Comments Add Comment

प्रदेश २ : टुट्यो टेष्ट, ट्रेसिङ र ट्रिटमेन्टको चेन

९ मंसिर, वीरगञ्ज । भारतसँगको खुला सीमा, सामाजिक दुरी लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमजोरी लगायतका कारण प्रदेश २ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उच्च जोखिम रहेको मानिन्छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १९० जना (संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १७४ जना) को कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । एक समय संक्रमण यसरी फैलिएको थियो कि प्रदेशका ८ मध्ये ७ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० बढी थियो ।

तर सोमबार संक्रिय संक्रमितको संख्या ३४३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

के प्रदेश २ मा संक्रमण घटेको हो ? यसबारे अध्ययन नभएकाले संक्रमण घटे नघटेको यकिन छैन, तर स्वाब संकलन भने स्वाट्टै घटेको पाइएको छ । र, टेष्ट (परीक्षण), ट्रेसिङ (सम्भावित संक्रमितको पहिचान) र ट्रिटमेन्ट उपचार) को चेन टुटेको छ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार १ मंसिरमा प्रदेशका ८ मध्ये ५ जिल्लामा स्वाब संकलन नै भएन । सप्तरीमा २६, धनुषामा ३५ र पर्सामा १४ जनाको स्वाब संकलन भयो । २ गते सिराहा, धनुषा र पर्सामा गरी ६२ जनाको स्वाब संकलन भएको भयो भने ३ गते सप्तरी, धनुषा र पर्सामा गरी ११६ जनाको स्वाब संकलन भएको पाइएएको छ ।

मंसिर ४ गते सिराहामा ९ जनाको मात्र स्वाब संकलन भयो भने अन्य ७ जिल्लामा एकजनाको पनि स्वाब कलेक्सन भएन । अरु दिनको अवस्था यो भन्दा फरक छैन ।

मंसिरका ८ दिनमा प्रदेश २ का ८ जिल्लामा जम्मा १ हजार १४० जनाको स्वाब संकलन भएको छ ।

जबकी प्रदेश २ मा पर्सा, धनुषा, सप्तरी र रौतहटमा गरी ४ ठाउँमा सरकारी पीसीआर ल्याब छ । नेशनल मेडिकल कलेजले पनि पीसीआर ल्याब सञ्चालनमा ल्याएको छ । पाँच वटै ल्याबमा गरेर दैनिक १५०० देखि २ हजारसम्म नमुना परीक्षण गर्न सक्ने क्षमता राख्ने अधिकारीहरु बताउँछन् ।

तर स्थानीय तहहरुले कन्ट्याक ट्रेसिङ र स्वाब संकलन रोकेपछि ल्याबहरु बन्द हुने अवस्था आएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा दैनिक ५/६ सय नमुना परीक्षण हुने गरेको थियो । तर पछिल्ला दिनमा स्वाब नमुना नपुगेर ल्याब नै बन्द राख्नुपर्ने अवस्था आएको छ । अस्पतालका प्रवक्ता अतुलेश चौरसियाका अनुसार मंसिर ३ गतेपछि एकैपटक ७ गते मात्रै पीसीआर परीक्षण गरियो ।

‘नमुना नभएर तीन दिन ल्याब बन्द भयो । स्वाब एकदमै कम संकलन भइरहेको छ’ उनले भने, ‘स्वाबको नमुना ९६ वटा पुगेपछि मेसिन चलायौं । १७ जना पोजेटिभ भेट्टायौं ।’
सरकारले २ कात्तिकमा निश्चिम वर्ग बाहेक अरुले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने बताएपछि स्थानीय तहले स्वाब नमुना संकलन गर्न छोडेका छन् ।

कुनै समय एक घर एक पीसीआरको नारा दिएको वीरगञ्ज महानगरले स्वाब संकलन बन्द गरेको छ । संघ सरकारले लक्षण नभएकाको स्वाब नमुना संकलन नगर्न भनेको र कोरोना परीक्षणमा शुल्क लिन थालेकोले नमुना संकलन नगरिएको वीरगञ्ज महानगरपलिकाका नगर प्रमुख .विजय कुमार सरावगीले बताए ।

‘पहिले नारायणी अस्पताल, जनस्वास्थ्यसँग मिलेर स्वाब संकलनका लागि टोली नै खटाएका थियौं’ उनले भने, निःशुल्कमा पो सघाउने हो, शुल्क लिने हो भने सम्बन्धित निकायले नै स्वाब संकलन गर्नुपर्छ भनेर हामीले छाड्यौं ।’

स्वाब संकलन कम हुँदा संक्रमणको अवस्था थाहा नहुने मात्र होइन, परीक्षण गराउनेले पनि समयमा रिपोर्ट नपाउने अवस्था छ । ‘अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन चलाउन कम्तीमा ९६ वटा स्वाब नमुना चाहिन्छ’ पीसीआर प्रयोगशाला प्रमुख कसल्टेन्ट प्याथोलोजिष्ट डाक्टर निरा पाठक भन्छिन्, ‘९६ वटा स्वाब नमुना पुर्‍याउन कहिलेकाँही २/३ दिन कुर्नुपर्ने हुन्छ ।’

गौर अस्पतालको पीसीआर ल्याबमा एक लटमा ७२ वटा नमुना परीक्षण गर्न सकिन्छ । तर त्यसअनुसार नमुना नै नआएको ल्याबका फोकल पर्सन अनुठा राय यादव बताउँछन् । ‘पालिकाहरुले कन्ट्याक ट्रेसिङ गरिरहेको छैनन् । काममा र्फकने कर्मचारी, पढ्न जानुपर्ने विद्यार्थीले मात्र टष्ट गराएका छन्’ उनले भने, ‘सोमबार २२ वटा नमुना टेष्ट भयो, ४२ वटा स्वाब संकलन भएको छ ।’

प्रदेशका अन्य पीसीआर ल्याबको अवस्था पनि उस्तै छ । पालिकाहरुले स्वाब संकलन रोकेका छन् । प्रदेश सरकारले पनि परीक्षण बढाउन चासो दिएको छैन ।

पालिका र स्वास्थ्य कार्यालयहरुबाट स्वाब नमुना आउन छोडेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सञ्जय ठाकुरले बताए । ‘विगतमा पालिका र स्वास्थ्य कार्यालयहरुले संकलन गरेर पठाउँथे । अहिले उनीहरुले संकलन गर्न छोडेका छन्’ उनले भने ‘ बाहिर स्वाब कलेक्सन गर्ने जिम्मेवारी हाम्रो होइन । अस्पतालमा आएका शंकास्पद लक्षण भएकाहरुको भने अस्पतालले नै नमुना संकलन गरेर पीसीआर परीक्षण गर्दै आएको छ ।’

प्रदेश लथालिंग अवस्थामा

संघ सरकारले लक्षण देखिएपछि मात्रै पीसीआर गर्न र बेहोस होला जस्तो भएमा मात्र अस्पताल जान भनेको छ । यससँगै स्थानीय पालिका, स्वास्थ्य कार्यालय र अस्पतालहरुको समन्वयमा हुँदै आएको टेष्टिङ, ट्रेसिङ र ट्रिटमेन्ट चेन टुटेको छ ।

कन्ट्याक्ट ट्रेसिङको जिम्मा पालिकालाई दिइएको छ । पालिकाहरुले त्यो जिम्मेवारी निर्वाह गर्न छोडेका छन् । जिल्लाका स्वास्थ्य कार्यालयहरु पनि निस्त्रिmय भएर बसेका छन् । कतिपय जिल्लाले कोभिडसम्बन्धी जानकारी समेत प्रदेशमा दिन छोडेका छन् । सर्लाही र बारा जिल्लाका फोकल पर्सनहरुले फोन समेत रिसिभ गर्न छोडेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भत्ता, फोन खर्च नदिएको गुनासो उनीहरुले गर्ने गरेका छन् ।

कोरोना महामारी नियन्त्रण र रोकथाममा प्रदेश २ को पछिल्लो अवस्था लथालिंग रहेको स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक कमलेश प्रसाद यादव बताउँछन् । ‘छठ लगायतका चाडबाडमा एकदमै भिडभाड देखियो । सामाजिक दुरी, माक्स लगाउने, साबुन पानीले हात धुने वा स्यानीटाइजर लगाउने जस्ता स्वास्थ्य सावधानीको पुरै वेवास्ता गरिएको छ’ उनले भने, ‘जाडो महिना छ, पीसीआर जाँच घटेको छ, मानिसहरुमा डर कम देखिएको छ ।’

संक्रमणको दर भने बढेको हुनसक्ने भन्दै उनले भने, ‘पीसीआर टेष्टको दायरा बढाउँदा संक्रमित बढी भेटिन्छन् जस्तो लाग्छ । स्थिति भयाबह हुनसक्छ ।’

मन्त्री मुख्यमन्त्रीको प्रतिबद्धता

प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्रीले आवश्यकता अनुसार टेष्टिङ, ट्रेसिङ र ट्रिटमेन्ट भइरहेको बताउँछन् ।

सामाजिक विकास मन्त्री नवल किशोर साहले खोजीखोजी पीसीआर परीक्षण गर्न छोडिएको बताए । ‘पहिला मानिसलाई खोजीखोजी पीसीआर परीक्षण गरिन्थ्यो, अहिले त्यस्तो छैन’ उनले भने, पीसीआर टेष्टिङ उसैको हुन्छ, जसलाई कफ, ज्वरो लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।’ शंकास्पद लक्षण देखिनेको संख्या कम भएपछि पीसीआर टेष्ट कम हुनु स्वभाविक भएको उनले बताए ।

मुख्यमन्त्री लालबाबु राउत गद्दीले पनि कोरोनाको परीक्षण र उपचार प्रदेश सरकारले निःशुल्क गर्ने भन्न छुटाएनन् । ‘ ५० हजार भिटिएम र रिएजेन्ट आइसकेको छ, कुनै ठाउँमा आवश्यक समानको कमी हुन दिँदैनौं’ उनले भने, ‘पछिल्ला दिनमा लक्षण देखिएपछि मात्रै पीसीआर परीक्षण भइरहेको छ । प्रदेश सरकारले निःशुल्क टेष्टिङ र ट्रिटमेन्टको जिम्मेवारी लिन्छ ।’

चिकित्सकको चिन्ता

तर कोरोनाको डर हराउनुका साथै लापरबाही बढेको देखेर चिकित्सकहरु भने चिन्तित छन् । चाडबाडमा देखिएको भिडभाडले ्रदेशको अवस्था विग्रन सक्ने उनीहरुको चिन्ता छ ।

नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसिया कोरोनालाई सुहाउँदो वातावरण देखिएको बताउँछन् । ‘५० प्रतिशतभन्दा माथि मानिस माक्स लगाउँदैन, लगाएकाले पनि चिउडोमा लगाउँछन्’ डाक्टर चौरसियाले भने ‘काठमाण्डु र अन्य ठाउँको स्थिति भयाबह छ । चाडबाडमा मानिसहरु आउने जाने गरेका छन् । यसले गि्रन जोनतर्फ उन्मुख हामी हट स्पट बन्न बेर लाग्दैन ।’

उनी आफ्नो स्वास्थ्यप्रति नागरिक सचेत र जिम्मेवार हुनुपर्नेमा त्यसो नदेखिएको बताउँछन् ।

प्याथोलोजिष्ठ डाक्टर पाठक पनि प्रदेशमा टेष्टिङको दायरा बढाउनुपर्ने बताउँछिन् । ‘सबैतिर चाडपर्व मनाउने परम्परागत चलनलाई छोड्न नसकेको देखियो । विद्यालय, सरकारी कार्यालय, सार्वजनिक यातायत पनि चलेका छन्’ उनले अघि भनिन, ‘जति टेष्टिङ र ट्रेसिङ हुने हो त्यति नै केस आउने हो । पर्सामा मात्रै नभएर प्रदेश नं २ मा टेष्टिङ कम नै भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment