Comments Add Comment
काठमाडौंका सीडीओको कोरोना अनुभव :

‘प्रतिकार्यमा लाग्दालाग्दै परिवारै संक्रमित भयो’

अन्य संक्रमितलाई प्रजिअ जनकराज दाहालका टिप्स

८ मंसिर, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि लकडाउन घोषणा हुनुअगावै जनकराज दाहालले प्रमुख जिल्ला अधिकारीका रुपमा मुलुकको राजधानी काठमाडौंको कमाण्ड गरिरहेका थिए । सिंहदरबारसँग नजिक रहेर चैतबाटै महामारीविरुद्धको लडाइँमा खटिएका उनी स्वयम् १३ कात्तिकमा कोभिड–१९ (कोरोना) भाइरसबाट संक्रमित भए ।

सर्वसाधारणलाई महामारीविरुद्ध सचेतना फैलाउँद‌ै प्रतिकार्यमा समेत खटिइरहेका बेला उनी आफैं कसरी संक्रमित भए ? एउटा प्रशासक आफैंलाई संक्रमित हुँदा कस्तो अनुभूति भयो ?

यिनै जिज्ञासा लिएर अनलाइनखबरकर्मी गौरव पोखरेलले दाहालसँग संवाद गरेका छन् । कुराकानीका क्रममा उनले अन्य संक्रमितका लागि केही सुझावहरु पनि दिएका छन् ।

प्रस्तुत छ, प्रमुख जिल्ला अधिकारी दाहालको कोरोना अनुभव :

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको विषयमा चैतमा लकडाउन हुनुअघिबाटै संलग्न भएको थिएँ । यसको अन्तर्राष्ट्रिय अभ्यास र ट्रेण्ड पनि त्यतिबेलैदेखि विश्लेषण गरिरहेका थियौं ।

काठमाडौंसहित देशभर ११ चैतबाट लकडाउनको सुरुवात भयो । राजधानीको सीडीओको हिसाबले दैनिक सयौंको गुनासो सुनेँ । विभिन्न माध्यमबाट सचेत बनाउने कोशिश गरेँ । तर, अहिले आफैं संक्रमण परेँ । यो विषय अलिकति दुःखदायी रह्यो ।

घरका सातै जना संक्रमित

दसैंको दिन टीकाको दिन राति मेरो श्रीमतीलाई एकदमै टाउको दुख्यो । राति जिरा पानी खाइयो । कहिले काँही टाउको दुख्नु सामान्य थियो । तर, त्यो फरक ढंगको टाउको दुखाइ भएको उनले सुनाइन् ।

भोलिपल्ट बिहान उनलाई एकदमै थकित महसुस भयो । उठ्नै नसक्ने अवस्था आएको सुनाइन् । उनी दिनभरि सुतिन् ।

एकादशीको दिन बेलुका छोरीलाई पनि टाउको दुख्ने र वान्ता हुने भयो । पहिले त खानपिनमा केही समस्या भयो होला भन्ने ठानेँ । कोरोनातिर गइएन ।

तपाईं ठीक हुनुहुन्छ, ज्वरो पनि छैन । जिउ पनि दुखेको छैन । तर, तपाईं पोजेटिभ भएको नाताले अक्सिजनचाहिँ स्वाट्ट घट्न सक्छ । त्यसैले अक्सोमिटर किन्न लगाएर प्रत्येक घन्टा जाँचे । यो कुरामा एकदमै सतर्क हुनुपर्ने रहेछ

वान्ता भएपछि उसलाई अलि सहज महसुस भइरहेको थियो । त्यहीवेला छोराले कम्मरमुनि चलाउनै हुँदैन, जहाँ छोयो, त्यहीँ दुख्छ भन्न थाल्यो ।

अर्को दिन बेलुका मलाई टाउको यसरी दुख्यो कि त्यस्तो कहिल्यै महसुस गरेको थिइन । मेरो बानीचाहिँ के थियो भने रोगलाई हत्तपत्त टेर्दिनँ । सानोतिनो विमारमा औषधि प्रयोग नगर्ने बानी छ । त्यसैले सिटामोल पनि खाइनँ । बरु जिरा पानी खाइयो ।

अर्को दिन मलाई पनि शरीरको हरेक भागमा एकदम दुखेको महसुस हुन थाल्यो । चारैजनालाई फरक–फरक लक्षण देखिएपछि बल्ल कोरोना हो कि भन्ने आशंका भयो । त्यसैले मैले र श्रीमतीले १२ कात्तिकमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर स्वाब दियौं ।

अर्को दिन बिहान कोरोना पोजेटिभ रहेको नतिजा आयो । हुन त मेरा सुरक्षागार्ड र चालकले पनि सँगै स्वाब दिनुभएको थियो । तर, उहाँहरुको नेगेटिभ आयो ।

मेरो भाइरस लोडचाहिँ १७ र श्रीमतीको १९ थियो । पोजेटिभ आएपछि ओहो भन्ने त भयो । तर, अरु कुनै लक्षण देखिएन । जब मिडियामा पनि सीडीओ संक्रमित भए भन्ने खालका कुरा आए, त्यसपछि मनमा कस्तो–कस्तो हुँदोरहेछ ।

संक्रमित भएपछि डाक्टरसा’बहरु र वडा कार्यालयबाट पनि सम्पर्क, समन्वय गर्नुभयो । दुईजना होम आइसोलेसनमा बस्न थाल्यौं, त्यसपछि छोराछोरीलाई के होला भनेर एकदमै चिन्ता भइरह्यो । छोराले खाना खान मन नलागेको कुरा सुनाइरहेको थियो ।

त्यसैले छोराछोरी र तल बस्ने भाइहरुलाई कीर्तिपुर नगरपालिका–१, ट्यांलाफाँटमा रहेको वडा कार्यालयमा स्वाब दिन पठाएँ । तल तीन जनासहित ७ जना बस्थ्यौं । नभन्दै तिन दिनपछि सातै जनाको रिपोर्ट पोजेटिभ आयो ।

घरमा सबै कोरोना पोजेटिभ भएपछि अलिकति डर पनि भयो । त्यसो त सबै संक्रमित हुँदा फाइदा पनि हुँदो रहेछ । हामीलाई खाना खान समस्या भएन । फरकफरक लक्षण देखिए पनि ज्वरो कसैलाई आएको थिएन ।

संक्रमित भइसकेपछि जनस्वास्थ्य कार्यालयबाट फोन गरेर सम्पर्कमा आएका व्यक्तिबारे सोधियो । मेरो सम्पर्कमा १३ जना हुनुहुन्थ्यो । र, मैले पहिलो कामचाहिँ के गरेँ भने उहाँहरुलाई सतर्क गराएँ र विज्ञप्ति पनि जारी गरियो ।

स्रोत

संक्रमणमुक्त हुनलाई १४ दिन लाग्यो । त्यतिञ्जेल हरेक दिनजसो कोरोना कताबाट सर्‍यो भन्ने विषयमा सोचेँ ।

मेरो कार्यालयको मुद्दा फाँटको सुब्बा सा’बलाई दसैं अघि संक्रमण देखिएको थियो । मलाईभन्दा एक दिन अघि सहायक प्रमुख जिल्ला अधिकारीलाई पनि देखिएको थियो ।

मलाई शंका चाहिँ के लाग्यो भने मुद्दाको फाइल सबै प्रमुख जिल्ला अधिकारीले नै हेर्नुपर्छ । मेरोचाहिँ त्यो मुद्दाको फाइलसम्बन्धी काम गर्दा सर्‍यो कि भन्ने लाग्यो ।

अर्कोचाहिँ दसैंका बेला केटाकेटी पसलतिर जाँदा सर्‍यो कि भन्ने सम्भावना पनि छ । तर, पनि मेरो कार्यालयमा धेरैलाई देखिएको र नियमित बैठकमा पनि जानुपर्ने भएकाले मबाटै सर्‍यो कि भन्ने लाग्यो ।

हुन त श्रीमतीको पनि वाणिज्य बैंकमा जागिर छ, तल बस्ने भाइ पनि लोक सेवा आयोगमा काम गर्नुहुन्छ, त्यताबाट पनि सरेको हुनसक्छ भन्ने लाग्यो । आयोगमा पनि कर्मचारीलाई देखिएको थियो ।

डाक्टरको सल्लाह

संक्रमित भएपछि म डाक्टरहरुसँग नियमित सम्पर्कमा थिएँ । यो रोग हुँदा एउटा समस्या के हुँदो रहेछ भने अक्सिजन लेभल चाहिँ कुनै पनि बेला घटना सक्ने रहेछ ।

तपाईं ठीक हुनुहुन्छ, ज्वरो पनि छैन । जिउ पनि दुखेको छैन । तर, तपाईं पोजेटिभ भएको नाताले अक्सिजन चाहिँ स्वाट्ट घट्न सक्छ । अक्सिजनको मात्रा हेर्नु होला है भन्ने चिकित्सकहरुको सल्लाह थियो ।

त्यसैले अक्सोमिटर किन्न लगाएर प्रत्येक घन्टा जाँचे । यो कुरामा एकदमै सतर्क हुनुपर्ने रहेछ । मान्छे सामान्य अवस्थामा रहेका वेला पनि स्वात्त घट्ने बित्तिकै खोकी लाग्ने, दम हुने हुँदो रहेछ, साइलेन्ट किलर जस्तै । त्यो चाहिँ मलाई अलिकति डर लाग्यो ।

टिप्स

आइसोलेसनमा बस्दा मैले केही कुरामा एकदमै ध्यान पुर्‍याएको थिएँ । र, १४ दिनमा संक्रमणमुक्त भएर आएँ ।

सबैभन्दा पहिलो कुरा मनोबललाई उच्च बनाउनुपर्ने रहेछ । यो केही पनि होइन भनेर यसलाई जित्छु भनेर मन दह्रो गर्नुपर्ने रहेछ । मलाई केही पनि हुँदैन, सुगर छैन, प्रेसर छैन भन्नेखालको अनुभव राखे कोरोनाविरुद्धको लडाइँमा सहज हुन्छ ।

दोस्रो, अहिले ‘लर्निङ बाई डुइङ’ काम गर्दै सिक्ने भने जस्तो छ । किनभने, यो लक्षण हुन्छ, त्यसपछि यस्तो हुन्छ भनेर डाक्टरहरुले पनि अरु केश हेरेर भन्नुभएको छ । मलाई चाहिँ डाक्टरहरुले एपीएफ र कीर्तिपुरबाट नियमित फोन गर्नुभएको थियो । १४ दिनलाई तपाईंको अनुशासन यो हो है, नियमित पालना गर्नु भनेर केही सुझाव दिनुभएको थियो । आइसोलेसनमा बस्ने मान्छेले चिकित्सकले दिएको परामर्श अनिवार्य रुपमा मान्नुपर्ने रहेछ ।

मलाई चिकित्सकले आहारव्यहारको कुरा, के खाने के नखाने भन्ने कुरा भन्नुभएको थियो । उहाँहरुले सूर्य कान्ति भन्ने एकखालको योगा गर्न भन्नुभएको थियो । यो योगाले फोक्सोलाई बलियो बनाउन सहयोग गर्दो रहेछ ।

यो १५ मिनेटको योगाक्रिया र १५ मिनेटको ध्यान रहेछ । त्यसलाई पनि गरेँ । खानेकुरामा झोलिलो पदार्थ खानु भन्नुभएको थियो, त्यसैले मैले सुप बनाएर खाएँ । त्यसले इम्युनिटी बनाउने भएकाले राम्रो हुँदो रहेछ । मैले अम्बकको पात कुटेर बेसारको पानीमा हानेर गारगुर गर्ने पनि गरेँ । कीर्तिपुर आइसोलेसनमा भएका डाक्टर साबले यो प्राकृतिक उपचारबारे भन्नुभएको थियो ।

यसमा मलाई सम्माननीय प्रधानमन्त्रीले भन्नुभएको कुरा पनि ठिकै रहेछ भन्ने लाग्यो । बेसार, अदुवा र तुलसी पानी खाने कुराले कति फाइदा गर्दो रहेछ भन्ने कुरा मैले र हाम्रो परिवारले एकदमै महसुस गरियो ।

अरु सिटामोल र भिटामिनहरु हामीले केही पनि प्रयोग गरेनौं । बरु बाफ लिने, अदुवाको सुठो, बेसार, तुलसी मिसाएर तातो पानी खाने, दूधमा बेसार हालेर उमाल्ने र कागती पानी खाने गरियो ।

अर्को, सकरात्मक कुरा गर्ने र सोच्ने हुनुपर्ने रहेछ । घाम ताप्ने पनि राम्रो हुँदो रहेछ । घाममा भिटामिन डी पनि हुने भएकाले हामी हरेक दिन दुई घन्टा घाममा बस्यौं । यो हिसाबमा १४ दिन बसेपछि दोस्रो परीक्षणमा श्रीमती र मेरो रिपोर्ट नेगेटिभ आयो ।

तीन दिनपछि फेरि परिवारको अरु सदस्यको परीक्षण गर्दा सबैको नेगेटिभ आयो । अहिले मलाई कस्तो महसुस भएको छ भने कोभिड–१९ महामारी त हो तर, यसमा सतर्क हुने हो र अरु कुनै रोग छैन भने खासै ठूलो होइन रहेछ ।

यो मेरो र परिवारको व्यक्तिगत अनुभव हो । व्यक्ति आफैं सतर्क हुनुपर्ने रहेछ । राज्यले भनेको कुरालाई पालना गर्नुपर्ने रहेछ । मास्क लगाउने कुरामा पनि हाम्रो कम ध्यान पुग्दो रहेछ कि भन्ने लाग्छ । राज्यले व्यक्तिलाई गर्ने कुरा गर्नुपर्छ, गर्छ नै । तर, ८० प्रतिशतचाहिँ सम्बन्धित व्यक्तिमा नै भर पर्ने रहेछ । त्यसैले कसैले पनि लापरबाही गर्नुहुँदैन भन्ने मेरो अनुभव हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment