Comments Add Comment

म्यानपावरमा छापा मार्दा प्रहरीमाथि हातपात

विदेशी नियोगको गाडी पनि भेटियो

१० मंसिर, काठमाडौं । मंगलबार विहान वैदेशिक रोजगार विभागको टोली लाजिम्पाटस्थित होप इन्टरनेसनलमा पुग्यो । विभागलाई पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिइरहेको सूचना पुगेको थियो ।

टोली त्यहाँ पुग्नासाथ हतार-हतार अन्तरवार्ता बन्द गरियो । म्यानपावर सञ्चालक, कर्मचारी सहित अन्तरवार्तास्थलमा रहेका विदेशी नागरिक पनि हतार-हतार भवननभित्र छिरे । ढोका बन्द गरे । बाहिर लाइनमा झण्डै २ सय युवा थिए । विभागका अनुसार उनीमध्ये अधिकांश भूतपूर्व तथा बहालावाला प्रहरी तथा सैनिकहरु थिए ।

विभागको टोली पुगेपछि भिड तितरबितर भयो । म्यानपावर परिसरमा ४५-सीडी-००९ नम्बरको विदेशी नियोगको गाडी थियो । विभागका अनुसर यो गाडी कतारी दूतावासको हो ।

गाडीभित्र एकजना चालक बसिरहेका थिए, उनले कुराकानीमा गाडीको सिसा खोल्नै मानेनन् ।

विभागले बाहिर कागजपत्र बोकर बसेकाहरुसँग सोधखोज थाल्यो । त्यसक्रममा एकजना युवकसँग १७ जना युवाको डकुकेन्ट भटियो । उनी त्यहाँबाट उम्किन खोज्दै थिए । उनले परिचय दिन मनेनन्, मेडिकल सञ्चालक भएको बताइरहे ।

तर, अनुगमन टोलीसँगै गएका प्रहरीले रोक्न खोजे । तर, प्रहरीमाथि ती युवा उनी जाइलागे । घम्साघम्सीपछि प्रहरीले बल्लतल्ल उनलाई नियन्त्रणमा लिए । थप प्रहरी बल बोलाइयो ।

विभागका एक अधिकारीका अनुसार उनी पूर्व सैनिक थिए । ती एजेन्ट कतारी पुलिसमा युवालाई पठाउने ग्यरेन्टी गरेर त्यहाँ उपस्थित भएका थिए । उनले ल्याएका युवा भने विभागको टोली देखेपछि लाखापाखा लागेको थियो ।

करिब डेढ घण्टापछि प्रहरीको थप बल आएर ढोका खोल्न लगाइयो । त्यसपछि चार जना कतारी नागरिक त्यहाँबाट हतार-हतार बाहिर निस्किएर भागे ।

त्यसपछि विभागले त्यहाँ भेटिएका म्यानपावरका सञ्चालकसँग सोधपुछ गरे । उनले अन्तरवार्ता नलिएको र पूर्वछनोटका लागि कतारी प्रहरी र गुप्तचर अधिकारी नेपाल आएको दावी गरे ।

तर, को-को आएका हुन् भन्नेबारे उनले खुलाएनन् । उनले यसरी छापा मार्दा देशको बेइज्जत भएको दावी पनि गरे । ती सञ्चालकले माग नआएपनि केही दिनभित्र माग आउने र युवाहरु निःशुल्क भिसा र टिकट सुविधामा कतारमा जान पाउने तर्क पनि राखे ।

विभागले सो म्यानपावरले अवैध रुपमा अन्तरवार्ता लिएको विषयमा अनुसन्धान थालेको बताएको छ ।

युवा ठग्दै म्यानपावर 

विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको थियो । ती म्यानपावरमा ४ सयभन्दा बढी युवाहरु अन्तरवार्तामा लागि आएको भेटिएको थियो ।

नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्वश्रमस्वीकृति लिनुपर्छ । र, तय भएको अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ ।

अन्तरवर्ताबाट छनोट भएका कामदारको अन्तिम श्रम स्वीकृति विभागबाट जारी हुन्छ । तर, अहिले काठमाडौंमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्वस्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तरवार्ता चलाइरहेको पुष्टि भएको छ ।

सिन्डिकेटको आंशका

कतारको नेपालस्थित कतारी दूतावासका कर्मचारी नै यसमा संलग्न रहेको देखिएको विभागका एक अधिकारीले बताए । तीन महिनाअघि देखिनै कतारमा श्रमिक पठाउने काममा सीमित म्यानपावर मात्रै सहभागी हुन पाउने गरी सिन्डिकेट लाद्न खोजिएको चर्चा चलिहरेको छ ।

संसदीय समितिले पनि सरकारलाई यसबारे छानविन गर्न भनेको छ । यही बेला भटाभटी कतारको रोजगारीका लागि भन्दै अवैध रुपमा अन्तरवार्ता लिने काम चलिहरेको पुष्टि भएको छ ।

कतारी पुलिसका लागि भन्दै सुरुमा महिनामा १ लाख र ३ महिनापछि महिनाको २ लाख कमाइ हुने भन्दै अहिले विभिन्न म्यानपावरमा यस्ता अन्तरवार्ता चलिरहेको छ । यस्तो काममा पठाउनका लागि म्यानपावर कम्पनीले युवासँग १२ देखि १५ लाख रुपैयाँ उठाउने गरेका छन् । यस्ता कामदारले मिनिस्ट्र अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेन्टमा काम पाउने भनिएको छ ।

होप इन्टरनेशनल, अल-थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी हृयुमन रिसोर्स म्यानेजमेन्ट, राज ओभरसिज, अल-रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन र कैलास इन्टरनेशनल म्यानपावर लाई मात्रै कतारमा श्रमिक पठाउने गरी सिन्डिकेट लाद्न खोजिएको आरोप अन्य व्यवसायीले लगाउँदै आएका छन् ।

त्यसबाहेक न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज, डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज, साउन्डलिनेस रिक्रुटमेन्ट, कञ्चन हृयुमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालि पनि सो सूचीमा रहेको दावी गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment