ भनेका छन् ।

‘यो एकदमै सही कदम हो । कमरेड प्रचण्डले प्रस्ताव ल्याउनुभो, त्यो प्रस्ताव ल्याइसकेपछि त्यसमाथि छलफल गर्नैहुन्न भन्ने विभिन्न कोणबाट कुराहरु पनि उठेको देखियो । तर, आज अध्यक्ष कमरेड केपी शर्मा ओलीले नै म अर्को प्रस्ताव ल्याउँछु भनेर भनिसकेपछि त्यो अत्यन्तै सकारात्मक कदम हो,’ प्रवक्ता श्रेष्ठले अनलाइनखबरसँग भने, ‘त्यसलाई हामीले स्वागत गर्नुपर्छ ।’

यसरी दस्तावेजहरुसहित छलफल गर्दा पार्टी एकताको रक्षा हुने र पार्टी एकतालाई सुदृढ गर्न सकिने प्रवक्ता श्रेष्ठको दाबी छ ।

बुधबारको सचिवालय बैठकको सेरोफेरोमा अनलाइनखबरले प्रवक्ता श्रेष्ठसँग गरेको छोटो कुराकानी–

नेकपा सचिवालयको बैठक १० दिन पछाडि (मंसिर १३ सम्म) सरेको छ । देशभरिका नेता–कार्यकर्तालाई आजको बैठकको खास सन्देश के हो ?

कमरेड प्रचण्डले जुन प्रस्ताव ल्याउनुभो, त्यो प्रस्तावमाथि छलफल गर्नै हुन्न भन्ने विभिन्न कोणबाट कुरा पनि उठेको देखियो । तर, आज अध्यक्ष कमरेड केपी शर्मा ओलीले नै म अर्को प्रस्ताव ल्याउँछु भनेर भनिसकेपछि त्यो अत्यन्तै सकारात्मक कदम हो, त्यसलाई हामीले स्वागत गर्नुपर्छ ।

पार्टीमा देखिएको संकट निवारण गर्न गम्भीर र व्यवस्थित बहसको आवश्यकता थियो । त्यसक्रममा अध्यक्ष कमरेड प्रचण्डले संकटको सारतत्व के हो र समाधान कसरी गर्न सकिन्छ भनेर एउटा प्रस्ताव पेश गर्नुभयो । त्यसबारेमा छलफल कसरी अगाडि बढाउने भन्नेमा पार्टीभित्र विभिन्न कोणबाट प्रश्न उठिराखेको थियो ।

तर, आज अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीले पनि त्यो प्रस्तावलाई आफ्नो कोणबाट जवाफ दिँदै म पनि प्रस्ताव पेश गर्छु भन्नुभयो । यसले हाम्रो पार्टीभित्र अब वैचारिक, राजनीतिक, नीतिगत र प्रवृत्तिगतरुपमा व्यवस्थित बहस हुने भयो । यो छलफल बहस र अन्तरसंघर्षले पार्टीलाई सकारात्मक निश्कर्ष निकाल्ने ठाउँमा पुर्‍याउँछ । र, त्यसका निम्ति आजको बैठकले आधार प्रदान गरेको छ ।

भनेपछि, आजको बैठक सकारात्मक भयो भन्ने तपाईको ठहर हो ?

निश्चित पनि सकारात्मक हो । किनभने, अबचाहिँ खालि केही पदीय जोडघटाऊ वा लेनदेनको अर्थमा पार्टीभित्रको छलफल, बहस र अन्तरसंघर्षलाई व्याख्या गर्ने जो गरिँदै आएको थियो, त्यसको ठाउँमा दुईवटा प्रस्ताव, जसले पार्टीको संकटको सारतत्वलाई परिभाषित गर्नेछन् र त्यसको समाधान कसरी हुन्छ भनेर आ–आफ्नो समाधान पनि प्रस्तुत गर्नेछन् । त्यसको वरिपरि अब सिंगो पार्टीमा बहस हुन्छ । मुख्य नेतृत्व, सचिवालयमा त्यसबारे छलफल हुन्छ र निश्कर्ष निकाल्न प्रयत्न गर्छ ।

अनि, त्यो निश्कर्षसहित वा सचिवालयमा भएका छलफलहरु सहित हामी स्थायी कमिटीमा जान्छौं र केन्द्रीय कमिटीमा पनि जान्छौं । भनेपछि, यसले पार्टीभित्रको समस्या वा संकटको चरित्र र प्रकृति निरुपण गर्न र त्यसको समाधान गर्न सिद्धान्तनिष्ठ बहसको दिशातिर पार्टीलाई लग्यो । यस अर्थमा आजको बैठकले सकारात्मक मोडको काम गरेको छ ।

प्रधानमन्त्री ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको काउन्टरमा अर्को प्रस्ताव ल्याउने बताउनुभएको छ, त्यसलाई कसरी हेर्नुभएको छ ?

एकदमै सकारात्मक रुपमा । यो एकदमै सही कदम हो । किनभने, कमरेड प्रचण्डले जुन प्रस्ताव ल्याउनुभो, त्यो प्रस्तावमाथि छलफल गर्नै हुन्न भन्ने विभिन्न कोणबाट कुरा पनि उठेको देखियो । तर, आज अध्यक्ष कमरेड केपी शर्मा ओलीले नै म अर्को प्रस्ताव ल्याउँछु भनेर भनिसकेपछि त्यो अत्यन्तै सकारात्मक कदम हो, त्यसलाई हामीले स्वागत गर्नुपर्छ ।

अब पार्टीमा व्यवस्थित छलफल र बहस हुने भयो, जसले पार्टीभित्रको अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी बनाउन सकियो भने यसले पार्टी एकताको रक्षामात्रै होइन, हाम्रो पार्टीको विचार र राजनीतिलाई अझ धारिलो, परिमार्जित बनाउने दिशातिर लैजान्छ र पार्टीलाई सुदृढ गर्छ ।

आजदेखि पार्टी फुट्ने खतरा टरेको हो त ?

पार्टी एकता संकटमा छ भन्ने कुरामा त सबैले महसुस गरेको कुरा राख्नुभएको छ । तर, सबैको जोड के छ भने पार्टी एकताको रक्षा त हर हालतमा गर्नुपर्छ । यसरी दस्तावेजहरुसहित छलफल गर्दा पार्टी एकताको रक्षा हुन्छ । र, हामीले पार्टी एकतालाई सुदृढ पनि गर्न सक्छौं ।

मैले एउटा कुरामा जोड दिन चाहन्छु कि पार्टी एकता संकटमा परेकोमा चिन्ता गर्नु, पार्टीलाई हर हालतमा एकतावद्ध गरी अगाडि बढ्नुपर्छ भनेर चौतर्फीरुपमा दबाव सिर्जना हुनु सकारात्मक कुरा हो । तर, पार्टीभित्र छलफल, बहस, अन्तरसंघर्ष भयो कि पार्टी एकता अब संकटमा पर्‍यो, पार्टी फुट्ने भो भन्न थाल्ने हो भने कहिल्यै पनि कम्युनिष्ट पार्टी बन्दैन । कम्युनिष्ट पार्टीमा छलफल, बहस र अन्तरसंघर्ष एउटा नियमित प्रक्रिया हो, जसले पार्टीलाई एकतावद्ध पार्छ । पार्टीलाई परिमार्जित गर्छ । पार्टीलाई रुपान्तरित गर्छ । र, पार्टीलाई गतिशील बनाउँछ ।

खालि, हामीले ध्यान दिनुपर्ने कुरा के हो भने त्यो स्वस्थ रहोस् । त्यो सत्य उन्मुख होस् र रुपान्तरणमुखी होस् । त्यसकारण यो दिशातिर अन्तरसंघर्षलाई लैजानुपर्नेमा अन्तरसंघर्ष भयो कि बर्बाद भयो भन्ने वा अन्तरसंघर्षलाई बिजातीय तत्व ठान्ने वा पार्टी फुटको अर्थमा लिने चाहिँ सही होइन ।

तर, हामीले सचेत हुनुपर्छ कि अन्तरसंघर्ष व्यवस्थित होस्, स्वास्थ्य होस् । रुपान्तरणमुखी होस् । अहिलेको दुई प्रस्तावसहित छलफल गर्ने प्रक्रियाले अब हामीलाई यो दिशातिर लैजान्छ भन्ने कुरामा आशावादी बनाएको छ । त्यसकारण यो बैठकलाई सकारात्मक पहलकदमीका रुपमा बुझ्नुपर्छ ।

तर, सचिवालयको बैठक लामो ग्याप राखेर १० दिन पछाडि सार्नुपर्ने खास कारणचाहिँ के पर्‍यो ?

यस सन्दर्भमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले आफूले पनि केही प्रस्ताव तयार पार्छु भनेपछि केही समय दिनुपर्ने उहाँले प्रस्ताव गर्नुभयो । उहाँले दस्तावेज तयार गर्न केही समय लिनुहुन्छ भने त्यो कुरा सही नै हुन्छ । त्यसैले उहाँले प्रस्ताव तयार गर्नका निम्ति लिनुभएको समय हो यो । त्यो समय लिइसकेपछि उहाँले प्रस्ताव तयार गर्नुहुन्छ र हामी बैठकमा छलफल गर्छौं ।

यो पनि पढ्नुहोस सचिवालय बैठकको भित्री कुरा : ओलीको ‘स्टेप’मा सर्वसम्मति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment