Comments Add Comment

‘जिल्ला–नगरलाई सबल बनाउछौं’

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा प्यानलसहित उम्मेदवारी दिएका किशोर प्रधान वर्तमान जिल्ला–नगर तर्फका उपाध्यक्ष हुन् । उनको प्यानलबाटै जिल्ला–नगर तर्फको उपाध्यक्ष पदमा दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

हाल महासंघको वाग्मती प्रदेश अध्यक्ष रहेका श्रेष्ठले महासंघको लुम्बिनी प्रदेश अध्यक्ष गुणनिधि तिवारीसँग चुनावी प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । ढकाल पक्षबाट उम्मेदवारी दिएका तिवारी र प्रधान पक्षका उम्मेदवार दुवैको एजेण्डा जिल्ला–नगरलाई थप बलियो बनाउने भन्ने छ ।

श्रेष्ठले भावी अध्यक्ष शेखर गोल्छा आफ्नो समूहको नेतृत्वमा रहेको भन्दै प्रधान प्यानल आए महासंघ बलियो हुने बताए । वर्तमान तथा भावी अध्यक्षको समेत समर्थन रहेका कारण आफूहरूले जित्दा महासंघ बलियो हुने उनको दावी छ । श्रेष्ठसँग अनलाइनखबरका लागि रोयल आचार्यले गरेको चुनावी वार्ता :

चुनाव प्रचारप्रसार कस्तो गरिरहनुभएको छ ?

बाहिरबाट उद्योगी–व्यवसायीको टोली आइराख्नु भएको छ । चुनावी माहोल राम्रो बनिरहेको छ । तयारी पनि त्यहीअनुसार भइरहेको छ ।

आफ्नो पक्षमा नतिजा आउँछ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

कसलाई जिताउने भने साथीहरूको कुरा हो । साथीहरूले देखाउनु भएको सद्भाव र उत्साह हेर्दा म विजयी हुन्छु भन्नेमा ढुक्क छु ।

चुनाव प्रचारप्रसारका क्रममा बाहिरी जिल्लाहरुमा कस्तो प्रतिक्रिया पाउनुभयो ?

अहिलेसम्म गरेको कामको आधारमा अनि टिमको आधारमा पनि राम्रो रेस्पोन्स छ । नेपाल उद्योग वाणिज्य महासंघमा काम गर्नसक्ने मान्छे चाहिन्छ भन्ने कुरा हो । सबैले तपाईंले काम गर्न सक्नुहुन्छ भन्नु भएको छ ।

जिल्लामा काम गरेको, जिल्लाको समस्या बुझेको र समाधान गर्न सक्ने आधारमा सबैले सहयोग गर्ने वचन दिनुभएको छ । भोलि काम गर्न सक्नेलाई नै चुनावमा समर्थन गर्ने हो । धेरै साथीहरूले यस्तै प्रतिबद्धता जनाउनु भएको छ ।

शतप्रतिशतले मलाई नै पत्याउला भन्ने छैन । कसैको बाध्यता होला, कसैको के होला । तर मलाई लाग्छ धेरै साथीहरुले २० वर्ष काम गरेको आधारमा पनि हाम्रो टिम ल्याउनुहुन्छ ।

हिजोका दिनमा मैले जिल्ला–नगरका लागि गरेको कामको आधारमा र फेरि वस्तुगतमा पनि मेरो अनुभव रहेको कारणले उहाँहरूले समर्थन गर्नुहुन्छ ।

कोभिडका कारण अर्थतन्त्र समस्यामा छ । भोलि निर्वाचित भएर आउने नेतृत्वले अर्थतन्त्र पुनरुत्थानका लागि के काम गर्नुपर्ला ?

महासंघले नेपाली व्यवसायहरुको उत्थानमा काम गर्ने हो । सरकारले स्वीकार गरेको हाम्रो उद्देश्य छ । हाम्रो एउटा मिसन, भिजन छ । त्यो भनेको नेपाली व्यवसायलाई सक्षम बनाउने, विश्वमा प्रतिष्ठित बनाउने हो ।

देशको अर्थतन्त्रमा नेतृत्वदायी भूमिका खेल्ने भनेर नेपाल सरकारले महासंघलाई दर्ता गरेको हो । राष्ट्रिय आवश्यकताका आधारमा नेपाल सरकारले यो महासंघ बनाएको हो । यसकारणले यो संस्था अन्य संस्थाहरु भन्दा पृथक छ ।

काम गर्दा समस्या आउछन् नै । काम गर्नुपर्छ, समस्याहरु समाधान गर्नुपर्छ । निजी क्षेत्रले निजी क्षेत्र मैत्री कानूनको अपेक्षा गरेको छ । साना, मझौला, ठूला सबै उद्योगीले आफ्नो क्षमताका आधारमा सरल र सुरक्षित ढंगले काम गर्न पाउनुपर्छ । यो वातावरण अहिले छैन । अहिलेको दृष्टिकोण, कानुन सबै नियन्त्रणमुखी छन् ।

हामीले निजी क्षेत्रमैत्री कानुन निर्माण गराएर औद्योगिक–व्यावसायिक वातावरण बनाउनुपर्छ । अबको नेतृत्वले यो काम गर्छ । यसका लागि काम गर्न सक्ने, समय पनि दिनसक्ने, सबै कुरा बुझेको अनुभवी मानिसहरु चाहिन्छ । यसकारण सबै साथीहरुले हाम्रो टिमलाई सहयोग गर्दै हुनुहुन्छ ।

किशोर प्रधान प्यानल अनुभवीहरूको टिम हो भन्न खोज्नु भएको हो ?

प्यानल आफैँ बन्दैन, समय परिस्थितिले बनाउँछ । महासंघमा पार्टीका आधारमा गुट वा प्यानल बन्दैन । सही मान्छे छनोटकै लागि महासंघ चुनावमा दुई प्यानल बनेका छन् । हाम्रो प्यानललाई वर्तमान अध्यक्ष, पूर्वअध्यक्ष, भावी अध्यक्ष सबैको समर्थन छ ।

काम गर्न नसक्ने टिम नआओस् । दुवैतिरका मान्छेहरु आउँदा हार र जितको तुष रहला । विगतमा यस्तो देखिएको पनि हो । यसकारण स्पष्ट रूपमा जिताउन हाम्रो प्यानल बनेको छ । यो टिमले आगामी १० वर्षको कार्यक्रम अगाडि बढाउनेछ ।

उद्योग वाणिज्य संघ काठमाडौंको पनि अध्यक्ष हुनुहुन्छ । जिल्ला नगरबाट उपाध्यक्ष जित्नका लागि तपाईंका एजेण्डाहरू के–के हुन् ?

जिल्ला नगरलाई सवल र सक्षम बनाउन नसक्नु नै समस्या हो । उनीहरूलाई सक्षम बनाउने, सरल ढंगबाट उद्योग–व्यवसाय सञ्चालन गराउन प्रभावकारी भूमिका खेल्ने हो ।

उद्योग वाणिज्य महासंघ र संघहरूमा एउटा सदस्यता मात्र होइन कार्यक्रम ठोस पनि हुनपर्छ भन्ने मेरो भनाइ हो । यसलाई नै मूर्तरूप दिनेगरी हामी काम गर्छाैं । जिल्ला–नगरलाई कसरी हुन्छ सवल, सक्षम बनाउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment