Comments Add Comment

तिनाउ-दानव नदीको दुवैतर्फ दुई लेन सडक बन्दै

चार अर्ब बढी लागत, तीन वर्षमा सक्ने लक्ष्य

१० मंसिर, बुटवल । रुपन्देहीको आर्थिक र पर्यटन विकासमा महत्वपूर्ण आयोजना मानिएको तिनाउ-दानव करिडोर (रिभर रुट) को शिलान्याश भएको छ ।

रिभर रुटले बुटवललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने छ । बुटवल बजारको बिच भएर बग्ने तिनाउ र दानव नदीको दुवैतर्फको किनारमा बन्ने बाइपास सडक निर्माणपछि भारतीय सिमासँग जोडिएको रुपन्देहीको मर्चवार क्षेत्र पनि बुटवलसँग जोडिने छ ।

बुटवलको तिनाउ पुलमुनिबाट तिनाउ र दानव नदी छुट्टिने  बिन्दुबाट सुरु भई तिलोत्तमा र सैनामैना नगरपालिका हुँदै दक्षिणतर्फ भैरहवा-लुम्बिनी सडकलाई जोड्ने यी दुई वैकल्पिक सडक बनाउन ४ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत बनाउने सडकको दुवै करिडोरमा एकसाथ काम सुरु गर्न चालु आर्थिक वर्षका लागि ४५ करोड रुपैयाँ बजेट विनियोजनसमेत भइसकेको छ ।

दुवै नदीको वारी र पारीपट्टी ७ मिटरका दरले दुई लेन सडक, २ मिटर फुटपाथ, ३ मिटर हरियाली र दुवैतर्फ १.५ मिटरको नाली हुनेछ । पर्यटकीय दृष्टिले सडकको डिजाइन स्पिड प्रति घण्टा ४० किलोमिटर मात्र कायम गरिएको छ ।

तिनाउतर्फ १५-१५ किलोमिटरका दरले ३० किलोमिटर र दानवतर्फ १०-१० किलोमिटरका दरले २० किलोमिटर सडक बनाउने गरी डीपीआर बनेको छ ।

तिनाउ-दानव करिडोरको बुधबार संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बुटवलको मगरघाटमा उद्घाटन गरेका छन् ।
करिडोर शिलान्याश गर्दै अर्थमन्त्री पौडेलले तिनाउ-दानव कोरिडोर (सडक आयोजना) रुपन्देहीको आर्थिक र पर्यटकीय विकासमा कोशेढुंगा सावित हुने बताउंदै यसका लागि वजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

डिभिजन सडक कार्यालय बुटवलका प्रवक्ता कृष्णबहादुर कुँवरका अनुसार पहिलो चरणमा तिनाउ नदीको ३५ किलोमिटर र दानव नदीको १५ किमिमा सडक निर्माण गरिनेछ । यसमध्ये तिनाउ नदीको दुवैतर्फ गरी साढे ८ र दानव नदीको साढे ३ किमीका लागि ठेक्का लागेको छ ।

तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ । असोजमा ठेक्का स्वीकृत भएको उक्त काम तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा सक्ने सम्झौता छ ।

सम्झौताअनुसार किराँतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियाँ जेवीले सर्भेको काम थालेको प्रवक्ता कुँवरले बताए । ‘ठेक्का भएको तिनाउपट्टी तिनाउ पुलमुनि जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगरघाटसम्म र दानवपट्टी बेलवासको झोलुंगे पुलदेखि नयाँगाउँको पुलसम्म सर्भे गर्दैछौं,’ उनले भने, ‘सर्भेलगत्तै सडक निर्माणको काम सुरु हुन्छ ।’

रिभर रुट निर्माणका लागि २ वर्षअघि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो । जसमा ५० किलोमिटर सडक निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । ‘यी दुई रिभर रुट बनेपछि बुटवलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी पुग्न झण्डै १० किलोमिटर दुरी छोटो हुने छ,’ सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी भन्छन् ।

बुटवल र भैरहवामा बढ्दै गएको ट्राफिक जामको दीर्घकालीन समाधान गर्न मात्र नभई यी ‘रिभर रूट’ पर्यटकीय हिसाबले समेत महत्वपूर्ण हुने मरासिनी बताउंछन् ।

यो सडक निर्माणपछि तिनाउ नदी तटीय क्षेत्रको बस्ती सुरक्षित हुनेछन् भने नदीको सौन्दर्यीकरण समेत बढ्नेछ ।

तिनाउ नदीलाई हिउँदको समयमा जलाशय बनाएर आन्तरिक र वाह्य पर्यटकलाई डुंगा शयर गराउने दीर्घकालीन लक्ष्यसमेत छ ।

डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ ।

सात सय घरधुरी स्थानान्तरण गर्न बाँकी

सडक निर्माणका क्रममा करिब सात सय घरधुरीलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने छ । अधिकांश घर बुटवल उपमहानगरपालिकाको वडा नम्बर ११ मा पर्दछन् । त्यस क्षेत्रमा जग्गा तथा बस्ती व्यवस्थापनका लागि बुटवल उपमहानगरले काम गरिरहेको बताए पनि सन्तोषजनक भने देखिदैन ।

उपमहानगरले ती घरधुरीलाई स्थानान्तरण गर्न दुई बिघा जग्गा व्यवस्थापन गरेको बताए पनि स्थानान्तरणको काम भने सुरु गरेको छैन । तिलोत्तमा र सैनामैना क्षेत्रमा खासै धेरै घरधुरी नपरेकाले समस्या नभएको ती नगरपालिकाले जनाएका छन् ।

यस्तै ५ सय ५६ रुख काट्नुपर्ने, ४५.८४ हेक्टर स्थायी जमीन, ०.४० हेक्टर अस्थायी जमीन, १ सय ४७ विद्युत पोल, कृषि कुलो २ हजार मिटर र मठमन्दिर १२ वटा प्रभावित हुने छन् ।

यस्तै हृयुमपाइप कल्भर्ट ९१ वटा,स्लाब कल्भर्ट १४ वटा राख्नुपर्ने र नाली ५० किलोमिटर बनाउनुपर्ने डीपीआरमा उल्लेख छ । नदी कटान रोक्न एक लाख ९७ हजार घनमिटरको ग्याबिन वाल लगाउनुपर्ने, ३१ हजार ८ सय घनमिटर माटो उत्खनन् र १६ लाख ६६ हजार घनमिटर माटो पुर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment