Comments Add Comment

कर्णालीमा तिहारपछि कोरोनाका गम्भीर बिरामी बढे, परीक्षण भने घट्यो

९ मंसिर, सुर्खेत । कर्णालीमा पछिल्लो समय कोरोना परीक्षणको दर घट्दो छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा प्रदेशभर १ हजार ८३ वटा मात्रै स्वाब परीक्षण गरिएको छ । कात्तिक पहिलो सातासम्म प्रदेशमा दैनिक एक हजार पीसीआर परीक्षण हुने गरेकामा अहिले एक सातामा मात्र एक हजार वटा पीसीआर परीक्षण हुने गरेको छ ।

प्रदेशमा हाल लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका र चिकित्सकहरुले सिफारिस गरे मात्रै स्वाब संकलन गर्ने गरिएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए ।

अन्यले भने शुल्क तिरेर परीक्षण गर्नुपर्नेछ । अहिलेसम्म प्रदेशमा करिब दुई हजार जनाले मात्र शुल्क तिरेर कोरोना परीक्षण गरेका छन् । परीक्षण खर्च व्यहोर्नुपर्ने भएपछि परीक्षण गर्नेको संख्या ह्वात्तै घटेको जिल्ला अस्पताल दैलेखका कोरोना फोकल पर्सन धीरप्रसाद रेग्मीले बताए ।

‘कोरोना परीक्षण गर्न शुल्क लाग्ने भएपछि पीसीआर गर्नेको संख्यामा कमी आएको नकार्न सकिदैन,’ रेग्मीले भने, ‘सरकारले पछिल्लो प्रोटकल लागू गरेपछि नागरिक स्वयं नै परीक्षण गर्न आउँदैनन् ।’

कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीले सरकारी नीतिले परीक्षण दरमा कमी आएको स्वीकार गरे । ‘सरकारको नीति परिवर्तन भइरहेकाले पनि परीक्षणको दरमा कमी आएको हुन सक्छ,’ डा. केसीले भने,‘तर यो समयमा परीक्षणको दायरा भने बढाउन आवश्यक छ ।’

पश्चिम–रूकुमको चौरजहारी पीसीआर प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा पनि कडा लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको मात्रै निःशुल्क परीक्षण गर्ने गरिएको छ ।

प्रतिष्ठानका प्रयोगशाला संयोजक विवेक पुनले स्वाब परीक्षणका लागि आउनेहरु घटेको बताए । ‘शुरुवाती चरणमा समुदायमै गएर स्वाब संकलन गथ्र्यौं,’ उनले भने, ‘सरकारले अहिले लक्षण देखिएका र कन्ट्याक्ट टे«सिङमा परेकाहरूको मात्रै स्वाब परीक्षण गर्ने भनेको छ । त्यसले गर्दा पनि परीक्षणको दायरा घट्दै गएको हो ।’

सरकारको पछिल्लो निर्णयले कन्ट्याक्ट ट्रेसिङ पनि प्रभावकारी हुन नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् । कन्ट्याक्ट ट्रेसिङको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ, तर काम भएको छैन ।

प्रदेश सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुनसकेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का भने यसबारे समन्वय र छलफल भइरहेको बताए । लक्षण देखिएकाहरूको भने निःशुल्क परीक्षण गर्ने गरिएको डा. खड्काको भनाइ छ ।

लक्षणसहितका संक्रमित बढे

तिहार अघिसम्म सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड उपचार केन्द्र चारजना मात्रै अक्सिजन लगाउनुपर्ने कोरोना संक्रमित थिए । अहिले १२ जनालाई अक्सिजन लगाएर उपचार गर्नुपर्ने अवस्था आएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीले बताए ।

‘तिहारलगत्तै लक्षणसहितका र श्वासप्रश्वासमै समस्या भएका बिरामीको संख्या बढ्दै गएको छ,’ डा. केसीले भने, ‘कोभिड अस्पतालमा अधिकांश अक्सिजन लगाएर उपचार गर्नुपर्ने बिरामी मात्रै हुनुहुन्छ ।’

यतिबेला बिरामीहरु घरमै बसिरहेको र लक्षण देखिएपछि मात्रै अस्पताल आउने गरेको डा. केसीले बताउँछन् । चिसो बढेसँगै श्वासप्रश्वास र निमोनियाको संक्रमण पनि बढ्ने भएकाले कोरोना संक्रमणका जटिल बिरामी देखिने सम्भावना बढेको डा. केसीले बताए ।

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर अन्य प्रदेशभन्दा न्यून छ । अहिलेसम्म ६ हजार ६ सय ९६ संक्रमित रहेको कर्णालीमा हालसम्मा १९ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ६ हजार १५१ जना संक्रमणमुक्त भएका छन् । महाशाखाका अनुसार अहिले कर्णालीका विभिन्न आइसोलेसनमा ४०७ जना संक्रमित उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment