Comments Add Comment

वीरगञ्जमा घट्यो छठको रौनक

४ मंसिर, वीरगञ्ज । वीरगञ्ज–१० घडिअर्वाकी प्रभा देवीले छठ मनाउन थालेको २१ वर्ष भयो । यो वर्षको जस्तो सुनसान छठ उनले कहिल्यै अनुभव गरेकी थिइनन् ।

कोरोना संक्रमणको जोखिमका कारण चैते छठमा उनी घाट जान पाइनन् । लकडाउनका कारण घरको छतमै मनाइन् । संक्रमणको जोखिम कायमै रहेकाले अहिलेको छठमा पनि घाट जान नपाइने हो कि भन्ने चिन्ता थियो उनलाई ।

छठ शुरु भइसकेपछि बुधबार बल्ल घाट जान पाइने जानकारी पाउँदा उनी खुसी छिन् । ‘कोरोना महामारीका कारण चैते छठ छतमा पित्तलको बाटामा पानी राखेर मनाएको थिएँ,’ उनले भनिन्, ‘यो छठ सुरक्षित तरिकाले घाटमै गएर मनाउन पाइने भनिएको छ । मास्क लगाएर परिवारका सबै सदस्य घाट पुगेर सूर्यलाई अर्घ दिएर फर्कन्छौं ।’

विगतका वर्षमा आजको दिनमा घाटमा आफू बस्ने ठाउँको सरसफाइ गरी शिरसोप्ता बनाउने लगायतका तयारी भइसक्ने गरेकोमा त्यो सबै गर्न बाँकी रहेको उनले सुनाइन् । ‘छठ घाटमा मनाउने कि नमनाउने ? टुंगो नै थिएन,’ उनले भनिन्, ‘घाटतिरको तयारी गर्न पाएकै छैन, अब शुरु गर्नुपर्छ ।’

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र महानगरपालिकाले छठघाटमा भिडभाड नगर्न आग्रह गरेका छन्

कोभिड महामारीकै कारण वीरगञ्जमा यस वर्ष छठको तयारी फितलो देखिएको छ । लाखौं खर्च गरेर छठघाटमा सजावट हुने गरेकोमा यस वर्ष छठघाट व्यवस्थापन समितिहरुले त्यसो गरेका छैनन् । देशभरमै आकर्षक सजावट हुने घडिअर्वा पोखरीमा यस वर्ष कुनै विशेष तयारी देखिँदैन ।

छठ पूजा व्यवस्थापन समितिका सचिव लखनलाल गुप्ताका अनुसार छठ हुने/नहुने अन्यौलको अवस्था थियो । स्थानीय प्रशासनसँग परामर्श गर्दा परम्परागत चाड हो, नगरौं भन्न मिलेन, पूजा गर्ने तर धेरै भिडभाड नहुने वातावरण मिलाउन आग्रह भयो ।

त्यसैले सजावट रोकेर लाइटिङको मात्रै काम शुरु गरेको सचिव गुप्ताले बताए । ‘विगतका वर्षमा यतिबेला सजावटको ९५ प्रतिशत काम भइसक्थ्यो, यस वर्ष त्यस्तो कुनै तयारी छैन । सुरक्षाका लागि झालर बत्ती भने लगाउँदैछौं ।’

सजावटमा १५ लाखको हाराहारीमा खर्च गरिने घडिअर्वा छठघाटमा सरसफाइ र बत्ती लगाउनका लागि यस वर्ष डेढ–दुई लाख मात्रै खर्च गरिँदैछ । रक्तदान, चिठ्ठा कार्यक्रम, पण्डाल लगाउने लगायतका गतिविधि स्थगित गरिएको छ ।

‘आउनुस्, अर्घ दिनुहोस्, पूजाआजा गरेर फर्किहाल्नुस् । घाटमा धेरैबेर नबसिदिनुस् भनेर सूचना नै जारी गर्छौं,’ सचिव गुप्ताले भने, ‘घाटमा प्रवेश गर्न मास्क अनिवार्य गरेका छौं ।’ अन्य सुरक्षा व्यवस्थाका लागि बिहीबार सुरक्षा निकायसँग छलफलको तयारी गरिएको उनले सुनाए ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र महानगरपालिकाले छठघाटमा भिडभाड नगर्न आग्रह गरेका छन् । तर बजारमा चाडपर्वको भिडभाड नै छ । कतिपयले मास्कसमेत नलगाइ हिँडडुल गरिरहेका छन् ।

दशैंमा कोरोना संक्रमणको जोखिम छ भनेर गहवामाई मन्दिर खोलिएन तर बाहिरै भक्तजनको भिड लाग्यो । राजनीतिक दलहरुले पनि सामाजिक दुरी कायम नगरी भीडभाडमै कार्यक्रम गर्छन् । छठको बजारमा पनि मानिसहरुको बाक्लै उपस्थिति देखिन्छ । त्यसैले छठघाटमा मात्रै रोक लगाउनुको अर्थ नरहेको घडिअर्वाकै चन्द्रभुषण गुप्ता बताउँछन् ।

छठघाटमै मास्क वितरणको तयारी

वीरगञ्ज– १३ का वडाअध्यक्ष तुफा फारुक अन्सारीले सार्वजनिक सूचना नै जारी गरेर छठघाटमा धेरै समय नबसिदिन, भौतिक दुरी कायम गरी पालैपालो सूर्यलाई अर्घ दिन र छठ घाटमा ठेलामा वा भुइँमा कुनै किसिमका सामान बिक्री नगरिदिन आग्रह गरेका छन् । हरेक ब्रतालुका लागि छठघाटमै १/१ थान मास्क वितरण गर्ने तयारी पनि गरिएको अन्सारी बताउँछन् ।

घडिअर्वा मात्रै हैन, वीरगञ्जको रानीघाट, आदर्शनगर स्विमिङपुल, मुर्ली पोखरी, नगवा लगायतका नदी तथा पोखरी किनारमा छठको रौनक कमै देखिएको छ । छठ पूजा व्यवस्थापन समिति रानीघाटका अध्यक्ष रोशन गुप्ता प्रजिअ र नगर प्रमुखको आग्रहका कारण छठघाटमा कुनै विशेष तयारी नगरिएको बताउँछन् ।

‘सजावटमा ७ लाख खर्च गर्ने गरेका थियौं, घडिअर्वापछि बढी ब्रतालु र दर्शनार्थी आउने ठाउँ हो रानीघाट,’ उनले भने, ‘कोरोना महामारीका कारण यस वर्ष लाइट, साउन्ड र सरसफाइमा दुई लाख जति खर्च गर्दैछौं । पण्डाल लगाएर, गलैंचा ओछ्याएर जुन तयारी हुन्थ्यो, त्यो नगर्ने भएका छौं ।’

ब्रतालुहरुलाई अनिवार्य मास्क लगाएर आउन अनुरोध गरिएको र कसैले लगाउन छुटाए पनि घाटमै वितरण गर्ने तयारी आफूहरुले गरेको उनी बताउँछन् ।

वीरगञ्ज–११ का वडा अध्यक्ष प्रधुम्न सेढाईंले पनि छठघाटमा विगतका वर्षमा जस्तो तयारी नगरिएको बताउँछन् । ‘कोरोना महामारीका कारण भिडभाड गर्न नहुने अवस्था आइपरेको छ, त्यसैले सबै छठघाटमा पहिलेजस्तो सजावट छैन,’ उनले भने, ‘सकेसम्म घरमै पर्व मनाउनुस्, ठाउँ नै नभएको अवस्थामा मात्र घाटमा आउन भनेका छौं ।’

सजावट र छठको सम्बन्ध छैन : सँस्कृतिविद

सँस्कृतिविदहरुका अनुसार छठ सामान्य मानिसले साधारण तरिकाले मनाउन सक्ने पर्व हो । यो पर्वमा सजावट र तडकभडक जरुरी छैन । तर पछिल्ला वर्षमा चाडवाडको निहुँमा महँगा गहना र लुगा लगाउने, झिलिमिली बनाउने, पण्डाल लगाउने प्रचलन देखिएको उनीहरु बताउँछन् ।

‘छठ आस्थाको पूजा हो, नदी तथा पोखरीको किनारमा छठी माताको आराधना र सूर्यलाई अर्घ दिइन्छ,’ सँस्कृतिविद उमाशंकर द्विवेदी भन्छन्, ‘छठी माता गरिब, साधारण मानिसहरुको देवी हुन्, साधारण गृहस्थको लागि साधारण पूजा गर्ने हो, शुद्ध हुने हो, सामान्य कपडा लगाउने हो ।’

पूजामा प्रयोग हुने प्रसाद पन िसामान्य परिवारले जुटाउन सक्ने खालको रहेको उनी बताउँछन् । ‘ठेकुवा गरिबले बनाउन सक्छ, रसिआव रोटी खिर जस्तै हो, तर खिरमा जस्तो दूध, छोकडा, अलैंची जस्ता मसला हालिँदैन । सुपली, उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिबल, भिजाएको केराउ, अक्षता, पातसहितको मूला लगायतका प्रसादी जसले पनि जुटाउन सक्छ । एक लाखको साडी लगाउने, गर गहनाले सजिएर जाने जस्तो तडकभडक पछिल्ला दिनमा देखिएको हो, पहिले यस्तो थिएन,’ उनले भने ।

छठी माताको कुनै स्थायी मूर्ती नहुने भएकाले कोरोना महामारीमा जोखिम मोलेर घाटमा गएर भिडभाड गर्नुको साटो घरमै पूजा गर्न उनले सुझाव दिए ।

यो पनि पढ्नुहोस विराटनगरका छठघाट सुनसान, छाडिएन नहरमा पानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment