Comments Add Comment

जनकपुर-जयनगर रेल चलाउन अध्यागमन र भन्सार पूर्वाधारको खाँचो

५ मंसिर, काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनबारे नेपाल र भारतले छलफल थालेका छन् । यसबारे बिहीबार रेलमार्ग सहकार्य सम्बन्धी भारत-नेपाल संयुक्त कार्यदलको चौथो बैठक पनि बस्यो ।

भिडियो कन्फरेन्समार्फत बसेको बैठकमा भारतले रेलमार्ग सञ्चालनका लागि प्रस्ताव गरेको ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’बारे छलफल भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठका अनुसार ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’मा भारतले प्रस्ताव गरेको प्रक्रिया र व्यवस्थाबारे नेपालले आफ्नो प्रतिक्रिया जनाएको छ । उनका अनुसार प्रस्तावितमा प्रोसिड्योरमा परिमार्जन गर्नुपर्ने केही प्रस्ताव पनि नेपालले राखेको छ ।

सचिव श्रेष्ठका अनुसार यसलाई निकट भविष्यमै अन्तिम रुप दिने योजना छ । सन् २०१४ देखि बन्द रहेको यो रेलमार्ग फेरि कसरी सञ्चालन गर्ने भन्नेमा दुबैपक्षबीच सहमति हुनुपर्छ ।

अन्तरदेशीय रेलमार्ग भकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका पूर्वाधारहरु आवश्यक पर्छ । तर, जनकपुर-जयनगर रेलमार्गमा यस्ता पूर्वाधारहरु तयार भएका छैनन् ।

त्यसैकारण तत्काल रेल चलाउँदा कसरी अघि बढ्ने भन्नेमा अन्योल छ । सचिव श्रेष्ठका अनुसार मुख्य रुपमा रेलमार्ग भएर तेस्रो देशका नागरिक विनाभिसा आवातजावत हुनसक्नेमा दुबै पक्ष चिन्तित छन् ।

त्यसैगरी दुबैतर्फ भन्सारको पूर्वाधार नभएको रेलमार्फत हुनसक्ने अवैध ओसारपसार नियन्त्रणको मुद्दा पनि उठेको छ । यो सबै सवालहरुमा निकास खोजेर प्रोसिड्योरको टुंगो लगाउने योजना रहेको श्रेष्ठले जानकारी दिए ।

‘हामीले प्रारक्भिक रुपमा छलफल गरेका छौं, यसबारे कार्यदलमा सहमति भएपछि रेल सञ्चालनको आधार तयार हुन्छ,’ सचिव श्रेष्ठले भने,’रेलमार्ग सञ्चालन गर्दा भविष्यमा कुनै पनि खालका कठिनाई नआओस् भन्नेमा सजग छौं ।’

दुबैतर्फका सीमा स्टेसनमा त्यसका भवनहरु बनेपनि दुबै सरकारले भन्सार र अध्यागमनका लागि आवश्यक संस्थागत संरचना राख्ने निर्णय लिइसकेका छैनन् ।

महामारीका कारण भारतसँगको सीमा नाका बन्द रहेकोले पनि अहिलेको अवस्थामा कसरी रेल चलाउने भनेर छलफल भएको छ । सुरक्षा र सतर्कता कसरी अपनाउने भनेर दुबै पक्षले आफ्ना मतहरु राखेका छन् ।

अब रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकताअनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन बैठकमा सहमति पनि भएको छ ।

बैठकमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले नेतृत्व गरेका थिए भने भारतका तर्फबाट रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले नेतृत्व गरेका थिए ।

बैठकले जयनगर-बिजलापुर-बर्दिबास र जोगबनी-विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाको समीक्षा गरेको छ । यो परियोजना विभिन्न कारण देखाउँदै समयमै सम्पन्न हुन सकिरहेको छैन ।

जनकपुर-जयनगर रुटमा चलाउन शुक्रबार तामझामसहित असोज पहिलो साता नेपाल आइपुगेका दुई वटा रेलहरु अहिले पार्किङमा छन् । नेपाल रेल्वे कम्पनीले यी रेल धनुषाको इनर्वामा पार्किङमा राखिएका छन् ।

करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल चलाउन हहिले कर्मचारी भर्ति गर्ने काम हुँदैछ । नेपाल रेल्वे कम्पनीले पनि कम्पनीका लागि डेढ सयभन्दा बढी कर्मचारीको भर्ना खुलाएको छ ।

तयारी नसकिएका कारण नियमित सेवा दिने गरी महँगो मूल्यमा किनिएको नयाँ रेल कहिलेदेखि चल्छ भन्ने निश्चित छैन ।

सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।

३४ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै ढिलाइ हुँदै आएको छ ।

कुर्था-जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार गर्न ३८० करोड रुपैयाँ खर्च भएको भारतले बताएको छ । अब कुर्थादेखि बिजलपुरासम्म २०० करोड खर्चेर बाँकी खण्डको काम गर्ने भारत सरकारको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment